Logo

२०८३, श्रावण २७गते


images
images

उद्यम यात्रा

देवदहका काठमा कला कुँदिरहेका सप्तराज

देवदहका काठमा कला कुँदिरहेका सप्तराज

images
  • देवदहका काठमा कला कुँदिरहेका सप्तराज
    images
    images

    देशको प्रमुख प्रशासनिक केन्द्र काठमाडौंमा जन्मिएर एउटा क्षेत्रमा विशिष्टता हाँसिल गरेको एक युवा । अंग्रेजी, फ्रेन्च लगायतका भाषा स्पष्ट बोल्ने उनको नेपालमा मात्र होइन, संसारका धेरै देशमा नेपाली मुर्तिकलालाई प्रेम गर्ने र महँगो रकम खर्चिएर खरिद गर्ने कलाप्रेमीहरूको राम्रो संजाल छ । उनको एउटै सपना छ; कलाकार जन्माउने, कला बचाउँने र कलामार्फत बुद्ध मावली देवदहलाई विश्वमाझ चिनाउने । उनी हुन् - देवदह निवासी सप्तराज बज्राचार्य । 

    images
    images
    images

    वि. सं. २०४२ साल बैशाख १६ गते बुवा पुन्यराज र आमा सप्तलक्ष्मीको कोखबाट कान्छो सन्तानको रुपमा सप्तराज बज्राचार्यको जन्म भयो । काठमाडौंको बाङ्गेमुडामा जन्मिएका उनको बाल्यकाल काठमाडौंमा नै बित्यो । सानै उमेरबाट चञ्चले स्वभावका उनी पढाईमा औषत विद्यार्थीमध्ये पर्थे । बुवा पुन्यराजले घरमा परम्परागत काठका मुर्ति बनाउने काम गर्ने भएकाले सप्तराजको रुचि पनि चित्र कोर्नेमा हुन्थ्यो । स्थानीय रश्मी सेकेन्डरी स्कूलमा कक्षा ५ सम्म पढ्दाको बखत नै उनका कापीका पानामा अनेकौं चित्रहरु भेटिन्थे । कक्षा ६ बाट आनन्दकुटी विद्यापिठमा पढेका उनले २०५७ सालमा एसएलसी उत्तिर्ण गर्दासम्म कैंयौ पटक शिक्षकले गृहकार्य गर्नका लागि दिएको कापीमा चित्र कोरेर विद्यालय लगेका छन् । बाल्यकालदेखि नै केहि नयाँ चिज देख्नासाथ त्यसको आकृति कोर्न माहिर उनी आज पनि त्यस्तै चित्रहरुमा कला भर्ने काममा व्यस्त देखिन्छन् । सानोमा कापिका पानामा चित्र कोर्ने सप्तराज आज काठलाई मुर्तिको आकृति दिँदै तिनै मुर्तिमा जीवन भरिरहेका हुन्छन् ।

    images
    images
    images

    काठमाडौंको पब्लिक यूथ क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरि स्नातक तह दोस्रो बर्षसम्म अध्ययन गरेका सप्तराजको परिवार सामान्य थियो । उनका बुवाले गरेको कामबाट आउने पैसाले उनिहरुको घरखर्च चल्ने गर्थ्यो । बुवाले गरेको काममा उनकी आमा, दाइ र दिदीले समेत सघाउँथे । परिवारका सबै सदस्यले काम गरेको देखेका उनले आफुले पनि अब बुवालाई सघाउने निधो गरे । सप्तराज भन्छन् ‘बुवाले हजुरबुवासंग अंश सम्पत्ति केहि लिनुभएन, आफैले काम गरेर काठमाडौं-४ मा जग्गा खरिद गर्नुभएको थियो । त्यो जग्गामा घर बनाएर बस्ने हाम्रो परिवारको एक किसिमको रहर थियो । त्यसैले पनि सबैले मेहनतका साथ काम गर्नु पर्थ्यो ।’

    images
    images
    images

    घरका सबैले काम गर्ने र आम्दानीमा समेत बृद्धि हुँदै गएपछि सप्तराजका बुवाले जग्गा धितोमा राखेर घर निर्माण सुरु गरे । बुवाले परम्परागत रुपमा बनाउँदै आएका मुर्तिहरुमा सप्तराजले आधुनिकता दिन थाले । सप्तराजले २०५५ सालमा पहिलो पटक बनाएको चिम्पान्जीको मुर्ति एकजना विदेशी पर्यटकले खरीद गरेसंगै उनको काठका मुर्तिमा व्यावसायिक यात्रा सुरु हुन्छ । तिन दिन लगाएर पहिलो पटक निर्माण गरेको उक्त मुर्ति उनले २ हजार रुपैंयामा बिक्री गरेका हुन् । त्यस्तै २०६१ सालमा बनाएको बोडी बिल्डर जस्तो देखिने आकर्षक बुद्धको मुर्ति उनलाई आधुनिक कला तर्फ चिनाउने अर्को मुर्ति हो । जसलाई फ्रान्सका एक नागरिकले खरिद गरेका थिए ।

    सप्तराज सम्मान .jpg

    सप्तराजले दुई दशक यता काठका मुर्ति निर्माण र यसको व्यावसायिकता खोजिरहेका छन् । उनले निर्माण गर्ने मुर्तिहरु प्राय: फ्रान्सका नागरिकले खरिद गर्ने भएकाले उनले २०६५ सालमा विश्व भाषा क्यामपसमा फ्रान्सेली भाषा समेत अध्ययन गरेका छन् । फ्रान्सेली नागरिकले डेढ बर्ष कुरेर समेत उनले बनाएका काठका मुर्ति खरिद गरेकाले आफुले सो भाषा सिकेको उनले बताए । सप्तराजले अंग्रेजी भाषा समेत प्रष्टसंग बोल्न सक्छन् । पर्यटनको लागि देश विदेशका भाषा महत्वपूर्ण हुने भएकाले पनि आफु विदेशी भाषा सिक्न अग्रसर रहेको उनको धारणा छ । काठमाडौंको ठमेलमा वर्कसप राखेर व्यवसायिक मुर्ति बनाउने सप्तराजका दाजु उनका आदर्श कलाकार हुन् । मुर्तिमा परम्परागत कला भर्न रुचाउने उनका दाजु प्रथमराज २०६८ र २०७३ मा गरि २ पटक सम्म राष्ट्रिय पुरस्कार प्राप्त गरिरसकेका छन् । ध्यान मुद्रामा रहेका बुद्धले तपस्या गर्ने क्रममा अस्थिपञ्जरजस्तो देखिने आकृति सहितको मुर्ति र महाकालीको मुर्ति उनका दाजुलाई राष्ट्रिय पुरस्कार दिलाएका मुर्ति हुन् ।

    मुर्ति बनाउने क्रममा सप्तराज आफुले बनाउनलागेको मुर्ति र त्यसको बारेमा निकै अध्ययन गर्नेगर्छन् । उनी भन्छन्, "अध्ययन बिना कुनै काम सुरु गरियो भने त्यसले सार्थकता पाउन गार्ह्यो हुन्छ । अध्ययनले मानिसलाई पोख्त समेत बनाउने गर्छ । त्यसैले पनि मैले मुर्ति बनाउनु अघि दाईसंग सल्लाह र छलफल गर्ने गर्छु ।" आफुलाई आधुनिक आर्ट मन पर्ने र दाईले कलालाई परम्परासंग ढाल्नुपर्छ भन्ने सुझाब दिने क्रममा एक पटक त दाईसंग झगडा भएको उनलाई सम्झना छ । दाईसंग विवाद बढेर आफु कलाकारीता छाडेर केहि बर्ष त्यहिकै भौंतारीएको बताउने उनले पछि दाईले सम्झाए पछि फेरी काम सुरु गरेको बताउँछन् । दाईले मेरै लागि सम्झाउनुभएको हो भन्ने जब मलाई महसुस भयो, त्यो दिन नै मेरो जीवनको टर्निङ्ग प्वाइन्ट बन्यो । उनले दाईलाई कलाकारीताको गुरु मान्छन् । २०७२ सालमा उनले बनाएको मुर्ति ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदर्शनीमा उत्कृष्ट मुर्ति बन्न सफल भयो ।

    सप्तराज देवदह .jpeg
    इटालियन नागरिकलाई देवदहमा मूर्तिकला सिकाउँदै सप्तराज 

    सप्तराजको परिवारले धार्मिक आस्थाको रुपमा बुद्ध धर्म मान्नेगर्छ । बुद्ध धर्म मान्ने भएका कारण बुद्धको विषयमा उनलाई विशेष चासो छ । सप्तराजले दाईसंगको सहकार्यमा आर्ट सम्बन्धि विभिन्न तालिम र गोष्ठिहरु पनि संचालन गरेका छन् । उनले अमेरिकी एम्बेसी र फ्रान्सेली केन्द्रमा त्यहाँका अफिसर र कर्मचारीहरुलाई आर्ट सम्बन्धि तालिम दिएका छन् भने अन्य स्थानमा समेत गएर आर्ट सम्बन्धि गोष्ठि र कार्यशाला गरेका छन् ।
     
    पछिल्लो समय रुपन्देहीको देवदहमा बसोबास गर्ने सप्तराज देवदहमा रहेको काष्ठकला पार्कको डिजाईन र आकर्षणका लागि खटिरहेका छन् । २०७६ सालमा देवदहको बुद्ध सामुदायिक वनले आयोजना गरेको प्रथम देवदह राष्ट्रिय मुर्तिकला कार्यशालामा उनका दाइ प्रथमराज सहभागि भएर काठमाडौं फर्किएपछि सप्तराज दाइकै सल्लाहमा देवदह आएका हुन् ।

    बुद्ध मावली क्षेत्र देवदहमा सप्तराज त्यसै आएका होइनन् । उनी यहाँका काठमा आफुले मात्र मुर्ति कुद्न होइन, यहाँ मुर्तिकार जन्माउन देवदह आएको बताउछन् । देवदहमा पहिलो पाँच वर्षमा २५ देखि ३० जनासम्म मूर्तिकार जन्माउन र कुँदिएका मुर्ति फ्रान्स, जर्मनी लगायत विश्वका धेरै देशमा निर्यात गर्ने सपना बोकेर देवदह आएका उनको सपना भने पहिलो पाँच वर्षमा पुरा हुन नसकेको उनी बताउँछन । मुर्तिकार हुन्, कैयौं पटक भनेजस्ता मुर्ति बन्दैनन् । कैयौं पटक राम्रो बनेका भनिएका मुर्ति पनि ग्राहकले मन पराउँदैनन् र पनि अनवरत काठमा जीवन भरिरहेका उनी देवदहमा आफुले सोचेजस्तो गर्न नसके पनि हरेश खाइ नसकेको बताउछन् । अहिले देवादहमै आएर विदेशीले समेत उनीसंग काष्ठकला सिकिरहेका छन् । गत हप्तादेखि एकजना इटालीका नागरिकलाई उनले देवदहमै मूर्तिकला सिकाइरहेका छन् । 

    saptaraj.jpeg
      देवदहमा रहेको सप्तराजको ट्रेनिङ सेन्टर  

    बुद्ध सामुदायिक वनको सहकार्यमा सप्तराजले काष्ठकला सम्बन्धि एउटा तालिम समेत सञ्चालन गरेका छन् । काठमाडौं बाहिर पनि काष्ठकलाप्रति आकर्षण बढाउनुपर्छ भन्ने ध्येय बोकेका उनले स्थानिय ६ जनालाई काष्ठकला सम्बन्धि तालिम दिएको बताउँछन् । बिभिन्न उमेर समुहका ४ जना पुरुष र २ जना महिलालाई तालिम दिएका दिए पनि तालिमपछि काष्ठकलालाई ब्यवसायिकता दिने ब्यक्ति भने फेला नपारेको गुनासो गर्छन् । जागिरको लागि भन्दा पनि स्वरोजगारको लागि सक्षम र सिपयुक्त जनशक्ति तयार गरेर उत्पादनसंग जोड्ने लक्ष्य राखेका उनी स्थानिय निकायले यसप्रति खासै चासो नदिएकोमा दुख व्यक्त गर्छन् । 

    देवदह नगरपालिका काष्ठकलाको प्रचुर सम्भावना बोकेको नगर भएको र यहाँ काठको उपलब्धता समेत प्रशस्त भएकाले नगरले यसको विकासका लागि योजना तयार गरेर अघि बढ्नुपर्ने उनको भनाई छ । देवदहलाई कलाले भरिएको क्षेत्रको रुपमा परिचित गराउनका लागि आफुले जस्तोसुकै योगदान गर्न तयार रहेको बताउने उनले नगरले विशेष योजना निर्माण गर्नुपर्ने बताउँछन् । प्रदेश सरकारले समेत युवा स्वरोजगारका लागि बिभिन्न कार्यक्रमहरु गर्ने गरेतापनि युवालाई स्वदेशमै टिकाइ राख्नका लागि आफुसंग योजना रहेको उनी बताउँछन् । लुम्बिनी प्रदेश बुद्धको जन्मभुमि र देवदह मावली क्षेत्र भएकाले बुद्धकालिन कलाप्रति आकर्षण बढाउन सके यसकै माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न सकिने प्रति सप्तराज विस्वस्त छन् । 

    उनको योजना र कलाकारीतालाई बुझेर आगामि निती तथा कार्यक्रममा काष्ठकलाले प्राथमिकता पाउने हो भने काष्ठकलामार्फत फरक किसिमको उद्यमशिलताको विकास हुन सक्ने देखिन्छ । सप्तराजले देवदहका लागि देखेको सपना साकार पार्न हरेक सरोकारवाला निकायको ध्यान पुग्न सके समृद्ध देवदहको सपना साकार हुन सम्भव छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।