कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिप्रति लक्षित गर्दै जनविरोधी चेष्टा नगर्न चेतावनी दिएका छन्। राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले हाल देखापरेका आन्दोलन र असन्तुष्टिहरूलाई अस्थायी भन्दै त्यस्ता गतिविधिबाट भ्रममा नपर्न आग्रह गरे।
उनले दरबार हत्याकाण्डपछि पूर्वराजा बनेका शाहले सत्ता सम्हालेको समयमा जनताले भोगेको पीडाको स्मरण गर्दै त्यही पीडाले जनतालाई सडकमा उत्रिन प्रेरित गरेको बताए। प्रधानमन्त्रीको भनाइ अनुसार त्यतिबेला निरंकुशताको विरोधमा खाली हात भएका जनताले १९ दिनसम्मको निरन्तर आन्दोलनबाट सशस्त्र राज्यशक्तिलाई घुँडा टेकाएको थिए।
उनले वर्तमानमा देखिएका असन्तुष्टिहरूलाई विगतका क्षणिक प्रयत्नहरूसँग तुलना गर्दै त्यसले दीर्घकालीन असर नगर्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्रीका अनुसार तीन वर्ष शासनमा रहँदा पूर्वराजाको व्यवहारले जनतामा गहिरो असन्तोष जन्माएको थियो, जसको प्रतिफल स्वरूप गणतन्त्र स्थापनाको बाटो खुलेको हो।
उनले देशको लोकतान्त्रिक संरचना, गणतन्त्र र संविधानको रक्षार्थ नेकपा एमाले अग्रपङ्क्तिमा रहने दाबी गर्दै प्रतिगमनविरुद्ध आफू नेतृत्वदायी भूमिकामा रहने स्पष्ट पारे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology