सुनवल । पश्चिम नवलपरासीको सुनवलमा योग भवन सहितको प्राकृतिक चिकित्सालय निर्माण गर्न महायज्ञ हुने भएको छ । सोमबार (भोलि) बाट सुरू हुने महायज्ञमा १० करोड चन्दा संकलन गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमार्फत आयोजक समिति संयोजक भिम बहादुर थापाले जानकारी दिए ।
सुनवलमा योग भवन र जेष्ठ नागरिक स्याहार केन्द्र सहितको प्राकृतिक चिकित्सालय निर्माण गर्न सके सुनवल सहित देशभरिका नागरिकले सेवा लिन सक्ने भएकोले आर्थिक संकलनको लागि महायज्ञ आयोजना गरिएको उनले बताए । महायज्ञबाट संकलन भएको रकमले सुनवलमा करिव १० विगाहा जग्गामा २५ देखि ३० करोड लागतमा भवन निर्माण गर्न 'हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मूल समारोह समिति'ले माघ १ देखि ८ गतेसम्म सुनवल चोक 'गेट सी' मा महायज्ञ संचालन गर्ने उनको भनाई छ ।
पत्रकार सम्मेलनमा बोल्दै सुनवल नगरपालिका प्रमुख विमला अर्यालले सुनवलको विकासमा योग भवनसहितको प्राकृतिक चिकित्सालयले महत्वपूर्ण योगदान पुर्याउने जिकिर गरिन् । सुनवलवासीलाई स्वस्थ बनाउन र सुनवललाई नयाँ पहिचानसहित स्थापित गर्नको निम्ति महायज्ञ आयोजना गरिएको दावी गर्दै उनले महायज्ञलाई सफल बनाउन आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
सुनवललाई एकतामा जोड्न महायज्ञ : प्रदेश सांसद बस्नेत
महायज्ञ मूल आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतले सुनवललाई एकतामा जोड्न महायज्ञ महत्वपूर्ण हुने बताए ।
"सुनवलको विकास र समृद्धिमा सबै राजनीतिक दल र संघसंस्था एक ठाउँ छन् र सबै मिलेर सुनवलको विकास गर्छन भन्ने सन्देश महायज्ञले दिनेछ ।" सांसद बस्नेतले भने - "विकासमा जनसहभागिता र सबैको समान दृष्टिकोण अत्यन्तै महत्वपुर्ण हुन्छ, यो महायज्ञमा सुनवलले हामी सबै एक छौं भन्ने तथ्य स्थापित गर्ने विश्वास मैले लिएको छु ।"
महायज्ञमा पण्डित दीनबन्दु पोखरेल र बालब्यास श्रवण न्यौपानेले कथावाचन गर्ने आयोजकले जनाएको छ ।
यज्ञको संरक्षक सुनवल नगरपालिका रहेको छ भने स्थानिय भोलेबाबा सत्मार्ग समिति सहयोगी संस्थाको रूपमा रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology