बिहान उठ्ने बित्तिकै हातमुख धुन भ्याउँदा नभ्याउँदै बसन्त मल्लाह खेतमा पुग्छन् । खेतमा लगाइएका बिभिन्न प्रजातीका तरकारीसंग उनको बिहानी समय बित्ने गर्छ । छरिएर रहेको उनको जग्गा गाउँका बिभिन्न स्थानमा गरी करिव एक बिगाहा क्षेत्रफलमा लगाइएको तरकारी खेती घुम्दै गर्दा बसन्तलाई दिनको मध्यान्ह भएको पत्तो हुँदैन । गर्मिको महिनामा तालुको सिधा घाम परेर जब उनी पसिनाले लुछ्रुप्पै भिज्छन्, अनि मात्र उनलाई दिउसोको १२ बजेको थाहा हुन्छ । यो उनको खाना खाने समय हो । यतिबेला उनी घरमा भेटिन्छन् । त्यो पनि मुस्कीलले एक घण्टा ।
हतार हतारमा खाना खाएसंगै बसन्त पिकअप भ्यानमा तरकारी लोड गरेर बजार बजार पुग्छन् । नवलपरासीको बर्दघाटदेखि रुपन्देहीको भैरहवा बुटवल क्षेत्रमा लाग्ने साप्ताहिक हाटहरु उनको तरकारी बेच्ने बजार हुन् । जहाँ उनको सिजनमा दुई गाडी र अफ सिजनमासमेत दैनिक दुई क्वीन्टलभन्दा बढि तरकारी खपत हुन्छ ।
परम्परागत रुपमा धान गहुँ, मकै, तोरी, मुसुरो लगायत खेती गर्दा पनि बसन्तको परिवार चलेकै थियो । आकाशे पानीको भर गरेरै उनका बुवाले यही पेशा गरेर उनलाई हुर्काए । तर पनि बुवाले उत्पादन गरी भारमा बोकेर स्थानीय हाटसम्म लैजाने तरकारीले उनको जीवन सहजै चल्दैन भन्ने बसन्तलाई लाग्यो । त्यसपछि साईकल, मोटरसाइकल, ट्रयाक्टर हुँदै उनी पिकअप भ्यानको सहारामा बजार छिरे ।
बुवाले खेतमा हलो जोत्दै गर्दा परेका माटोका डल्लामा ठोकिएका उनका कलिला खुट्टा अहिले दरिएका छन् । पढ्ने मन हुँदाहुँदै बाल्यकालमै घरको जिम्मेवारीले थिचिएको उनको काँध अहिलेसम्म फेरीएको छैन । फेरीएको छ त बाउबाजेले गर्ने परम्परागत कृषि अनि उनले परिवर्तन गरेको त्यसको ढाँचा ।
बसन्तको यस्तो दैनिकी सुरु भएको करिव एक दशक भयो । त्यसो त २०४४ साल भदौ १५ मा जन्मिएका उनी ८ बर्षको उमेरदेखीनै खेतीपातीमा रमाइरहेका पात्र हुन् । बुवाले खेतमा हलो जोत्दै गर्दा परेका माटोका डल्लामा ठोकिएका उनका कलिला खुट्टा अहिले दरिएका छन् । पढ्ने मन हुँदाहुँदै बाल्यकालमै घरको जिम्मेवारीले थिचिएको उनको काँध अहिलेसम्म फेरीएको छैन । फेरीएको छ त बाउबाजेले गर्ने परम्परागत कृषि अनि उनले परिवर्तन गरेको त्यसको ढाँचा ।

करिव ४ बिगाहा जमिन भएको मल्लाह परिवारको मुख्य आम्दानीको श्रोत भनेकै कृषि हो । तत्कालिन सिक्टहन गाविस र हालको देवदह नगरपालिका वडा नं ११ मा बसोबास गर्ने यो परिवारको ३ पुस्ताको पसिना यहिँको जमिनमा सिंचिएको छ । बसन्तका हजुरबुवाले स्थानिय जमिन्दारकोमा काम गर्दै सुरु गरेको कृषि र खेतीपातीलाई यो परिवारले अहिले पनि निरन्तरता दिईरहेको छ ।
औपचारीक रुपमा कक्षा ८ भन्दा माथि पढ्न नसकेका बसन्त कृषि र तरकारी खेतीका लागि एउटा सिंगो विश्वविद्यालयभन्दा कमी छैनन् । कापी किताव बोक्ने उमेरमा परिवारको जिम्मेवारी बोक्नुपरेकाले पढाइबाट बञ्चित हुनुपरेको उनी बताउँछन् । आफुले पढ्न नसकेको बारे उनले भने ‘कक्षा ८ पढ्दै गर्दा बुवालाई एपेण्डीक्स भयो, त्यतिबेला ठुलो अप्रेसन गरेर एपेन्डिक्स निकालिने भएकाले बुवाले गरुङ्गो काम गर्न नसक्ने हुनुभयो । खेतीपातीबाटै गुजारा चलेको हाम्रो परिवारमा काम गर्ने मुख्य मान्छे बिरामी परेपछि मैले नै कामको जिम्मा लिनुपर्ने भयो, त्यसपछि मैले पढाई छाडे ।’
बसन्त भन्छन् ‘मैले ८ बर्षको हुँदादेखि नै हलो जोत्ने काम गरेँ । बिहानै उठेर हल गोरुको साथमा खेतमा हुँदा आमाले स्कुले पोशाक, झोला र खाना खेतसम्म ल्याइदिएर कैंयो पटक खेतबाटै स्कुल पुगेको छु ।’ तर भाइबहिनीले आँफुले सोँचेजस्तै पढ्न नसकेकोमा भने उनी दुःखी छन् ।
आफुले पढाई छाडेपनि भाई र बहिनीले धेरै पढुन् भन्ने बसन्त चाहन्थे । त्यसैले उनी आँफु दिनरात मेहनत गरेर भएपनि भाई बहिनीलाई स्कुल पठाउन चाहन्थे । बसन्त भन्छन् ‘मैले ८ बर्षको हुँदादेखि नै हलो जोत्ने काम गरेँ । बिहानै उठेर हल गोरुको साथमा खेतमा हुँदा आमाले स्कुले पोशाक, झोला र खाना खेतसम्म ल्याइदिएर कैंयो पटक खेतबाटै स्कुल पुगेको छु ।’ तर भाइबहिनीले आँफुले सोँचेजस्तै पढ्न नसकेकोमा भने उनी दुःखी छन् ।
मामाले गरेको कृषिबाट प्रभावित भएका बसन्तले सुरुमा प्याज खेतीबाट आफ्नो व्यावसायिक कृषि यात्रा सुरु गरेको बताए । व्यावसायिक तरकारी खेती गरिरहेका उनका मामा गौकरण मल्लाहको आग्रहमा सुरुमा २ कठ्ठा क्षेत्रफलमा बसन्तले प्याज खेती गरे । मामाले उपलब्ध गराएको प्याजको बेर्ना लगाएर त्यसबाट राम्रै आम्दानी भएपछि उनी कृषि पेशालाई व्यावसायिक वनाउने सोँचमा पुगेका हुन् ।
स्कूले जीवन छाडेर बाल्यकालमै कृषि उद्यमी बनेका बसन्तका आँखा कैयौं पटक तरकारी लिएर बजार जाँदा विद्यालयका शिक्षकहरुसंग जुध्ने गर्थे । त्यसबेला आँफुलाई निकै लाज लाग्ने गरेको बताउने बसन्तलाई चिनेका मान्छे बजारमा देख्दा कैयौ पटक मुख लुकाएको सम्झना छ । उनी भन्छन्, "एकपटक मैले आफैले उत्पादन गरेको तरकारी लिएर स्थानीय बजारसम्म बिक्रिका लागि पुगेँ । त्यहाँ मेरो भेट मलाई पढाउनुभएका शिक्षक दलबहादुर न्यौपानेसंग भयो, मैले उहाँलाई छल्न खोजे तर सकिन । उहाँले मलाई बोलाएर भन्नुभयो ‘बाबु यसमा लाज मान्नुपर्ने र लुक्नुपर्ने कुनै कारण छैन । मैले पनि फुर्सदको समयमा तिमिले जस्तै तरकारी खेती गर्छु । मेरो परिवारलाई पु¥याएर बचेको तरकारी मैले पनि धेरै पटक बेच्ने गरेको छु । तिमी त झन् बजारसम्मै आईपुगेका छौ ।’ "
आफुले लगेको तरकारी बेच्दै गर्दा शिक्षकले भनेको यो कुरा बसन्तलाई खुब घत प¥यो । जसबाट उनी थप मेहनतका साथ तरकारी खेती तर्फ अग्रसर भए ।
बसन्तको काममा अहिले उनका भाइ सितमोहरले समेत सघाइरहेका छन् । दाजुभाईसंगै मिलेर संयुक्त परिवारमा बसीरहेका उनीहरु अहिले यस क्षेत्रको कृषिका अगुवा बनेका छन् । उनीहरुको मेहनत र पसिनाले उत्पादित तरकारी रुपन्देही आसपासका धेरैको भान्छासम्म पुग्ने गरेको छ ।
कृषिका बारेमा पोख्त नभएपनि व्यवहारीक रुपमा तरकारी खेती गर्दा उनलाई कैंयौ पटक समस्या नपरेको होइन । खुल्ला सिमाका कारण बेलाबेलामा आउने समस्या, लागत मुल्य बढि पर्नाले हुने प्रतिष्पर्धाको समस्या, विभिन्न रोग तथा सिजनल रुपमा बेलाबेला आइपर्ने बिपत्ति, प्राबिधिक रुपमा झेल्नुपरेका कठिनाईलाई समेत पार गर्दै अघि बढेका उनी अहिले निरन्तर रुपमा कृषिमा आबद्ध छन् ।
रुपन्देहीको मध्यदक्षिणी क्षेत्रमा पर्ने छोट्कीगुम्बी गाउँमा उनको कृषि कर्मलाई हेरेर धेरैले सिको गर्नेगरेका छन् । कृषकको एकता हुनसके अझ धेरै गर्न सकिन्छ कि भन्ठान्ने उनी स्थानीय कृषक समुहमा पनि आबद्ध रहेका छन् । बि.सं २०७६ सालमा रोहिणी कृषक समूह स्थापना गरेर उनी त्यसको सचिवसमेत छन् । उक्त समूहको पहलमा स्थानीय कृषकलाई राहत दिने गरि कृषि उपज संकलन केन्द्रसमेत स्थापना गरिएको थियो । देवदह नगरपालिकाको पहलमा ३ बर्ष अघि स्थापित उक्त केन्द्र अहिले प्रयोगविहिन छ ।
करिव ४० लाख रुपैंया लागतमा बनेको संकलन केन्द्र समन्वयको अभाव र विचौलीयाको प्रभावमा परेर बन्द भएको उनले गुनासो गरे । उनले भने ‘हामीले दश नङ्ग्रा खियाएर खेती गर्ने, तर नगरपालिकाले दिने अनुदान देखेपछि बिचौलियाले पारीबाट तरकारी ल्याएर अनुदान खान लागे । त्यसपछि संकलन केन्द्र सोँचे अनुसार चल्न सकेन ।’
करिव ४० लाख रुपैंया लागतमा बनेको संकलन केन्द्र समन्वयको अभाव र विचौलीयाको प्रभावमा परेर बन्द भएको उनले गुनासो गरे । उनले भने ‘हामीले दश नङ्ग्रा खियाएर खेती गर्ने, तर नगरपालिकाले दिने अनुदान देखेपछि बिचौलियाले पारीबाट तरकारी ल्याएर अनुदान खान लागे । त्यसपछि संकलन केन्द्र सोँचे अनुसार चल्न सकेन ।’ उनी भन्छन् ‘पहिलो नगर सरकारले कृषकका लागि केहि गर्न खोजेजस्तो देखिन्थ्यो । उसले किसानलाई राहत दिने गरि किसानले उत्पादन गरेको तरकारीमा प्रति केजी ५ रुपैंया अनुदान दिनेगरी योजना समेत अघि सा¥यो । तर त्यो योजना लागु हुँदा नहुँदै पारीबाट तरकारी ल्याएर बेचियो भन्ने उजुरी प¥यो र अनुदान कार्यक्रम त्यतिकै खेर गयो ।’ यति भन्दै गर्दा बसन्तको मुहारमा मलिनता छाइसकेको थियो । संघर्षलाई जीउने माध्यम बनाएका बसन्त यतिमै अडिएनन्, उनले भने ‘हामीले राज्यलाई दोष मात्र लगाएर पनि हुँदैन, कुनै न कुनै सरकार त कृषि र कृषकका समस्या बुझ्ने बन्ला नि ? त्यसबेला हाम्रो पसिनाको मुल्य देखिनेछ ।’
राज्यको आँखामा नपरेका बसन्तले तरकारी खेतीबाटै कमाई गरेर दुई तल्लाको घर बनाएका छन् । ११ जनाको संयुक्त परिवारको जिम्मेवारीका मुख्य पात्र उनले बहिनीको विवाह त्यही आम्दानीबाट गरे भने उनका २ छोरी र १ छोरा तथा भाइका १ छोरा र छोरीको पढाई खर्च समेत अहिले उनले गर्ने तरकारी खेतीबाट जुटिरहेको छ । त्यसैले पनि उनी आफु कृषक भएकोमा गर्व गर्छन् ।
व्यावसाकि रुपमा तरकारी खेती गर्दा सुरुमा कृषि विकास बैंक बाट ८ लाख रुपैया ऋण लिएको बताउने उनले आंशिक रुममा स्थानीयलाई रोजगारी समेत दिने गरेका छन् । बसन्त भन्छन् ‘१ बिगाहासम्म हुने खेतीलाई परिवार मिलेरै सल्ट्याउछौं, तर सिजनमा करिव ३ बिगाहा क्षेत्रफलमा तरकारी लगाइने भएकाले घरका परिवारबाट त्यो पार लाग्दैन । त्यसैले पनि तरकारीको विरुवा रोप्न, गोडमेल गर्न र उत्पादित तरकारी टिप्न थप कामदार लगाउनुपर्छ ।’ बढि उत्पादन हुने समयमा उनले परिवारका सदस्य बाहेक दैनिक १० जनासम्म अतिरिक्त कामदार लगाएर काम गर्ने गर्छन् ।
व्यावसायिक हुनु अघि गोरुले खेत जोतेर तरकारी लगाउने बसन्तले अहिले ट्याक्टरको प्रयोग गर्छन् । जसबाट उनको समय र लागत दुवै बचत हुने गरेको छ । सामान्य परिवारबाट हुर्केर परिपक्व बनेका उनलाई कुनैबेला विदेश जाने लहर चले पनि, त्यसले कुनै प्रभाव पारेन । उनी प्रभावित भए त केवल आफैले गरिरहेको कर्मबाट !
बसन्तको कमाई अहिले बार्षिक १८ लाखभन्दा बढी छ । तर यस्तो लाग्छ, उनको मेहनतसंग तुलना गर्ने संसारमा कुनै माध्यम छैन । उनले बगाएको पसिनालाई नाप्न मिल्ने कुनै यन्त्र छैन । उनी भन्छन् "हामीले गरेको मेहनतको केही अंश कुनै न कुनै भान्छामा पाकिरहेको छ, कसैको भोक मेटाइरहेको छ । यो भन्दा ठूलो खुसी अरु हुन्छ र ?"
बसन्त तराई समुदायका पात्र हुन् । उनको समुदायमा विवाह गर्दा छोरा पक्षले बोलकबोल गर्छन् । आफु र आफ्नो भाईको बिहेमा दाइजो बहिष्कार गरेका स्वाभिमानी कृषक बसन्त अब तीन वटी छोरीलाई कसरी उम्काउने होला भन्ने चिन्तामा छन् । उनी भन्छन् "मेरा छोरीहरु मेरा सम्पत्ति हुन्, उनीहरुलाई त्यत्तिकै पठाउन भएन, तर तराईमा ब्याप्त (दहेज) दाईजो प्रथाका कारण समस्या छ । मैले मेरा छोरीहरुलाई इच्छाए जति पढाउने मन छ, र उनीहरुले सक्षम भएर यसको बिरुद्धमा लागुन् भन्ने म चाहन्छु ।" कानुनले बर्जित गरेको भएपनि हालसम्म समाजमा व्याप्त रहेको दाइजो प्रथा अन्त्य अपरिहार्य छ । कृषि उद्यमसंगै व्यवहारक जीवनमै सामाजिक रूपान्तरणको पक्षमा लडिरहेका बसन्तको यो विचार गम्भीर अनि सोँचनिय छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology