अभावले मानिसलाई संघर्ष गर्न सिकाउँछ । संघर्षले उसलाई आत्मनिर्भर बन्न प्रेरित गर्छ । मानिस जन्मिने बित्तिकै रोएर÷चिच्यायर प्रकृति र वातावरणसंगको संघर्षलाई उद्घोष गरेको हुन्छ भने बढ्दो उमेरसंगै जीवनका भोगाई र परिवेशसंग संघर्ष गरिरहेको हुन्छ । संघर्षको मैदानमा जो अटल हुन्छ, आत्मविश्वासी हुन्छ, संयमित हुन्छ, निर्भिक हुन्छ; समयको अन्तरालमा त्यस्तो व्यक्तिनै सफलता प्राप्त गर्छ । कर्मशिल मान्छेले केहि ढिलो होला तर गन्तव्य भेट्टाइछाड्छ । निकै धैरै अभावका बाबजुत आफ्नो कर्मलाई गन्तव्यसम्म डो¥याईरहेका व्यक्ति हुन् - रुपन्देहीको देवदह–८ निवासी दाताराम अर्याल ।
२०३१ साल असोज १४ गते भारतको आसाम मेघालयमा बुवा कविराम र आमा झबकुमारी अर्यालको कोखबाट सातौं सन्तानको रुपमा दातारामा अर्यालको जन्मभयो । पुरख्यौली घर गुल्मी भएपनि बुवा त्यो भन्दा अघि भारत गएकाले दाताराम मेघालयमा जन्मिएर उनको बाल्यकाल पनि त्यहिँ बित्यो । सामान्य खेती किसानी गरेर जीविकोपार्जन गरिरहेको उनको परिवार निकै सामान्य थियो । आम्दानीको श्रोत परम्परागत कृषि हुन्थ्यो भने गाईपालनबाट दुध बेचेर उनको परिवारले गुजारा चलाउँथ्यो ।
दातारामको प्रारम्भिक शिक्षा मेघालयकै स्थानीय प्रार्थमिक विद्यालयबाट प्रारम्भ भयो । २०४३ साल (सन् १९८७) मा जब दाताराम कक्षा ३ मा अध्ययन गर्थे, मेघालयमा द्धन्द चर्कियो । त्यहाँका आदिवासी खसीयाहरु र नेपालबाट गएकाहरुबीच युद्धजस्तै भयो । उनी सानै भएकाले के कारणले द्धन्द भयो ? त्यसबारे आफुलाई जानकारी थिएन । तर द्धन्दबाट आफु र आफ्नो परिवार नराम्ररी प्रभावित भएको घटना दातारामलाई अहिले पनि ताजै छ । दाताराम भन्छन्, "स्थानिय आदिवासी खसीयाहरु र नेपालीहरुबीच यतिसम्म द्धन्द चर्कियो कि उनीहरुले नेपालीहरुका घरगोठ जलाईदिने, गाईबस्तु फुकाईदिने, घरमा ताला लगाईदिने, एक्लै दुक्लै भेटेको खण्डमा कुटपिट गर्ने, महिलाहरुलाई हातपात गर्ने आदि ईत्यादि गर्न लागे । त्यस्तो अराजकता र असुरक्षा बढेपछि नेपालीहरुले गाउँभन्दा पर गएर जंगलमा रात बिताई ज्यान जोगाउनुपर्ने भयो । करिव १ हजार परिवारलाई त्यहाँ विकसित घटनाक्रमले दिउसो गाउँमा आएर काम गर्ने र खाना बनाएर जंगलमा रात बिताउनुपर्ने स्थिती बन्यो ।" दातारामको परिवारले पनि करिव एक साता त्यसै ग¥यो । गाउँमा जाने वातावरण नै बन्न छाडेपछि स्थानिय सरकारले विस्थापित नेपालीहरुलाई जंगलकोबीचमा टहरो बनाएर आश्रय दियो । त्यसले उनिहरुलाई केहि राहत मिल्यो । 'बर्षाको समयमा पानी पर्ने, हावाहुरी चल्ने पालको निकै कष्ठकर बसाई, त्यो दिन सम्झीदा अहिले पनि दातारामको आङ् सिरिङ्ग हुन्छ ।
मेघालय सरकारको सहयोगमा आश्रय लिएका उनीहरुलाई बिहानको समयमा स्थानिय सरकारले ट्रकमा दाल चामल ल्याई चौरमा खसालिदिन्थ्यो, सबैले लुछाचुँडी गरेर आफ्नो खानाको जोहो गर्थे, कुनै दिन त पानी र चिसोका कारण खाना बनाउनको लागि आगो बाल्न समेत गार्ह्यो हुन्थ्यो । कतिपय दिनमा खाना नपुगेर भोकभोकै बस्नुपरेको अनुभव पनि दातारामको परिवारसंग रह्यो । करिव २ बर्ष शरणर्थीजस्तै बनेर अभावको जीवन विताईरहेको दातारामको परिवारमा थप कष्ठ आईप¥यो । उनका बुवा गम्भिर बिरामी परे । गाउँमा सामान्य आम्दानी गरेर बसेको दातारामको परिवारलाई पालको बसाईमा आम्दानीबिहिन भएपछि उपचार गर्ने खर्च समेत भएन । हारगुहार गरी अस्पताल लगे पनि उपचार अभावमा बिरामी परेको ३ महिनापछि उनका बुवाको मृत्यु भयो । आफु १२ बर्षको हुँदा परिवारको मुल खामो ढलेपछि दातारामलाई एक किसिमको बज्रपात प¥यो ।
बुवाको मृत्यूअघि नै आफुभन्दा ठुला दिदिहरुको बिवाह भैसकेकाले दाताराम र उनकी आमाले जीवनयापनका लागि जंगलमा भएका दाउरा, बाँस काटेर बेचविखन गरि जीविका चलाईरहेका थिए । शरणर्थीको रुपमा बसेको थाहा पाएपछि बाँस÷दाउरा किन्नेले पनि आफुहरुलाई मोलमलाई गर्ने र कम मुल्यमा दाउरा किन्ने गरेको दातारामलाई आजपनि सम्झना छ । "जसरी भएपनि बाँच्नै पर्ने, त्यतिकै ज्यान फाल्न नसकिने रहेछ, उनी भन्छन्, जंगलमा बाँस र दाउरा काट्ने क्रममा दुर्घटनमा परि दुईजना साथीले ज्यानसमेत गुमाए । जंगल र पालको सहारामा जीवन विताईरहेका शरणार्थी नेपालीलाई बि.सं २०४५ साल (सन् १९८९) मा सुखद खवर प्राप्त भयो । मेघालय सरकारले स्वदेश फर्कन चाहने नेपालीभाषीलाई ५ हजार रुपैंया भारु र यातायात खर्च दिने भयो । यस्तो खवर पाएपछि दाताराम र उनकी आमाले नेपाल फर्कने निधो गरे । ३ जना भाञ्जा र आमा सहित दाताराम नेपाल फर्किए ।
नेपाल आएपछि भाञ्जाहरुलाई आफ्नो मामाको घरमा छाडेर दाताराम र उनकी आमा देवदहको बनकित्ता आए । बुवाले पुख्र्याैली सम्पत्ति नलिएकाले कान्छो बुवासंग अंश दावी गर्दा उनको भागमा बनकित्तामा रहेको ऐलानि ७ कठ्ठा जग्गा प¥यो । शरणार्थीजस्तै बनेर नेपाल आएका दाताराम र उनकी आमासंग घर बनाउने पैसा थिएन । कान्छोबुवाबाट पाएको निकासबिहिन उक्त जग्गामा घर बनाउनसमेत नसक्ने अवस्थामा रहेका उनीहरुलाई केहि समय मेघालयबाटै आएकी आमाकी साथीले छिमेकी घोडाहामा आश्रय दिईन् ।
आमाले ज्याला मजदुरी गरी बिहान साँझको छाक टारेपनि नेपाल आएपछि दातारामलाई पढ्ने खर्च जोहो गर्न कठिन भयो । २०४५ सालमा महामाया भवानी माध्यमिक बिद्यालयमा पढ्नका लागि भर्ना हुन गएका उनलाई त्यसअघि पढेको कुनै प्रमाण नभएपछि भर्ना हुन समेत गाह«ो प¥यो । तर सोहि विद्यालयमा पढाउने शिक्षक विश्वराज खनालले भनसुन गरिदिएपछि दातारामलाई कक्षा ५ मा भर्ना लिईयो । निकै कष्ठकर बाल्यकाल बिताएका दाताराम कक्षा ५ को परिक्षामा प्रथम भए । पहिलो बर्षको पढाई त नेपाल आउँदा बँचेको र आमाले ज्याला मजदुरीबाट कमाएको पैसाले पुरा भयो, तर अर्को बर्षबाट पढाई खर्च नभएपछि उनको पढाई अन्योलमा प¥यो ।
पढाईमा जेहेन्दार र मेहनती देखेपछि दातारामलाई विद्यालयले कक्षा ६ र ७ मा निशुल्क पढाईदिने निर्णय ग¥यो । दाताराम भन्छन्, "विद्यालयको त्यो गुन मैले कहिल्यै बिर्सन्न, लगाउने कपडा नभएर आमाले लगाउने भित्री बस्त्रको सर्ट सिलाएर लगाएको मलाई विद्यालयले पैसा नलिई पढाउने सुनेपछि फुरुङ्ग बनें । सो कुरा आमालाई सुनाउँदा आमाका आँसु रोकिएनन्, केहि समय त आमा-छोरासंगै रोयौं ।"
पढाईलाई निरन्तरता दिने क्रममा २०४६ को आन्दोलनपछि विद्यार्थी संगठनहरु खुल्नेक्रम सुरु भयो । संघर्षपूर्ण जीवन विताईरहेका दातारामलाई विद्यार्थी आन्दोलनले प्रभावित गर्यो । त्यतिनै बेला उनी विद्यालयमा गठित अनेरास्ववियू प्रारम्भिक कमिटिको अध्यक्ष बने । विद्यार्थी राजनितिमा जोडिएको थाहा पाएपछि विद्यालयले उनलाई बिना पैसा पढाउन नसक्ने बतायो । पढ्ने तिब्र ईच्छाशक्ति पालेका दातारामलाई यो निर्णयले मुर्छित बनायो । तर पछि विद्यालयको कुरा संगठनको उपल्लो निकायमा आफुले राखेपछि कक्षा ९ मा अध्ययनरत उनलाई एक बर्षको पढाई खर्च संगठनले एकमुष्ठ रुपमै बुझाईदियो । जसबाट उनले पढाईलाई निरन्तरता दिन पाए । परिवर्तनका लागि कार्यरत महिला समूह (वाच) ले संचालन गरेको प्रौढ शिक्षा पढाएर कक्षा १० को पढाई खर्च जोहो गरेका दातारामले २०५० सालमा द्धितिय श्रेणीमा एसएलसी परिक्षा उत्तिर्ण गरे ।
१० दिनपछि बुटवलको आशिष स्टेशनरीमा पुगेर गोरखापत्र हेरेपछि आफु एसएलसी पास भएको थाहा पाएका दातारामलाई त्यसपछिको पढाई कसरी अघि बढाउने भन्ने समस्याले पिरोल्न थाल्यो । सोहिक्रममा आफ्नो भिनाजुसंग समस्या राखेपछि भिनाजुले ७ हजार रुपैंया दिएको र सोहि पैसाले बुटवल बहुमुखी क्याम्पसमा आईएड भर्ना भएको दातारामले बताए । त्यसो त उनलाई विज्ञान विषय लिएर पढ्ने रहर नभएको होईन, तर सबै रहर कहाँ पुरा हुन्छन् र ? अभावै अभावले झेलिएका उनलाई विज्ञान विषयको पढाई महङ्गो पर्ने जानकारहरुले बताएपछि शिक्षा संकायमा भर्ना भएका हुन् । "शिक्षा संकाय पढेपछि शिक्षक बन्न सकिने र आफ्नो जीविका चल्ने ठानेर आईएड प्रथम बर्षमा भर्ना भएँ" उनले भने ।
पहिलो बर्ष रेगुलर पास भएपछि दातारामलाई क्याम्पसले भर्ना भएको पैसा समेत फिर्ता दियो । पैसा फिर्ता पाएपछि उनले कलेजलाई निरन्तरता दिने र प्राबिधिक शिक्षा लिने उद्धेश्यले बुटवल टेक्निकल ईन्टिच्यूट (बिटिआई) मा आवेदन दिए । बिटिआईबाट मेकानिकल वेल्डिङ्गमा नाम निस्किएपछि उनले त्यहाँ प्रयोगात्मक कक्षामा सहभागी भए बापत केहि पैसा समेत पाउने भए । जसबाट उनलाई आईएड दोश्रो बर्षको पढाईमा राहत मिल्यो । कलेज र बिटिआईको पढाईलाई निकै ब्यस्तताका बाबजुत अगाडि बढाएका उनले २०५२ सालमा दुवै तह उत्तिर्ण गरे ।
आईएड उत्तिर्ण गरेर प्राबिधिक ज्ञान समेत हासिल गरेका दातारामको लक्ष्य पनि परिवर्तन भयो । शिक्षक बन्ने सोँचेका दातारामलाई एकाएक बिदेशिने रहर जाग्यो । त्यसताका बिदेश जानेहरुको लहर रहेकाले दातारामलाई रहर जाग्नु स्वभाविक थयो । बिटिआई कै समन्वयमा मासिक ६ सय रुपैंया रियल तलव पाउने गरि २०५३ सालमा उनि साउदी अरव हानिए । निशुल्क भिजा र फ्रि टिकटमा साउदी पुगेका दातारामले त्यहाँ जागिरको क्रममा कमाईलाई भन्दा बढि सिकाईमा जोड दिए । साउदी रहँदा उनले कामको बिचमा हुने एक घण्टाको ब्रेक टाईममा स्टीलमा गरिने टिक बेल्डिङ्ग सिके । उक्त सिप सिकेपछि उनको तलब एक बर्षपछि मासिक १३ सय रियल भयो । ३ बर्ष साउदीमा बिताएका दाताराम २०५७ सालमा नेपाल फर्किए ।
उमेरले २६ बर्ष पुगेका लक्का जवान दातारामले साउदीमा रहँदा संगै काम गर्ने साथीसंग आफ्नो विवाहबारे कुरा गरेका थिए । आफ्नो आनिबानी सबै बुझेको साथीले आफ्नी बहिनीसंग विवाहको प्रस्ताव गरेकाले दाताराम नेपाल विवाह गर्नेगरि झरेका हुन् । झुपडीमा छाडेर गएकी उनकी आमा छोरालाई कुरेर एक्लै बसिरहेकि थिईन् । विवाह गर्ने भनेर नेपाल आएका उनको राम्रो घर पनि थिएन । "विदेशबाट आएको रात साथीले तेरो घरमा बसौं न भन्यो, तर आफ्नो घर नभएकाले साथीलाई बहाना बनाएर उसकोमै गएर बँसे । विदेशबाट आएर रात विताएको उक्त घर अहिले दातारामको ससुराली हो ।" दाताराम भन्छन् "त्यो रात त्यहाँ बसेँ तर उकुसमुकुस भयो, खुलेर कुरा गर्न पनि सकिन, आफुभन्दा सम्पन्न परिवारसंग विवाहको कुरा कसरी गर्नु, आश्वासन त साथीले दिएको थियो, तर परिवारका अन्य सदस्यको पनि समर्थन जुटाउनु पर्थ्यो । नभन्दै परिवारमा कुरा गर्ने क्रममा साथीको आमाले बिवाह प्रस्तावलाई घुमाउरो पारामा अस्वीकार गरिन् । आर्थिक रुपमा कमजोर मेरो अवस्था थाहा पाएपछि आमाले हुन्न भन्नुभएको रहेछ ।"
बिवाहको कुरा रोकिएपछि दातारामले कालिगण्डकी प्रोजेक्टमा नेपाल हाईड्रो पावरमार्फत मासिक १५ हजार रुपैंयाको जागिर गर्न थाले । २ महिनापछि साथीले कर गरेर उनकी आमा राजी भएपछि दातारामको विवाह हुने भयो । तत्कालिन दुधराक्ष ८ कि हिमा ढकालसंग दातारामको लगनगाँठो कसियो ।
विवाहपछि श्रीमती लिएर भाडाको घरमा सरेका दातारामले साउदीबाट कमाएर ल्याएको पैसाबाट देवदहको बनकित्तामै सडक छेउमा २ कठ्ठा जग्गा खरिद गरेका थिए । जग्गा खरिद गरे पनि घर नभएकाले श्रीमती र आमालाई कोठामा छाडेर बिवाह लगत्तै उनि फेरी जागिरमै फर्कनुपर्ने भयो । साउदीमा सिकेको टिक बेल्डिङ्ग सम्बन्धि विशेष सिप भएका दातारामलाई जागिरको खासै समस्या हुन छाड्यो । करिव २ बर्ष कालिगण्डकिमा काम गरेपछि उनले चिलिमे हाईड्रोपावरमा समेत उस्तै प्रकृति र तलवको जागिर पाए । करिव १ बर्ष त्यहाँ काम गरेका दातारामले आफुले किनेको जग्गामा घर समेत बनाए । चिलिमेको प्रोजेक्ट सकिएपछि दोब्बर तलबमा उनले सिमरास्थित हुलास स्टिलमा जागिर पाए । टिक बेल्डिङ्गमा काम गर्ने प्राविधिक नेपालमा निक्कै कम भएका कारण उनी सिमरामा कम्पनी भएपनि काम पर्दा बाहेक अरु समय काठमाण्डौमा बस्न पाउँथे ।
करिव ६ महिना जागिर गर्ने क्रममा काठमाण्डौ बस्दा उनले दुवईमा कामको लागि एप्लाई गरेर घर फर्किएका थिए । जागिर छाडेको केहि दिनमा उनलाई दुवईमा कामका लागि भिजा र टिकट आएको खवर ढिला गरि प्राप्त भयो । तत्कालिन समयमा देवदहमा सञ्चारको सुविधा नभएकाले गाविसमा रहेको टेलिफोन मार्फत जानकारी पाएपछि दाताराम हतार हतार काठमाण्डौ लागे । बर्षातको समयमा धादिङ्गको कृष्णभिरमा सडक जाममा परेका उनि एएरपोर्ट पुग्दा प्लेन छुटिसकेको थियो ।
निकै थकित मुद्रामा सोहि दिन उनी घर फर्किए । बैदेशिक रोजगारीको अवसरबाट बञ्चित भएर निराश बनि फर्किएका दातारामको अनुहारमा केहिदिन पछि एकाएक खुसी छायो । उनको परिवारमा नयाँ सदस्यको रुपमा छोरीको जन्म भयो । छोरीको आगमनले एकातिर उनी खुसी थिए भने अर्कोतर्फ दातारामलाई जिम्मेवारी थपिएको थियो । छोरीको भविष्यका लागि उनले थप मेहनत गर्नुपर्ने भयो । त्यसैले दाताराम २०६० सालमा फेरी विदेशिने निर्णय गरे । यो पटकको बैदेशिक रोजगारीको यात्रा उनको कतार थियो । मासिक १२ सय कतारी रियलमा उनले आफुले जानेकै काम करिव ४ बर्ष गरे । त्यहाँ उनको सिप र दक्षताले थप खारिने मौका पायो ।
आफुले साउदी र कतारमा पाएको अनुभव पत्रको आधारमा दातारामले कतार हुँदाकै बखत कामको लागि अनलाईन मार्फत क्यानडाको (ज्याकोर्वस) कम्पनीमा अन्तरवार्ता दिए । अन्तरवार्ता पास भएपछि उनि खुसी हुँदै नेपाल फर्किए । नेपाल आएका उनले भारतमा पुगेर भिजा एप्लाई गरे तर बिडम्बना एक बर्षको भिजा अनुमति पाएका दातारामलाई ९ महिना बितिसक्दा समेत कम्पनीले बोलाएन । भिजाको अवधि ३ महिना बाँकि रहँदा उनी आफ्नै खर्चमा क्यानडा उडे ।
प्रति महिना ७ लाख तलब बुझ्ने गरि अन्तरवार्तामा पास भएर एग्रिमेन्ट गरेका उनलाई क्यानडा पुगेपछि पनि कम्पनीले वास्ता गरेन । क्यानडामा अबैधानिक रुपमा बसेर अस्थाई ठाउँहरुमा केहि काम गरेका उनले त्यहाँ टिक वेल्डीङ्ग सम्बन्धि मल्टी नेशनल सर्टिफिकेटको लागि आबेदन दिए । सो सर्टिफिकेट हात परेपछि क्यानडाको स्थानीय सरकारले दक्ष नागरिकको दर्जामा त्यहाँ बसेर काम गर्न मिल्ने गरि उनलाई भिजा दियो । करिव डेढ बर्षको समयमा बिभिन्न ठाउँमा काम गरेर मासिक ३÷४ लाख घर पठाउने दाताराम आर्थिक रुपले पनि बलियो बन्दै गए । क्यानडामा कामको सहजता भएपछि उनले परिवारलाई पनि त्यहिँ झिकाउने गरि पिआर एप्लाई गरे । पिआर एप्लाई गररेर केहि समयका लागि नेपाल फर्किएका दातारामको पिआर रिजेक्ट भएको जानकारी आयो । ईमेल मार्फत उनलाई नेपाल जानुको कारण प्रष्ट नभएकाले पिआर रिजेक्ट गरिएको पत्र प्राप्त भयो । क्यानडाको पिआर रिजेक्ट भएपछि उनको बिदेश मोह हट्यो ।
यता साथीहरुले हाईड्रो सम्बन्धी काम गर्ने कम्पनी खोलेको जानकारी दातारामले पाए । उनलाई सोहि कम्पनीमा जोडिएर नेपालमै काम गर्ने इच्छा जाग्यो । दाताराम भन्छन् "बैदेशिक रोजगारीको क्रममा ३ वटा देश पुगियो, उतै सेटल हुनेगरि गरेको तैयारी अन्तिममा अस्वीकृत भयो, सायद मलाई नेपाल आमाले देशमै बस भनेको हुनुपर्छ ।"
२०६७ सालमा १२ जना साझेदारहरु मिलेर जनही १० लाख रुपैंया लगानीबाट रुपन्देहीको योगीकुटिमा सुरु गरेको नेशनल टेक हाईड्रो एण्ड ईलेक्ट्रिक प्रालि अहिले देवदह–३ मा छ । हाईड्रोपावरमा प्रयोग हुने टर्वाईनका पार्टस बनाउने र मर्मत गर्नै यस कम्पनीले अहिलेसम्म देशका अधिकांश हाईड्रोपावरमा सामान सप्लाई र मर्मत कार्य गरिसकेको छ । अधिकांश काम ई टेण्डरबाट हुने भएकाले अहिले कम्पनीलाई कामको समस्या छैन । करिव ५ कठ्ठा क्षेत्रफलमा फैलिएको यो कम्पनीको पुँजी अहिले करिव १२ करोड हाराहारी छ ।
पछिल्लो समय १० जना साझेदार रहेको यस कम्पनीमा अहिले आंशिक र पूर्णकालिन गरि ५० भन्दा बढिले रोजगारी पाएका छन् । दाताराम अहिले नेशनल हाईड्रोको कम्पनी म्यानेजर हुन् । उनले कम्पनीको समग्र पाटोलाई हेर्ने गर्छन । अधिकांश समय कम्पनीकै काममा बिताउने उनी बाँकि रहेको समयमा सामाजिक काममा समेत जुट्ने गर्छन् । दाताराम स्थानीय आधा दर्जन बढि संघ संस्थामामा आबद्ध छन् । उनकी छोरी दिक्षा अहिले काठमाण्डौको प्राईम सिए कलेजमा चार्टर एकाउन्ट अध्ययनरत छन् भने छोरा दिक्षान्त बुटवलमा कक्षा ५ मा अध्ययनरत छन् ।
आमा र श्रीमतीको हौसला र उत्प्रेरणाले आफु अहिले यो अवस्थामा रहेको बताउने दातारामले दुवैजनालाई आफ्नो जीवनको आदर्श र सर्बप्रिय मान्छन् । परिवारको साथ र सहयोग मिले साझेदारहरुको सहकार्यमा हाईड्रो सम्बन्धि थप वर्कसप संचालन गर्ने उनको सोँच छ । उद्यमशिलतामा थप अगाडि बढ्ने उनको सपना पुरा होस् । दातारामलाई शुभकामना ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology