काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी मुलुकको प्रमुख शक्तिको रुपमा रहेको दावी गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला संघको शनिबार काठमाडौंमा सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले एमाले मुलुकमा अरु पार्टीभन्दा बढि बलियो, व्यापक र अग्लो रहेको बताए ।
उनले एमालेलाई समाप्त पार्न दुँनियाका सबै शक्तिहरु लागे पनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिला संघलाई धन्यवाद पनि दिए । ओलीले भने, ‘नेकपा एमाले फेरि पनि जुरुक्क उठेको छ । अरुभन्दा अलि बलियो, अरुभन्दा अघि ब्यापक, अरुभन्दा अघि अग्लो त्यसरुपमा एमाले उभिएको छ । यो योगदानका लागि म महिला दिदीबहिनीहरुलाई धन्यवाद दिन चाहन्छु । यसमा महिलाहरुको निष्ठाले काम गरेको छ ।’
पार्टीमा आवद्ध महिलाहरुको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रुपमा रहन सकेको ओलीको भनाई थियो । ‘अहिले एमाले जुन ठाउँमा छ । मैले धेरै ठाउँमा भन्ने गरेको छु– आज दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमालेविरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरुले ढाल बनेर छेकेका छन्’ उनले भने, ‘अनमेसंघ र अरु संगठनहरु पनि सक्रिय छन् । त्यसमा पनि अखिल नेपाल महिला संघको र महिला दिदी बहिनीहरुको योगदान धेरै छ ।’
अध्यक्ष ओलीले अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि दोहोर्याए । त्यस अवसरमा उनले पार्टीभित्र गुटबन्दी नगर्न पनि निर्देशन दिएका छन् । एमालेभित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न पनि सबैलाई सचेत गराए । उनले पार्टीभित्र योग्यता, क्षमता र काम गरेर जिम्मेवारी दिइने पनि स्पष्ट पारे । अध्यक्ष ओलीले भने, ‘आजको एमालेभित्र कुनै पनि किसिमको गुटबन्दी छैन । त्यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तो उस्तो नभन्नुस्’ उनले भने, ‘एकछिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन । संगठन एकजुट हुनुपर्दछ । योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौं । यसमा तलमाथि हुँदैन ।’
ओलीले अखिल नेपाल महिला संघले पनि ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने पार्टीको उद्देश्य प्राप्त हुने गरी आफ्नो संगठनलाई चलायमान बनाउनुपर्नेमा जोड दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology