Logo

२०८३, श्रावण २७गते


images
images

उद्यम यात्रा

राजनीति छोडेर उद्यममा रमाएका मनिष

राजनीति छोडेर उद्यममा रमाएका मनिष

images
  • राजनीति छोडेर  उद्यममा रमाएका मनिष
    images
    images

    देवदह । आत्मबल र ईच्छाशक्ति बलियो भयो भने जस्तोसुकै काम पनि सहजै गर्न सकिन्छ । कमजोर मानसिकताले जब मानिसलाई गिजोल्न थाल्छ, उसमा नैरास्यता र आलस्यपन बढ्दै जान्छ र त्यसको फलस्वरुप उसलाई असफलता हात लाग्छ । यूवा अवस्थाको जोँस र जाँगरलाई उपयुक्त ठाउँमा उपयोग गर्न र उत्पादनसंग जोड्न सक्यो भने जीवनको उत्तराद्र्धमा आत्मसम्मान सहितको खुसी मिल्नेगर्छ । सफलता पाउनकै लागि मानिस संघर्षको मैदानमा दौडिरहेको हुन्छ । करिव ५० बर्षको उमेरमा पनि निकै सुझबुझका साथ सफल उद्यमी बन्ने ध्ययले दौडिरहेका एक उद्यमी हुन् - देवदहका रुद्र प्रसाद पंगेनी (मनिष) ।

    images
    images
    images

    वि. सं. २०३१ साल साउन ११ गते स्याङ्जा जिल्लाको हालको वालिङ्ग नगरपालिका वडा नं ७ मा पिता कृष्णलाल र माता मनरुपा पंगेनीको कोखबाट जेठो सन्तानको रुपमा मनिषको जन्म भयो । वालिङ्गमा जन्मिए पनि मनिषको परिवार उनी सात बर्षको हुँदा बुटवल झ¥यो । बुटवल झरेसंगै कक्षा २ सम्म अध्ययन गरेका मनिष स्थानीय जनता माविमा कक्षा ३ मा भर्ना भए । कक्षा ८ सम्म जनतामा पढेका उनको ९ र १० कक्षाको पढाई भने बुटवलकै कान्ति माविमा भयो । पढाईमा मध्यम रहेका मनिष २०४७ सालमा एस एल सी उत्तिर्ण भए । एस एल सि उत्तिर्ण भएपछि सबै साथीहरुमा खुसियाली छाएपनि मनिषमा भने त्यो खुसी आएन । परिवारको कमजोर आर्थिक अवस्थाका कारण कलेज पढ्न समस्या हुने महशुष गरेका मनिषलाई खुसी मिलोस पनि कसरी ?  घरमा आम्दानीको उपयूक्त माध्यम नभएको र बुवाले सामान्य ब्यापार र ज्यालादारीबाट कमाएको पैसाले घर चलाउन समेत गाह्रो थियो । जो उनका लागि चिन्ताको विषय बन्यो । अर्कोतर्फ आँफुभन्दा साना ३ बहिनीहरुलाई पढाउनुपर्ने बाध्यताले समेत मनिषलाई थप अध्ययन गर्न जटिलता थप्यो ।

    images
    images
    images

    कमाएर पढ्न भारतमा

    परिवारमा भएका तमाम समस्या देखेका मनिष २०४८ सालमा काम गर्न भन्दै भारतको गुजरात लागे । स्थानिय टेकबहादुर रानाको साथ गुजरात पुगेका उनले पाउरोटी भट्टा र बबुलगम फ्याक्ट्रीमा लेवर काम गरे । मासिक ३ सय रुपैंया ज्यालामा काम गरेका उनलाई खल्तीमा केहि पैसा हुन लागेपछि पढ्ने ईच्छा जाग्यो । काम गरेको तलव आएपछि कमाउँदै पढ्दै गर्न सकिन्छ कि भन्ने ठानेर उनी हरिद्धारामा संस्कृत पढ्न हिँडे । हरिद्धार बसेर संस्कृतमा शास्त्रीसम्म अध्ययन गरेका मनिषलाई चिनजान बढेपछि एउटा सरकारी कार्यालयमा जागिरको अवसर मिल्यो ।

    images
    images
    images

    उनले २०५३ सालमा उत्तर प्रदेश सरकार मातहतमा रहेको रिभर म्यानेजमेन्ट कम्पनीमा काम गर्न लागे । ३ सय मासिक कमाएर आफ्नो जागिरको सुरुवात गरेका मनिषलाई अस्थाई रुपमा पाएको जागिरबाट माषिक ३६ सय रुपैंया मिल्न थाल्यो । मनिष भन्छन्, "त्यो मेरो जीवनको अत्यन्त खुसीको क्षण थियो । आफन्तकोमा घरेलु कामदारको रुपमा काम गरेर नेपालमा १० कक्षा पास गरेपनि त्यो भन्दा माथि अध्ययन गर्न नसकिने ठानेर भारत पसेको म कमाएरै शास्त्रीसम्मको अध्ययन गरेँ र सरकारी जागिर खाँए, यो भन्दा खुसी के हुन सक्छ ?"  मनिषले केहि समय अस्थायी रुपमा पाएको जागीर हाकिमलाई खुसी बनाएपछि स्थायी भयो, अब त झन उनको तलब करिब दोब्बर भयो । त्यसपछि आफु थप बलियो भएको मनिषलाई महशुष हुन थाल्यो । यता नेपालमा पनि मनिषको परिवार बुटवलबाट बसाई सराई गरि देवदह लाग्यो । 

    बुवा गुमाएपछि घर परिवार चलाउन वैदेशिक रोजगारीको सहारा

    स्थायी जागिर भएपछि छुट्टीमा नेपाल आएका उनलाई परिवारबाट बिवाहको प्रस्ताव आयो । मनिषले २०५५ सालमा देवदह २ ढेकावर निवासी रेनुका न्यौपानेसंग लगनगाँठो कसे । विवाह पछि करिव २ बर्ष भारतमा विताएका मनिष २०५७ सालमा परिवारकै साथमा रहेर केहि गर्ने मनसाय सहित जागिर छाडेर नेपाल फर्किए । नेपाल फर्किए लगत्तै मनिषको परिवारमा नयाँ सदस्यको आगमन भएपछि खुसीयाली छायो । पहिलो सन्तानको रुपमा रेनुकाले सचिनलाई जन्म दिएको खुसी टिक्न नपाउँदै उनको परिवारमा अर्को दुखद घटना भयो । मनिषले ५७ बर्षको अल्पायूमा आफ्नो बुवा गुमाए । अब त झन मनिषमा जिम्मेवारी बढ्यो र उनले के गर्ने भन्ने नै मेसो पाएनन । 

    मनिषलाई केहि साथिहरुले बिदेश जाने प्रस्ताव गरे । २०५८ सालमा आफुसंग भएको २० हजार र ससुरा बुवाले ४० हजार रुपैंया दिएपछि ६० हजार रुपैंया म्यानपावरमा बुझाएर उनि साउदी अरव लागे । बैदेशिक रोजगारीको क्रममा साउदीकोे पेट्रोल खोज्ने कम्पनीमा मासीक ७० हजार तलव पाउने गरि उनी अनुबन्धित भए । जति पैसा म्यानपावरलाई बुझाएर आएको त्यो भन्दा बढि मासीक तलब बुझ्ने भएपछि उनले ५२ डिग्रि तापक्रमको समेत प्रवाह गरेरन । उनी भन्छन्, "फिल्डको काम, त्यसमाथि गर्मी यति हुन्थ्यो कि आफुँले लगाएको लुगा भिजेर फेरी त्यहि पसिनाले सितल बनाउँथ्यो ।" मरुभुमिको काममा कन्टेनरमा रात बिताउने उनले घर भन्ने त आउँदा जाँदा एयरपोर्टमा मात्र देखेका थिए । 

    राजनितिमा लागेर परिवर्तन खोज्ने प्रयास 

    करिव अढाई बर्ष साउदीमा बिताएका मनिषको नेपालमै फर्केर केहि गर्ने हुटहुटी भने मरेको थिएन । जव उनी नेपाल फर्किए - नेपालमा माओवादी आन्दोलन उत्कर्षमा थियो । देवदहको ग्रामिण भेगमा मनिषको घर भएका कारण उनको उठबस केहि माओबादी नेताहरुसंग हुँदै गयो । हरेक विषयलाई गम्भिरता पूर्वक शुक्ष्म बिष्लेषण गर्न सक्ने मनिषको ब्यक्तित्वबाट नेताहरु प्रभावित हुँदैगए । यता मनिषले पनि माओबादी आन्दोलनबाट राज्यसत्ता परिवर्तन हुने र आफु जस्तै नेपालमै बसेर केहि योगदान गरौं भन्नेहरुका लाई अवसर जुट्ने अड्कल काट्न थालेका थिए । त्यतिबेला माओबादीले स्थानिय स्तरमा छुट्टै सरकारको अभ्यास गरेकाले मनिषको क्षमता देखेका नेताहरुले उनलाई पार्टि सदस्यता बिना नै उनीहरुको सरकार अर्थात देवदहको जनसरकार प्रमुख बनाइदिए । मनिषले राजनिति गर्दैगर्दा २०६२÷०६३ को आन्दोलन भयो । ब्यवस्था परिवर्तन भयो ।  १ बर्ष पछि नयाँ संबिधान लेख्नको लागि संबिधानसभाको चुनाव समेत भयो । 

    राजनिति छाडेसंगै व्यवसायमा प्रवेश

    करिव ३ बर्ष सक्रिय राजनिति गरेका मनिषले संबिधानसभाबाट समेत आम नेपालीका समस्या समाधान नहुने देखेपछि राजनितिबाट निष्कृय हुने र ब्यवसाय सुरु गर्ने निर्णय गरे । बैदेशिक रोजगारीबाट ल्याएको करिव १७ लाख रुपैंया आफुसंग रहेकाले २०६६ सालमा पार्टि सदस्यता परित्याग गरि मनिषले स्थानिय कुल प्रसाद पौडेलसंगको सहकार्यमा एम के ढुवानी सेवा नामको फर्म दर्ता गरेर निर्माणजन्य कामहरु गर्न थाले । स्थानिय रुपमा कल्भर्ट, बाटो ग्रावेल, कालोपत्रे जस्ता काम गरेर आफ्नो ब्यवसायिक भविष्यको बाटो खनिरहेका मनिष २०६७ फाल्गुन ७ गते कार दुर्घटनामा परि गम्भिर घाईते हुन पुगे । १३ दिन आई सि यू र ३ महिना न्यूरो अस्पताल काठमाण्डौको बसाईपछि मनिष घर फर्किए ।

    मृत्यूलाई जीतेपछि उद्यमी बन्ने सोँच

    आफुले काममा समय दिन नसक्ने भएपछि उनले आफ्नो लगानी फिर्ता लिएर ब्यवसाय साथिलाई जिम्मा लगाउन बाध्य भए । मनिष भन्छन्, "आफु बल्ल तल्ल बाँच्न सफल भएकाले आमा, श्रीमती र परिवारले काम नगर्न भन्नुभयो । स्वास्थ्य पनि अनुकुल नभएपछि करिव २ बर्ष रेष्टमै बित्यो ।" तर उनले केहि नयाँ गर्ने र स्वरोजगार बन्ने सपना देख्न भने छोडेका थिएनन । त्यसैले २०६९ सालमा मनिष कपडा उद्योग चलाउने सोँचका साथ उद्योग हेर्न भारतको हरियाणा पुगे । त्यहाँ पुगेर सबैकुरा बुझ्दा कपडा उद्योग संचालनका लागि लगानी बढि लाग्ने र कपडाको डिजाईन समेत फेरीईरहने भएका कारण जोखिम हुने भएपछि उनी त्यतिकै घर फर्किए ।

    घर फर्किए लगत्तै उनलाई एकजनाले रेडबुलका बट्टा पगालेर त्यसबाट भाँडा बनाउन सकिन्छ भन्ने सुनाए र सो काम गुजरातको जामनगरमा भईरहेको थाहा पाएपछि उक्त फ्याक्ट्री हेर्न उनि गुजरात लागे । गुजरातमा कवाड पगालेर भाँडा बनाईरहेको देखेपछि मनिषले नेपाल गएर यस्तै प्रकृतिको उद्योग चलाउने सोँच बनाए । करिव ३ महिना गुजरात बसेर विभिन्न उद्यमीहरुसंगको कुराकानी, फ्याक्ट्रीहरुको अवलोकन र जानकारी लिएपछि उनी भाँडा बनाउने उद्योग चलाउने सोँचका साथ नेपाल आए । नेपालमा बजार बुझ्दा भाँडा बनाउने उद्योग प्रशस्त भएको र प्रतिष्प्रर्धाको समेत चुनौति देखेपछि उनी आल्मुनियमको डोर फिटिङ्गका सामग्रि उत्पादन गर्ने उद्योग संचालन गर्ने निष्कर्षमा पुगे ।    

    डेढ करोढ बढिको लगानीमा बिन्दवासीनी धातु उद्योग

    मनिषले २०७० सालमा भारतबाट केहि अनुभवी मिस्त्री र कामदार ल्याएर बिन्दवासीनी धातु उद्योग संचालन गरे । रुपन्देहीको देवदह नगरपालिका वडा नं ४ बिजयपुरमा करिव ८ कठ्ठा क्षेत्रफलमा रहेको बिन्दबासीनीमा बिभिन्न रङ्गमा आल्मुनियमका १४ भन्दा बढि डोर फिटिङ्गका सामानहरु उत्पादन हुन्छन् । सुरुमा १ करोड पचास लाख लगानीमा सुरुभएको उद्योगमा हाल १३ जना कामदारले रोजगारी गरिरहेका छन् । सुरुको बर्षमा २८ जना कामदारबाट सूरु गरेको उद्योगमा कोभिड १९ पछिको आर्थिक मन्दिका कारण कामदार घटाउन परेको मनिषको दुखेसो छ । "ब्यापार ६० प्रतिशत घटेको छ" मनिष भन्छन्, कतिपय त आधुनिक मेसिनको प्रयोग गरेर पनि खर्च कम गर्न कामदार घटाउनुपर्ने बाध्यता छ ।"

    बिन्दवासीनी उद्योग आल्मुनियमको डोर फिटिङ्गका सामान उत्पादन गर्ने नेपालकै पहिलो उद्योग भएको मनिषको दावी छ । उनी भन्छन,  "यस्ता सामान उत्पादन गर्ने उद्योग जम्मा २ वटा छन्, ति मध्ये बिन्दवासीनी पहिलो हो ।" बिन्दवासीनीबाट उत्पादित सामान देशका ६० भन्दा बढि जिल्लामा पुग्ने गरेका छन् । पछिल्लो समय मनिषले अर्को एउटा उद्योग समेत संचालनमा ल्याएका छन् ।

    आल्मुनियमसंगै स्टील सामग्री उत्पादनका लागि छुट्टै उद्योगमा लगानी

    एक बर्षअघि मात्र फुपुको छोरा टंक भण्डारीलाई साझेदारको रुपमा लिएर उनले गिताञ्जली स्टील ईण्डष्ट्रिज प्रा.लि सुरु गरेका छन् । करिव ३ कठ्ठा क्षेत्रफलमा रहेको उक्त उद्योगमा आल्मुनियमको जत्तिकै संख्यामा स्टीलका डोर फिटिङ्गका सामान उत्पादन हुनेगर्छ । जहाँबाट १२ जना कामदारले रोजगारी पाईरहेका छन् । २ वटा उद्योगमा ६ करोड भन्दा बढि लगानी रहेको बताउने मनिषलाई पछिल्लो समयमा देखिएको आर्थिक मन्दि र राजनितिक अस्थीरताले लगानी जोखिममा पर्ने हो कि भन्ने चिन्ताले पिरोल्ने गरेको छ ।

    मनिष हरेक दिन बिहान ८ बजेबाट साँझ ४ बजे सम्म उद्योगमै हुन्छन् । बिगत केहि बर्ष अघि सम्म देवदहका बिभिन्न संघसंस्थामा सक्रिय सहभागिता जनाउने मनिषको उपस्थिती आजभोलि पातलिदै गएको छ । मनिषलाई गफ गर्ने होईन काम गर्ने मान्छे मनपर्छ । आफ्नो उद्योगमा गुञ्जिने मेसिनका आवाज मनिषका साथि जस्तै बनेका छन् । २ वटा छोराका बाबु मनिषले आफ्नो उद्योग रहेको स्थानलाई मिनि औद्योगिक क्षेत्र भन्ने गर्छन । उनि भन्छन् मैले सुरु गरे संगै हाल यहाँ मेरो लगाएत अन्य फरक प्रकृतिका आठ उद्योगहरु संचालित छन्, त्यसैले यसलाई मिनि औद्योगिक क्षेत्र भन्ने गरेको छु । 

    उद्योग स्थापनाको सुरुवाती दिनमा निकै संघर्ष गरेका उनलाई अहिले कान्छो छोरा समिरले सघाईरहेका छन् । समिरको ब्यवसायप्रतिको लगावले उनी दङ्ग छन् । तर १६ बर्षको कलिलो उमेरदेखि आफुलाई ब्यवसायमा सपोर्ट गरिरहेका उनका जेठा छोरा सचिन ५ महिना अघि अष्ट्रेलिया उडेपछि भने आफु चिन्तीत बनेको मनिषले बताए । "हुन त छोराले २/३ बर्ष भन्दा बढि बस्दिन बाबा, म नेपालमै आएर उद्योग चलाउने हो भनेर भनेको छ । छोराले त्यसो भनेपनि देशभरबाट ठुलो संख्यामा युवाहरु विदेशिने र उतै सेट हुने क्रम बढ्दो रहेकाले छोरो पनि कता-कता उतै सेटल हुन्छ कि भन्ने चिन्ताले  मलाइ पिरोल्ने गर्छ" उनले आफ्नो दुखेसो सुनाए । देशको अर्थतन्त्र सुध्रिएको खण्डमा र राज्यको निति उत्पान तथा उद्यमीमैत्रि बनेमा दुई छोराको साथ लिएर मोटर पार्टस्को उद्योग समेत संचालन गर्ने मनिषको सोँच छ ।

    यसरी संघर्षका सिढीहरूबाट कैयौंपटक भर्ल्याङ्ग खादैं र उठ्दै अगाडि बढीरहेका मनिष आजपनि नयाँ नयाँ उद्यमशिलताको सपना देखिरहन्छन् । मनिषलाई  यसैगरी सपनाले डोर्र्याइरहुन् । उनको उद्यम यात्रा अझै अगाडि बढोस् । शुभकामना ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।