सुनवल । पछिल्ला दिनमा 'नेपालमा केही सम्भावना छैन' भन्दै थुप्रै युवा विदेशिएका छन् । विदेशीभुमिमा नेपाली युवाले आफ्नो भविष्य खोजिरहेको र देशको अर्थतन्त्र जटिल मोडमा पुगेको अवस्थामा पश्चिम नवलपरासीको सुनवलमा नयाँ सम्भावनाको खोजी भएको छ ।
देवदहका दिपक ढकालले स्थानीय निजामुदीन मियाको सहकार्यमा सुनवल-१० मा १० विगाह क्षेत्रफलमा आलु खेती सुरु गरेका छन् । यो आलु खेती नमुना बन्ने अनुमान गरिएको छ । संचालक ढकालले पहिलो पटक १० विगाह क्षेत्रफलमा ३० टन आलुको बिउ लगाइने बताए । 'हामीले अत्याधुनिक प्रविधिको प्रयोग गरी नमुना आलु खेती गर्दैछौं' उनले भने ।
विद्यालयको जग्गा भाडामा लिएर ढकाल र मियाले सेविटा लगायतका नौ वटा उत्कृष्ट प्रजातिका आलु रोपेको बताए । यो कृषि परियोजनामा हालसम्म १५ लाख लगानी भएको र आलुको उत्पादन हुने बेलासम्म ४० लाख लगानी हुने जनाइएको छ ।
औद्योगिक उद्देश्य : ३०० टन उत्पादन हुने अनुमान
संचालक ढकालका अनुसार यस मोडल खेतीबाट कम्तिमा ३०० टन आलु उत्पादन हुने अनुमान गरिएको छ । उत्पादन १०० दिनमै तयार हुने भएकाले त्यसपछि सोही क्षेत्रमा मकै खेती लगाइने छ भने मकै लगत्तै धान रोपिने छ ।
वर्षमा तीनपटक व्यावसायिक उत्पादन लिन सकिने भएकोले यस्ता ठुला परियोजनाले जमिनको उत्पादकत्व समेत बढाउने देखिएको छ । खेतमा सिंचाईको केही समस्या रहेको र आफूहरुकै लगानीमा सिंचाईको व्यवस्था गरिएको ढकालले बताए । अहिले आलु खेतीमा ४० जनाले काम गर्दै आएको जनाइएको छ ।
आलु खेतीलाई सफल बनाउन फर्स्ट च्वाइस फुड्स प्रालिले प्राविधिक सहयोग दिएको छ । उत्पादन हुने सबै आलु यही कम्पनीले अग्रिम सम्झौतामार्फत खरिद गर्ने व्यवस्था मिलाइएको छ । अहिले नै आलुको न्यूनतम मूल्य प्रतिकिलो २३ रुपैयाँ तोकिएको छ । बजार मूल्य बढेमा उत्पादनकर्ताले बढी मूल्य पाउने समेत सम्झौतामा उल्लेख छ ।
न्यूनतम मूल्यमै आलु विक्री भएपनि कम्तिमा ६९ लाख बराबरको आलु उत्पादन हुनेछ ।
यसरी सम्झौता भएको न्युनतम मूल्यमै आलु विक्री भएको खण्डमा पनि १०० दिनमै लगानीकर्ताले २९ लाख कमाइ गर्नेछन् । जुन असाधारण कमाइ हो ।
३०-४० लाख खर्चिएर विदेश गएका युवामध्ये धेरै आज पनि व्याज तिर्नसमेत नसक्ने अवस्थामा छन् । यस्तो अवस्थामा ४० लाख लगानी गरेर आफ्नै माटोमा एक सय दिनमै २९-३० लाख बचत हुनु धेरै राम्रो भएको लगानीकर्ता ढकाल बताउँछन् ।
उत्पादित आलु रुपन्देहीको फर्साटिकरमा रहेको क्वालिटी फुड्स प्रालिले उत्पादन गर्ने फ्रेन्च फ्राई बनाउन प्रयोग हुने जनाइएको छ । क्वालिटी फुड्सले नेपालबाट अमेरिकामा फ्रेन्च फ्राई निर्यात गर्न सुरु गरिसकेको छ ।
आशाको विउ उमार्ने अभियान : नगर प्रमुख अर्याल
नमून आलु खेतीको सुनवल नगर प्रमुख विमला अर्यालले एक कार्यक्रमबीच उद्घाटन गरेकी छन् । उनले कृषिको आधुनिकीकरणले युवा विस्थापनलाई रोक्ने र उनीहरुमा आसाको विउ उमार्न समेत परियोजना महत्वपूर्ण हुने बताइन् ।
'विदेशिनु मात्रै विकल्प होइन भन्ने उदाहरण आज यही खेतले दिएको छ ।' नगर प्रमुख अर्याल भनिन्, 'युवाहरूले माटोलाई उद्योग बनाउन थाले भने सुनवलले कृषि उद्यमको पहिचान पाउनेछ ।'
सुनवलमा सुरु भएको यो कृषि परियोजना केवल एकैपटकको उत्पादन होइन, दीर्घकालीन आर्थिक संरचना निर्माणतर्फको यात्रा हो । युवा विदेशिएको, गाउँमा उत्पादनमूलक काम घटेको र कृषि परम्परागत ढाँचामा सीमित भएको अवस्थामा यस्तो नमूना खेतीले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने अपेक्षा गरिएको छ ।
यतिबेला सुनवलको माटोमा आलु मात्र होइन, सम्भावना र सपना पनि संगै रोपिएको छ । यस्ता नयाँ र ठुला कृषि प्रोजेक्ट सफल भएको खण्डमा मात्र कृषिको व्यावसायिकीकरण हुन सक्छ । युवाहरुमा कृषितर्फ आकर्षण बढ्न सक्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology