सुनवल । विद्यालय पढ्ने ठाउँ मात्र होइन । काम गरेर सिक्ने प्रयोगशाला पनि हो । यो भनाइलाई व्यवहारमा उतारेको छ सुनवल नगरपालिका–७ स्थित जनज्योति आधारभूत विद्यालयले । विद्यालय परिसरमा विद्यार्थीहरूले उत्पादन गरेका तरकारी तथा खाद्यान्न बालीहरुले पनि यो कुराको पुष्टि गरेको छ ।
जनज्योतिका विद्यार्थीले करिव २ कठ्ठा क्षेत्रफलमा लगाएका घिरौंला, बोडी, करेला, फर्सी, टमाटर र मकै अहिले दिवा खाजाको रुपमा समेत प्रयोग गरिदैं आएको छ ।
किताबी ज्ञान मात्र नभई व्यवहारिक शिक्षालाइ जोड दिने विद्यालयको नीति अहिले नियमित अभ्यास बनेको छ । जहाँ विद्यार्थीहरू पाठ्यपुस्तकको पढाइसँगै व्यवहारिक ज्ञान हासिल गर्नका लागि खेतबारीको काममा पनि रमाइरहेका हुन्छन् ।
‘विद्यार्थीले आज मात्रै दोस्रो छाकमा घिरौंलाको तरकारी खाए । पहिले यो ठाउँमा टमाटर थियो, तर अहिले यो फल्न छाडेको छ । अहिले चाहिँ बोडी मात्र बाँकी छ ।’ विद्यालयका शिक्षक राजेश तिवारीले भने, ‘अहिले फलेका फर्सीका मुन्टाहरू चाहिँ जाउलोमा राखेर स–साना बालबालिकाहरुलाई खुवाउने गरेका छौं ।’ शिक्षक तिवारीका अनुसार मकैको पहिलो लट निकालिसकिएको छ भने दोस्रो लटको तयारी भइरहेको छ । सिजनमा काउली र बन्दा पनि फलाएर विद्यार्थीले दिवा खाजा खाएको उनले बताए ।
सुनवल नगरपालिले स्थानीय पाठ्यक्रममा कृषि र करेसाबारीलाई समावेस गरेका कारण सोहि विषयलाई अध्यापन गराउने क्रममा त्यसको व्यवहारीक ज्ञान दिन जनज्योतिमा करेसावारी निर्माण गरिएको हो । साथै नगरले सो का लागि बजेट समेत बिनियोजन गरेका कारण आफुहरुलाई थप हौसला मिलेको विद्यालयका प्रधानाध्यापक सावित्री कुरारी रानाले बताईन् ।
‘नगरको सहयोगले बिउ बिजन र मलखाद खरिद गर्नका लागि थप सहजता प्रदान गरेको छ । विद्यालयमा व्यवहारिक शिक्षाको अभ्यासका रूपमा सुरु गरिएको करेसाबारी अभियानले विद्यार्थीलाई उत्पादनमा समेत अभ्यस्त बनाएको छ ।’ उनले भनिन्, ‘केही पिरियडमा पढाइ सकेपछि विद्यार्थीहरू खुसी हुँदै करेसाबारीतिर लाग्छन् । करेसाबारीमा जान पाउँदा उनीहरु रमाउँछन् ।’
कक्षा शिक्षक बिदामा बसेको समय, दिउँसो खाजा खाने समय र आवश्यकता परेको बेला छुट्टीको दिन विद्यार्थीरू उत्साहित भएर विद्यालय आउँछन् । उनीहरु दिनभरि नर्सरी र तरकारी खेतीमा रमाउँछन् ।
जनज्योति आधारभूत विद्यालयमा सञ्चालन गरिएको करेसाबारीले केवल तरकारी मात्रै फलाएको छैन, विद्यार्थीको सोंच, दृष्टिकोण र सीप पनि हुर्काइदिएको छ । यस्तो व्यवहारिक अभ्यास ग्रामीण क्षेत्रका अन्य विद्यालयले पनि लागु गर्ने हो भने शिक्षालाई जीवनोपयोगी बनाउन मद्दत पुग्ने देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology