सीप र दक्षताको भरपुर उपयोग गर्न सके स्वरोजगार बन्न सकिन्छ । देशमै केहि गर्ने र अर्थिक उपार्जनसंगै जीवनयापन गर्ने सोँच हुनेहरुका लागि त झन् सिप अत्यावश्यक अस्त्र हो । अझै नेपाल जस्तो अल्पविकशित र परनिर्भर मुलुकमा त झन उत्पादनसंग जोडिन केहि न केहि विषयमा दक्ष हुन जरुरी हुन्छ । दैनिक उपभोगका अत्यावश्यक सामग्री समेत देशमा उत्पादन नहुने र आयातको भरमा चल्नुपर्ने हाम्रो नियतिलाई यदि कुनै चिजले विस्थापित गर्न सक्छ त त्यो मात्र सिप र दक्षता हो । औपचारीक शिक्षाको रुपमा विश्वविद्यालयका डिग्री हातमा लिएर आज लाखौं यूवा बेरोजगार बनिरहेको छन, बैदेशिक रोजगारीमा गएको हजारौंको जनशक्ति समेत शिक्षा अनुरुपका काम नपाउँदा निरास छ । तर औपचारीक अध्ययनलाई विविध कारणले अगाडि बढाउन नसकेका तर बेलैमा सिप सिकेर आफ्नो जीवनलाई सहज रुपमा अघि बढाईरहेका कैंयौ पात्रहरु हाम्रो समाजमा उदाहरणीय बनिरहेका छन् । त्यस्तै पात्रको रुपमा आजको उद्यम यात्रामा चित्रण गर्न खोजिएका व्यक्ति हुन - देवदह ५ निवासी गोविन्द ठटराई ।
वि. सं २०३३ साल कार्तिक १६ गते पाल्पाको ठिमुरे ५ पौरखनीमा पिता बिरबहादुर र माता ताराकुमारीको कोखबाट गोविन्द ठडराईको जन्म भयो । चार दाजुभाई र एक बहिनीमध्ये माईलो सन्तानको रुपमा जन्मिएका गोविन्दको बाल्यकाल निकै कष्ठकर रुपमा बित्यो । आर्थिक अभावका कारण पढाईबाट बञ्चित भएका उनी स्थानिय भाष्कर निमाविबाट कक्षा ८ पास गरेसंगै १४ बर्षको कलिलो उमेरमा भारत पसे । पहाडको घर, कम जग्गा जमिन, परिवारको भरपर्दो आर्थिक अवस्था नहुनु आदि कारणले गोविन्दलाई भारत जान बाध्य वनायो । गोविन्द भन्छन्, “घरमा भएको उत्पादनले ३-४ महिनाभन्दा बढि खान पुग्ने अवस्था थिएन । त्यसैले घर नजिकै पायक पर्ने ठाँउमा सरसापटी गरि बुवाले २५ रोपनी जग्गा बैना लगाउनुभयो, जग्गा निखन्न दवाव परेपछि पढाई छाडेर म भारत जाने निधो गरें । जेठो दाई ३ बर्ष अघिबाटै मुम्बईमा काम गर्नुहुन्थ्यो, बुवाले गाउँबाट तरकारी ल्याएर बुटवल बेचेर आएको पैसाले घरको खर्च चलाउने कि हामीले पढ्ने ?”
२०४७ सालमा भारतको दिल्ली पुगेर मासिक २ सय रुपैंया तलबमा घरेलु कामदारको रुपमा गोविन्दको जागीर यात्रा सुरु भयो । दाजुको मासिक ५ सय र गोविन्दको २ सय आम्दानी जोड्दा समेत जग्गा खरीद गरेको पैसाको ब्याज समेत तिर्न नपुग्ने भएपछि गोविन्द थप दवावमा परे । यता जेठो बुवा गाउँकै सम्पन्न भएका कारण गोविन्दको परिवारले जग्गा किनेको चित्त नबुझेपछि आफ्नो बराबरीमा आउन लाग्यो भन्ने आरोप लगाएर बुवालाई कुटपिट गरे । जग्गाको कारण कुटपिट भएर बुवा हस्पिटल भर्ना भएपछि गोविन्द परिवारले बैना बुझाएको पैसा बराबरको जग्गा मात्र खरीद गरी अरु जग्गा फिर्ता ग¥यो ।
जग्गाको विवाद र घरमा घटना भएपछि २०४८ सालमा गोविन्द नेपाल फर्के । आफनो अधुरो पढाईलाई निरन्तरता दिने सोँच बनाएर नेपाल फर्किएका गोविन्दले विद्यालयका शिक्षकहरुसंगको सल्लाहमा कक्षा ९ मा भर्ना भए र एसएलसी उत्तीर्ण गरेको बताउँछन । नेपाल आउँदा आफुले कमाएको ४ हजार रुर्पैया भारु बुवालाई बुझाएका उनले काम गर्ने बेला पाएको टिप्स भारु ५ सय रुपैंया पढाईका लागि राखेको बताउँछन् । घरबाट करिव अढाई घण्टाको दुरीमा रहेको विद्यालयमा करिव ६ महिना अध्ययन गरेका गोविन्दले पढाई र परिवारको खर्च व्यवस्थापन गर्न नसक्ने देखेपछि पढाईलाई फेरी स्थगित गर्न पुगे ।
पढ्दै कमाउँदै गर्ने सोँचका साथ उनी सोही बर्ष बुटवल झरे । बुटवलको ज्ञानोदय माविमा रात्रिकालिन पढाई हुन्छ भन्ने थाहा पाएका गोविन्दले बुटवलमा काम गर्ने र पढाईलाई पनि निरन्तरता दिने सोँच बनाए । बुटवलमा आफन्तीहरुको जुत्ता पसल रहेको र त्यहाँ काम गरेर पढाईलाई निरनतरता दिने मनसाय बनाएर बुटवल झरेका उनी स्कूल पढ्दाखेरीको साथीको सम्पर्कमा पुगे । आफन्तकोमा जागिर समेत नमिलेको र बालसखाले आफुलाई वास्ता नगरेको महसुस भएपछि गोविन्दले अन्तत पढाईलाई बिट मार्दै अन्यत्र जागिर खोज्न थाले ।
बुटवल बसाईकोक्रममा तम्घास चल्ने बसमा हेल्परको रुपमा काम पाएका उनले प्रति ट्रिप १ सय ५० रुपैंया भत्ता र मासिक ३ सय रुपैंया तलव पाउने गरि जागिर पाए । महिनाको ७ ट्रिप लाग्ने बसमा काम गर्दा उनले माषिक करिव १५ सय रुपैंया कमाउँथे । केहि समयपछि उनी बुटवल-पाल्पा चल्ने बसमा समेत हेल्परको रुपमा काम गरे । काम गर्ने क्रममा गाडि बिग्रिएपछि राती एक्लै गाडि कुरेर बस्नुपर्ने भयो । जंगलमा बिग्रिएको गाडि एक्लै कुर्नुपर्दा आफुलाई निक्कै डर लागेको बताउने उनले सो काम उपयूक्त नलागेपछि करिव ६ महिनापछि फेरी भारतको दिल्ली जाने निर्णय गरे ।
दिल्लीमा गोविन्दले गिट्टी बालुवा सप्लाई गर्ने ठाँउमा जागिर पाए । मासिक ७ सय रुपैंया पाउने गरि अफिसमा जागिर पाएपछि उनलाई त्यहाँ धेरैकुरा सिक्ने अवसर मिल्यो । उनी भन्छन्, “साईकल चलाउन जान्ने व्यक्तिको लागि सजिलो काम छ भन्ने थाहा पाएँ, जीवनमा कहिल्यै साईकल चलाएको थिईन तर पनि साईकल चलाउन जानेको छु भनि झुट बोलेर उक्त जागिर खाँए ।” जागिरको क्रममा गोविन्दले धेरै दिन साईकल डो¥याएर फिल्डमा पुगेको र सिक्ने क्रममा एक पटक अटोसंग ठक्कर खाएर घाईते हुन पुगेको बताए । सप्लायर्समा काम गर्ने क्रममा गोविन्दले बिहान र साँझको समयमा साहुको घरमा काम सघाईदिने र बाँकी रहेको समयमा स्थानिय ग्यारेजमा गाडि धुने काम समेत गरे । जसबाट उनलाई प्रति गाडि एक सय रुपैंया मासिक आउँथ्यो भने सोहि समयमा उनले गाडि चलाउन सिकेर लाईसेन्स समेत बनाए ।
करिव १ बर्ष दिल्लीमा काम गरेका गोविन्दलाई उत्तर प्रदेशको सिकन्दबादमा एउटा औषधि फ्याक्ट्रीमा कामको अवसर मिल्यो । मुम्बई भएका उनका दाई सोहि फ्याक्ट्रीमा आएको र दाई मार्फत आफुलाई काम गर्ने अवसरको जानकारी पाएपछि गोविन्द दिल्ली छाडेर उत्तर प्रदेशको सिकन्दबादतर्फ लागे । २०५० सालमा उक्त फ्याक्ट्रीमा जागिर लाएका उनले ओभर टाईम समेत गरेर मासिक २२ सय रुपैंया तलव पाउन थाले । गोविन्द भन्छन्, “२ सय रुपैंयामा सुरु भएको जागिर यात्रा २ हजार २ सयसम्म पुग्यो, औषधि फ्याक्ट्री भएकाले निरन्तर काम गर्दै गए स्थायी समेत हुन सकिने अवसर थियो ।“
औषधि फ्याक्ट्रीमा काम पाएपछि दङ्ग गोविन्द करिव २ बर्ष त्यहिँ काम गरे । काम गर्ने क्रममा उनले आफुले पनि कुनै फ्याक्ट्री लगाएर नेपालमै उद्यम गर्न पाए कस्तो हुन्थ्यो होला भनेर सोँच्ने गर्थे । उक्त सोँचलाई पुरा गर्न नेपाल जानुपर्ने निष्कर्षमा पुगेका गोविन्द २०५२ सालमा काम गर्न फेरी भारत नजाने गरि नेपाल फर्किए ।
दोश्रो पटक भारत जाँदा बुटवलबाट निस्किएका उनी नेपाल फर्किएलगत्तै बुटवलमै केहि गर्नुपर्छ भन्ने सोँच सहित बुटवलमै बसे । बुटवलमा आफ्नो कान्छो मामाले जुत्ता फ्याक्ट्रिमा काम गर्ने गरेकाले उनी पनि मामाको सहायतामा सोही ठाउँमा काम गर्न थाले । काम सिक्ने ध्येयका साथ त्यहाँ पुगेका गोविन्दले फ्याक्ट्रीका बारेमा बुझ्दा सुरुमा जानेलाई काम खासै नसिकाईने र आधा एक बर्ष खाना पकाउन लगाउने थाहा पाएपछि आफुले ६ महिना बाहिर होटलमा खाना खाएर काम सिकेको बताए । करिव १ महिना लगाएर काम सिकेपछि गोविन्दले मासिक २ हजार ५ सय तलब पाउने भए । जुत्ता बनाउन आफुले सिकेको सिप र आफ्नो क्षमतालाई उपयोग गर्दै करिव ४ बर्ष गोविन्द बुटवलकै विभिन्न जुत्ता फ्याक्ट्रीमा काम गरिरहे । जहाँबाट उनले आफ्नो सिप र क्षमतालाई थप सुदृढ पार्दै मासिक १६ हजारसम्म कमाउने भए ।
आफ्नो सिप अब्बल भएको र अब आफैले केहि गर्नुपर्छ भन्ने महसुस भएपछि गोविन्दले आफ्नै ब्यवसाय सुरु गर्ने सोँच बनाए । रुपन्देहीको देवदहमा कान्छोबुवाको छोरा स्थानिय विद्यालयमा पढाउने शिक्षक भएको र उनले देवदहमा जुत्ता बनाउने कालीगढको समेत आवश्यकता रहेको बताएपछि उनी ब्यवसाय सुरु गर्नेगरि देवदह आए ।
देवदहको खैरेनी बजारमा भाडाको सटर खोज्ने क्रममा सटर नपाएपछि उनले २०५६ सालमा एउटा टंकिबाट आफ्नो ब्यवसाय सुरु गरे । भारतबाट कमाएको र बुटवलमा काम गरेर जम्मा गरेको केहि रकमबाट एउटा घडेरी जोडेका गोविन्दले उक्त जग्गा बिक्रि गरेर ब्यवसायमा लगानी गरेपनि भाडाको सटर नपाएपछि समस्यामा परे । गोविन्द भन्छन्, “अरु ब्यापार भएको भए सायद सटर मिल्थ्यो होला तर जुत्ता बनाउने काम गर्ने भनेपछि सटर पाउन गार्ह्यो भयो ।“
गोविन्दले हिम्मत हारेनन र आफ्नो उद्धेश्यमा निरन्तर लागिरहे । सुरुका दिनमा १ जना कामदार राखेर ब्यवसाय सुरु गरेका उनले रातको २ बजेसम्म काम गरेर ग्राहकलाई सेवा दिन तल्लीन रहे । ब्यापार प्रबद्र्धनका लागि सूरुमा देवदहका विद्यालयमा स्कूल टप गर्ने विद्यार्थीलाई नि:शुल्क ‘स्कूल सूज’ दिने घोषणा गरेका उनले दुई वटा विद्यालयमा उक्त अफर उपयोग समेत गरे ।
व्यवसायमा सफलता पाईने बिश्वास बढेपछि गोविन्दले २०५७ सालमा विवाह गरे । पाल्पा ख्रस्यौली वडा नं ३ निवासी गीता रुचालसंग विवाह बन्धनमा बाधिएका गोविन्दले गीतालाई आफुँसंगै राख्ने र ब्यवसाय थप बढाउने सोँच बनाए । तर बुवाले एउटी बुहारी शिक्षक भएको आफुले हेर्न चाहेको बताएपछि गोविन्दलाई थप द्धविधा भयो । पछि घर सल्लाहबाटै गीतालाई देवदह ल्याउने र ब्यवसायमा हातेमालो गर्ने निर्णय भयो ।
यता टंकिबाट सुरु भएको गोविन्दको जुत्ता उद्योग र पसल विस्तारै सटरतर्फ उन्मुख भयो । ब्यापार बिस्तारै बढ्दै गयो । देवदहमा चिनजान पनि बाक्लियो । साथीभाई बढ्दै गएपछि ब्यवसायमा राम्रो भयो । एकजना कामदारबाट सुरु गरेको उद्योगमा थप एक जना कामदार बढाएर गोविन्दले ब्यवसाय अगाडि बढाए । ब्यवसायमा रामै्रसंग जमिरहेका गोविन्द २०५९ सालमा विरामी परे । सोहि साल आफ्नो पहिलो सन्तानको रुपमा छोरीको जन्म भएको र आफु फोक्सो सम्बन्धि गम्भिर बिरामी भएपछि उद्योग र ब्यापारमा समेत असर पर्छ कि भन्ने चिन्ता बढ्यो । करिव ६ महिना विरामी परेर थलिएका गोविन्दलाई सो असरमा सुत्केरी श्रीमतीले भरपुर साथ दिईन । उनी विरामी परेका बेला श्रीमतीले पसल हेरीदिएपछि गोविन्दलाई ठुलो सहयोग मिल्यो ।
रोगलाई जितेर निको भएपछि गोविन्दले उद्योगलाई थप विस्तार गरे । माग विस्तारै बढ्दै गएपछि उनले उद्योगमा थप २ जना कामदार थपे । सामाजिक राजनितिक हिसाबले समेत निकै सक्रिय गोविन्दले स्थानिय संघ संस्था, क्लबहरुमा समेत स्थान पाउन थाले । उद्योग र ब्यवसाय आफ्नो लयमा गईरहेको र समाजका लागि आफुले पनि केहि गर्नुपर्छ भन्ठानेर देवदह खैरेनीका यूवाहरुलाई समेटेर उनले सिद्धार्थ युवा क्लब गठन गरे । आफू अध्यक्ष रहेको सो क्लब मार्फत बिभिन्न सचेतनामुलक कार्यक्रमहरु गरेको र स्थानियको सहयोगमा देवदह-५ पानबारीमा अतिक्रमीत जग्गा समेत फिर्ता गराउन भुमिका खेलेको उनले बताए ।
गोविन्दमा विस्तारै संस्थागत र संगठनात्मक कार्यकुशलता बढ्दै गयो । उनलाई ब्यवसायीहरुको हकहित संरक्षणको लागि संगठन बनाउनुपर्छ भन्ने लाग्यो । देवदहमा एउटा मात्र ब्यापारीक संगठन रहेको र त्यो पनि बुटवलको शाखा रहेकाले ब्यापार ब्यवसाय संचालन गर्नको लागि पहिला देवदह र त्यसपछि बुटवल अनि अन्त्यमा भैरहवा पुगेर घरेलु वा बाणिज्यमा दर्ता हुनुपथ्र्यो । त्यस्तो झण्झटिलो ब्यवस्थालाई चिर्नको लागि गोविन्दले आफ्नै नेतृत्वमा देवदह उद्योग ब्यापार संगठन गठन गरे । उक्त संगठन भैरहवाको स्वामित्वमा रहेपनि गोविन्दले देवदहमा दर्ता भएमात्र पुग्ने गरि ब्यवस्था मिलाए ।
ब्यवसायमा आफु सफल भएपछि अरु साथीहरुले समेत ब्यवसायिक सफलता पाउनुपर्छ र सबै मिलेर आत्मनिर्भर बन्दै देशको अर्थतन्त्र सुधानुपर्छ भन्ने सोँच राख्ने गोविन्दले देवदहमा पहिलो पटक औद्योगिक प्रदर्शनी र फुड फेस्टीवल समेत आयोजना गरे । आफु अध्यक्ष रहेको देवदह उद्योग ब्यापार संगठनको आयोजनामा उनले २०७१ सालमा प्रथम देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको सूरुवात गरे । बुटवल र भैरहवामा सिमित हुने पर्दशनीलाई आसपासका बजारमा पनि संचालन गर्न सकिन्छ भन्ने उदाहरण बनेको सो प्रदर्शनी हाल देवदहमा रहेका अन्य दुई संगठनले समेत पालैपालो संचालन गरिरहँदा आठौं संस्करणसम्म पुगेको छ ।
पहिलो पटक महोत्सव लगाउने कुरा गर्दा जोखिमको सम्भावना रहेको र आर्थिक रुपमा घाटा भए कसले ब्यहोर्ने भन्ने द्विदा हुँदा १० लाखसम्मको घाटा आफुले ब्यक्तिगत रुपमा ब्यवहोर्ने बताएपछि स्थानिय निकाय, स्थानिय राजनितिक दल र अन्य संघ संगठनहरुले पनि साथ दिएको उनले स्मरण गरे । देवदहमा आर्थिक चलायमान गराउने र यहाँका ब्यवसायिहरुको ब्यापार प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य राखेर गोविन्दले सोही बर्षको अन्त्यमा नेपाली नयाँ बर्षको अवसर पारी देवदहको खैरेनी बजारमा फुड फेस्टीवल समेत आयोगना गरे । हरेक बर्ष आयोजना हुने प्रदर्शनीले केहि न केहि नयाँपन दिने तथा ब्यवसाय र ब्यापारमा नयाँ सिकाई समेत हुने उनको भनाई छ । तर पछिल्ला केहि बर्षयता ब्यापार मेलाले पर्यटन र कृषिलाई खासै प्रभाव पार्न नसकेकोमा उनी चिन्तित छन । आफुले पहिलो पटक मेला आयोजना गर्दा टिकट बिक्रिबाट आएको रकमको ५ प्रतिशत छुट्टाएर देवदहको पाकरी बृक्षमा गेट निर्माण गरेको स्मरण गर्दै उनी भन्छन्, “हरेक बर्ष यसरी नै केहि न केहि काम गर्दै गएको भए धेरै संरचना बनिसक्ने थिए ।“
केहि न केहि नयाँ गरौं भन्ने सोँच राख्ने गोविन्दले चौथो प्रदर्शनीमा देवदहदेखि माथागढिसम्म केवलकार लान सकिन्छ भन्ने मान्यतासहितको नक्सा र बहस छेडेपछि यो बर्ष देवदहबाट माथागढिसम्म ट्रयाकिङ्ग रुटको लागि काम भईरहेको दावी गर्छन । त्यसो त गोविन्दले देवदह क्षेत्रमा शिक्षा र मिडियाको विकास भएमात्र यहाँको समग्र विकासले सार्थकता पाउने बताउँछन् । त्यसैले उनले विद्यालय र टेलिभिजनमा समेत लगानी गरेका छन् । आफु लगायत देवदहका केहि साथीहरुसंग मिलेर उनको अध्यक्षतामा स्थापना भएको देवदह टेलिभिजन अहिले ६ बर्षमा चलिरहेको छ भने उनी देवदह बुद्ध पब्लिक स्कूलका उनी संस्थापक समेत हुन् ।
संघसंस्थाका कामसंगै गोविन्दले आफ्नो उद्योग र ब्यवसायलाई उत्तिकै महत्व दिनेगर्छन । ठुलो परिमाणमा जुत्ता उत्पादन गर्नेगरि उनले २०७२ सालमा ५ वटा मेसिन समेत खरिद गरेर ब्यवसायलाई ब्यापकता दिनेगरि अगाडि बढे । १५ जना कामदार राखेर ति मेसिनबाट जुत्ता उत्पादन सुरु गरेका गोविन्दले एक बर्षमा ६०-७० लाखसम्म घाटा ब्यहोर्नुप¥यो । गोविन्द भन्छन्, “उद्योग र व्यवसायमा योजना र बजारको मुल्याङ्गन नगरि सुरुगर्दा घाटा हुने रहेछ । व्यवहारीक हिसाबले उद्योग ब्यवसाय संचालन गरिरहेको मलाई उक्त घाटापछि समयमा आफुले पढ्न पाएको भए सायद यस्तो हुने थिएन होला भन्ने लाग्यो ।“
ब्यवसायिक जीवनमा पटक पटक पढाईकै कारण आफुलाई अफ्ठ्यारो महशुस गरेका गोविन्दले आफ्ना २ छोरी र १ छोरालाई उच्च शिक्षाको लागि सघाईरहेका छन् । गोविन्दका दुई छोरी मध्ये जेठी छोरी भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेमा एमविविएस र सानी छोरी काठमाण्डौको सेन्ट जेभियर्स कलेजमा कक्षा १२ मा विज्ञान अनि छोराले काठमाडौ कै अर्वाना कलेजमा कक्षा ११ मा विज्ञान विषय पढिरहेका छन ।
आफुले गरेको ब्यवसायलाई थप सुदिृण गर्दै पुस्तान्तरण गर्न सके आफ्नो उद्यमशिलता र ब्यवसायिक जीवनले सफलता पाउने विश्वास उनले लिएका छन् । पछिल्लो समय संचालन गरिरहेको फेमस शुज उद्योग र फेमस जुत्ता पसल नयाँ पुस्तालाई हस्तान्तरण गरेर सामाजिक काममा बढी सक्रिय हुने उनको चाहना छ ।
गोविन्दको उद्यम यात्रा अझै अगाडि बढोस, शुभकामना ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology