मानव जीवन स्थिर छैन । अहिले शक्तिशाली र बलियो ठानिएको व्यक्ति भर्खरै शक्तिहीन र निर्वल बन्न सक्छ । सर्वसम्पन्न भनिएकाहरू रातारात सडकमा पुगेका उदाहरणहरू प्रशस्तै छन् । तर मेहनत र निरन्तर संघर्षले कठिन परिस्थितिमा पनि मान्छेलाई बचाइराख्छ र सफलताको शिखरसम्म पुर्याउछ । त्यस्तै एक मेहनती उद्यमी हुन् - हिरा केसी ।
वि सं २०३२ साल असोज १४ गते बुबा नरबहादुर र आमा उमाकलाको कोखबाट कान्छो सन्तानको रुपमा हिराबहादुर खत्रीको जन्म भयो । रुपन्देहीको देवदह–९, भलुहीमा जन्मिएका हिरा खत्री दम्पतिका ३ छोरा र २ छोरी मध्ये कान्छा हुन् । बाल्यकालदेखी नै मेहनती र संघर्षशिल हिराको संघर्ष र मेहनत आजसम्म पनि उस्तै छ । सानो हुँदा बुबाले गरेको मेहनतबाट प्रभावित हिरा मेहनत गरेर दुःख हुँदैन भन्ने मान्यता राख्छन् । उनी दुःखलाई अनुभुतिको रुपमा लिन्छन् । अनि बेमेल र झैझगडाबाट दुःख हुने बताउँछन् ।
कृषि र पशुपालनबाट सुरु भएको बाल्यकाल :
हिराको विगत पनि सम्झनलायक छ । उनको परिवारको व्यथा अनि कथा छुट्टै छ । २०२९ सालमा बाग्लुङ्गको गलकोटबाट २ जना दाई र २ दिदीहरुसहित उनका बुबा देवदहको भलुही आए । भलुही आएसंगै बुबाले पशुपालन र कृषि कर्म सुरु गरे । भलुहीमा रहेको सानो वस्ती, त्यसमा पनि थारु समुदायको बाहुल्यता । पहाडबाट भर्खर झरेका उनका बुबालाई सुरुमा स्थानीय प्रेमराज श्रेष्ठले आश्रय दिए । प्रेमराजको खेतमा सानो झुपडी बनाएर सुरु भएको बुबाआमाको विगतको संघर्ष नै हिराको वर्तमान हो । आफ्नो बुबाआमाले गरेको संघर्षलाई अहिले पनि हिराले पुजा गर्छन् । उनी भन्छन्, "बुवाआमाले संघर्ष नसिकाएको भए म के हुन्थे थाहा छैन । खासगरि बुबाकै कर्ममा अहिलेसम्म अडिग छु, सायद यसैले सफल छु ।"
दुधको क्यान सहित रिक्सा चलाएर विद्यालय
प्रेमराजको जग्गा भाडामा लिएर सुरु भएको खत्री परिवारको पशुपालन र कृषि कर्म अहिले शिवगंगा डेरी उद्योगसम्म आईपुगेको छ । तर पनि हिरा विगतलाई बिर्सन चाहन्नन् । उनलाई अहिले पनि १४/१५ बर्षको उमेरमा दुध संकलन गर्ने डेरीको व्यवस्थापक बनेको र दुध ढुवानीका लागि रिक्सा चलाएको पल ताजै छ । उनको कृषि कर्ममा उमेर कहिल्यै तगारो बनेन । हिरा अध्यनको लागि स्कूल जाँदा समेत व्यवसाय गर्ने गरेको बताउँछन् । उनि भन्छन्, "केरवानी माविमा कक्षा ९ पढ्दा म दुधको भरि केन सहितको रिक्सा चलाएर स्कूल जान्थे ।" स्थानीय जनप्रिय प्राविमा कक्षा ५ सम्म अध्ययन गरेका उनले कक्षा १० सम्म केररवानी मावि खैरेनीमा अध्ययन गरेका थिए ।
घरमा बुबाको संघर्ष राम्रोसंग नियालेका हिराले कहिल्यैपनि आफ्नो लगनलाई कम हुन दिएनन् । त्यो बेलामा डिडिसीले भलुहीमा दुध संकलन केन्द्र स्थापना गरेकाले आफुले स्कुल पढ्दाको अवस्थामा नै बिहान बेलुका व्यवस्थापकको रुपमा काम गरेको उनी बताउँछन् ।
भारतिय सेनामा भर्ती हुने प्रयास :
शारिरीक रुपमा ठुलो कदका उनी भारतिय सेनामा भर्ती हुन गोरखपुर समेत गए । आफ्ना भिनाजु सेनामा भएका कारण आफु भिनाजु मार्फत भर्तीको लागि देखिन गएको उनले बताए । ३ पटकसम्म भर्ती हुन गएको र सबै कुरामा पास भएपनि अन्तिममा छनौट नभएपछि १५ बर्षका हिरा भर्ती हुनकै लागि फेरी गोरखपुर गएनन् ।
धागो कारखानाका मजदुर
गोरखपुरबाट फर्किएसंगै हिराले बुटवल धागो कारखानामा मजदुरको रुपमा केहि समय काम गरे । कारखानामा काम गर्दा पहिलो महिना बुझेको ६ सय पच्चिस रुपैंया तलब उनलाई अहिले पनि सम्झना आउँछ । साँझ बिहान घरमा बुबा आमालाई सघाउने हिरा दिउँसोमा बुटवलस्थित एक काठ मिलमा समेत काम गर्न भ्याउँथे । कलिलो उमेरबाटै आफुमा हरेक सिप हुनुपर्छ भन्ने मान्यता राख्ने उनी दिनमा सायदै ४÷५ घण्टा आराम गर्थे ।
जान्ने भएको बेलादेखि नै घरमा गाईबस्तु भएको र बुबा आमाले गाईलाई स्याहारसुसार गरेको देखेका हिराले अन्यत्र काम गर्ने गरेको भएपनि दुग्धजन्य पदार्थबाट आफुलाई अलग राख्न सक्दैनथे । बुबाले घरमा दैनिक १ सय लिटरसम्म दुध बेचेको देखेका उनले त्यतिबेला देखिनै यसको व्यावसायिकता र थप आयामबारे सोँच्ने गरेको बताउँछन् । उनि भन्छन्, "त्यतिबेला गाउँमा किसानहरु एकत्रित भएर सहकारी मार्फत संकलन भएको दुध बिक्रिमा समस्या हुन्थ्यो । र मुल्यसमेत न्यून पाउने कारण किसानलाई समस्या पर्ने गरेको मलाई प्रत्यक्ष अनुभुति हुन्थ्यो ।"
दुःख गरि कमाएको पैसा मेनपावरले खाइदियो :
२०५० ताका विदेश जानका लागिसमेत हिरा तयार भएका थिए । आफुले बिभिन्न ठाउँमा काम गरेर संकलन गरेको एक लाख रुपैंया जम्मा गरेर उनले काठमाडौंस्थित एक मेनपावरलाई बुझाए । सुरुमा मेनपावरका संचालकले भिसा, टिकट लगायत विदेश जानका लागि आवश्यक कागजात सबै देखाएको र पछि त्यहाँ जाँदा अफिस नै बन्द गरेर भागेपछि त्यतिबेला आफु निराश बनेर फर्किएको हिराले बताए ।
विदेशको सपना टुटेपनि आफु टुटेनन् :
कहीँ न कहीँ केही अवसर खोजिरहने हिराले विदेशको सपना टुटेपनि आफुलाई कहिल्यै टुट्न दिएनन् । विदेशको असफलतापछि बरु उनी कपडाको व्यापारमा लागे । हिराले चीनको खासाबाट कपडा ल्याएर केही समय यस क्षेत्रका ग्रामिण भेगमा पुगेर बिक्रि समेत गरे । हिरा भन्छन् "जीवनमा के काम गरिएन होला, कृषिमा कुटो, कोदालो र हलो जोत्नेदेखि स्थानिय नर्सरीमा माटो र ढु्ङ्गा बोक्ने काम गर्नसमेत पछि परिएन । तर जे जति काम गरे पनि मैले पशुपालन र दुधलाई आफुभन्दा टाढा कहिल्यै सोँचिन ।" काम गरेर सानो बनिन्छ भन्ने आफुलाई कहिल्यै नलागेको बताउने हिरा करिव २ दशक अघिसम्म कृषि र पशुपालनको काम गर्नेलाई हेयभावले हेरिने कुरामा भने सहमत छन् । जसमा आज आंशिक परिवर्तन आएको उनको बुझाइ छ ।
कपडाको काम गरेपनि हिरालाई दुग्ध व्यवसायप्रतिको मोह मरिसकेको थिएन । यता २०५१ सालमा रुपन्देहीको योगिकुटीमा हिमालयन डेरीको चिलिङ्ग सेन्टर स्थापना भएपछि दुध भण्डारणमा केहि सहजता आयो । निजी क्षेत्रको लगानीमा रुपन्देहीमा पहिलो पटक चिलिङ्ग सेन्टर खुलेपछि गाउँगाउँमा थप दुध संकलन केन्द्र र सहकारीहरु खुल्न थाले । जसबाट प्रशस्त दुघ संकलन हुन थाल्यो । डिडिसिले लिन नसकेको दुध हिमालयनले लिन थालेपछि किसानमा थप खुसीयाली छायो । हिरा भन्छन् "२०४८ देखि २०५२ सालसम्मको समयलाई दुग्ध विकासको क्रान्तिको रुपमा लिनुपर्छ ।"
तत्कालिन अवस्थामा दुधको भण्डारण सम्बन्धि समस्या हल भएपनि यस क्षेत्रमा दुधबाट बन्ने अन्य परिकारको बारेमा खासै थाहा थिएन । नेपालमा किसानहरुले मनग्य दुध उत्पादन गरेको भएपनि भारत तथा तेश्रो मुलुकबाट भित्रिने पाउडर दुधका कारण २०५४÷०५५ सालताका नेपालमा दुधको बजार कमजोर बन्न पुग्यो । जसबाट नेपाली किसानले दुध बाटोमा पोखेर बिरोध जनाउनुपर्ने बाध्यता सिर्जना भयो ।
सिताराम गोकुल मिल्क्सको जागिर बन्यो जीवनको टर्निङ्ग प्वाइन्ट :
२०५५ पछि दुध उत्पादनमा व्यापकता आएसंगै निजी लगानीमा विभिन्न उद्योग र चिलिङ्ग सेन्टरहरु स्थापना हुन थाले । यस क्षेत्रमा समेत दुध संकलन गर्नेगरी सिताराम गोकुल मिल्क्स प्रालिले बजार बिस्तार गरेपछि हिरा सोही उद्योगमा कर्मचारीको रुपमा काम गर्न थाले । जसबाट उनलाइ केडिया अर्गनाईजेसनजस्तो उच्च व्यावसायिक घरानाका व्यवसायीहरुसंगको सामिप्यता मिल्यो । उनी भन्छन्, "सिताराममा मैले मासिक १६ सय रुपैंयामा काम गरेको हुँ । तर आज त्यो केहि पनि हो जस्तो लाग्दैन ।" उनी थप्छन् "त्यतिबेला केडिया अर्गनाइजेसनका डाइरेक्टर अनिल केडियासंगको चिनजानले मलाई व्यावसायिक योजना बनाउन थप सहयोग मिल्यो । त्यो नै मेरो जीवनको सायद टर्निङ्ग प्वाईन्ट थियो ।"
शिवगंगा डेरी खोल्ने निर्णय :
सिताराममा जागिर गर्दासम्म हिराले त्यहाँका संचालक र दुधको बजार राम्ररी बुझिसकेका थिए । किसान र स्थानीय संकलकहरुसंग कामको सिलसिलामा सुमधुर सम्बन्ध बनाएका उनले आफै व्यवसाय संचालन गर्ने सोँच बनाए । उनले यो कुरा सितारामको व्यवस्थापनसंग राखे । स्थानीय रुपमा आफुमार्फत संकलन भएको दुध प्रशोधन गरेर सितारामले लिने सर्तमा हिरा देवदहमै डेरी उद्योग स्थापना गर्ने निर्णयमा पुगे । उक्त निर्णयको परिणाम हाल देवदहको भलुहीमा रहेको शिवगंगा डेरी उद्योग हो ।
उद्योग स्थापना गरेसंगै सुरुवाती दिनमा उद्योगलाई आवश्यक दुध अपुग भएपनि पछि बिस्तारै त्यस्तो समस्या हट्दै गएको हिराले बताए । अन्यत्र काम गरेको मान्छे आँफै उद्योग खोलेर दुध माग्दा कतिपय बेला दुग्ध संकलन गर्ने संस्थाहरुले आशंका गरिरहेका छन् कि झै आफुलाई भान हुने गरेको उनले सुनाए । उनी भन्छन्, "बिभिन्न समस्याका बाबजुत मसंग मलाई अटुट विश्वास गर्ने मेरो परिवार, स्थानीय समुदाय र चिनजानका साथीभाइहरु धेरै थिए । त्यसले पनि मलाई उद्देश्यमा केन्द्रित हुन भरपुर सहयोग मिल्यो ।"
उद्योगमा ८ करोड बढीको लगानी :
२०६७ सालमा स्थापना भएको शिवगंगामा हाल २१ जना कर्मचारी कार्यरत छन् । जसमा हिराका दुईजना दाई लगायत परिवारका अन्य सदस्यहरु समेत काम गर्छन् । करिव डेढ करोड रुपैंया लागतमा सुरु भएको शिवगंगाको लगानी हाल ८ करोडभन्दा बढी छ । शिवगंगाले यस क्षेत्रका बुटवल, भैरहवा, देवदह र लुम्बिनीबाट करिव १ हजार ५ सय किसानबाट संकलन हुने करिव ५ हजार लिटर दुध प्रशोधन गरेर गोधुली ब्राण्ड मार्फत बजारमा पठाउने गरेको छ । खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र प्राप्त शिवगंगाबाट उत्पादन गरिएको प्रशोधित दुध, दही, घ्यू, पनिर, नौनी, क्रिम लगायत बजारमा पाउन सकिने दुग्धजन्य पदार्थ हुन् ।
रुपन्देहीमा हाल डिडिसी, लुम्बिनी डेरी र शिवगंगाले दुग्ध प्रशोधनको काम गरिरहेका छन् । यस क्षेत्रमा उत्पादन हुने ७० प्रतिशत दुध अझैपनि खुल्ला रुपमा बिक्रि वितरण हुने गरेको हिरा बताउँछन् । नेपाल डेरी एसोसियसनको केन्द्रिय सल्लाहकार रहेका हिरा आज पनि दुधबाट बन्ने परिकार र यसको बहुउपयोग बारेका छलफल, सेमिनार र गोष्ठीहरुमा खोजिने पात्र हुन् ।
नेपाल दुधमा आत्मनिर्भर भैसकेको र पछिल्लो क्रममा दुध फटालेर पनिर बनाउँदा खेर जाने 'होय' बाट प्रोटिन निकाल्न सकिने भएकाले त्यसको उद्योग लगाउनेबारे आफुले सोचिरहेको उनले बताए । त्यसैगरि आफ्नो उद्योगमा चिजको प्लान्ट लगाउने योजनासमेत उनीसंग छ ।
कृषिको विकासका लागि देवदह ग्रिन एग्रो रिसर्च एण्ड रिसोर्स :
व्यावसायिक रुपमा शिवगंगालाई हाँकीरहेका हिराले यसबाहेक देवदह ग्रिन एग्रो रिसर्च एण्ड रिसोर्स प्रालि संचालन गरेर स्थानीय रुपमा नयाँ कामको सु्रुवातसमेत गरेका छन् । विभिन्न क्षेत्रका ५० जना साझेदारहरुलाई लिएर देवदह ३ मा करिव ५ बिगाहा क्षेत्रफलको जग्गा भाडामा लिएर २०७७ मा सुरु गरिएको ग्रिन एग्रो यस क्षेत्रमा स्ट्रवेरी उत्पादन गर्ने पहिलो कृषि फार्मको रुपमा स्थापित नाम हो । उक्त फार्ममा स्थानिय १३ जनाले रोजगारी पाईरहेका छन् ।
संघीयतापछिको पहिलो निर्वाचनमा नगर प्रमुख :
देशमा रोजगारी सृजना गरि युवालाई बैदेशिक पलायनबाट रोक्नुपर्छ भन्ने मान्यता राख्ने हिराले राजधानीबाट आफ्नो व्यवसायलाई बिस्तार गर्ने योजनासहित काठमाडौंमा एच.डि मिल्कस् एण्ड बेभरेज नामक उद्योग स्थापना गरे । व्यावसायिक जीवन बाहेक सामाजिक काममा समेत निकै सक्रिय हुन रुचाउने हिरा २०७४ सालमा देवदहको नगर प्रमु्ख निर्वाचित भएपछि समय अभावमा उक्त फ्याक्ट्री बेच्नुपरेको बताए ।
देश संघीय व्यवस्थामा गएपछि पहिलोपटक भएको स्थानीय निकायको निर्वाचनमा नगर प्रमुख भएका हिराले आफ्नो कार्यकालमासमेत यस क्षेत्रको कृषि र पशुपालनमा केहि सुधारका कामको सुरुवात गरेको बताए । पशुपालक कृषकलाई दुधमा अनुदान तथा खण्डीकृत कृषियोग्य जमिनलाई चक्लाबन्दीमा लैजानको लागि प्रोत्साहन गर्न केही सुरुवात गरेको भएपनि अधिकांश समय नगरको निती निर्माणमै खर्चिनु परेका कारण सोँचेजति काम गर्न नसकेको उनले बताए । आफु नगर प्रमुख हुँदा गर्न आँटेका कतिपय काम राज्यको निती नियमसंग बाझिएकाले पनि कार्यान्वयन गर्न अफ्ठ्यारो परेको उनको गुनासो छ ।
कृषिमा देश आत्मनिर्भर भएको हेर्ने चाहना :
२०५५ सालमा लुम्बिनी निवासी अप्सरा सापकोटासंग प्रेम विवाह गरेका हिरा का २ छोरा र १ छोरी छन् । ८ दशक पार गरेका बुबाआमासंगै रहेका हिराले व्यावसायिक जीवनमा उडान भरिरहेका छन् । बिभिन्न क्षेत्रका आधा दर्जन बढि उद्यममा लगानी गरेका उनले करिव २ सय भन्दा बढिलाई रोजगारी दिएका छन् । तर पनि उनी आफ्नो मुख्य उद्यम शिवगंगालाई नै मान्छन् । विद्यालय पढ्दा आफुले नेपाल कृषि प्रधान देश हो भनेर पढेको भएपनि व्यवहारमा त्यसो नभएकोप्रति हिराको दुखेसो छ । दुधमा देश आत्मनिर्भर भएको बताउने हिरालाई समग्र कृषिमा देश आत्मनिर्भर भएको हेर्ने धोको छ । राज्यको प्रभावकारी निती र युवाहरुको जोँस अनि जाँगरलाई सकारात्मक र रचनात्मक तवरले उपयोग गर्ने हो भने त्यो दिन आउन धेरै समय कुर्न नपर्ने हिरा बताउँछन् । सक्षम र सवल कृषि प्रधान देशको रुपमा नेपाललाई हेर्ने हिराको चाहना छिट्टै पुरा होस् । शुभकामना ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology