काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले अबको नेतृत्व पनि केपी शर्मा ओलीले नै गर्ने भन्दै एक कविता लेखेका छन् ।
उनले एमालेको एघारौँ महाधिवेशन निर्णयको मात्र थलो नभएर नयाँ यात्राको उद्घोष भएको बताउदै नेतृत्वमा ओली नौ हुने बताएका छन् ।
यहि मङ्सिर २७ देखि २९ सम्म काठमाडौँमा हुने एमालेको ११औं महाधिवेशनका लागि शनिवार देशभर प्रतिनिधि छनौट गरिएको छ । एमालेको अध्यक्षका लागि ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिएका छन् ।
बस्नेतले लेखेको कविता :
केपी ओलीसँगै यात्रा पुनः शिखरतिर
पार्टी त केवल संरचना होइन,
यो त सगरमाथामा उभिएको
हावा, धड्कन र हिमालको सामूहिक स्वर हो।
सयौं फूलहरू एउटै बगैचामा
रङ्ग, सुन्दरता बाँडेजस्तै
हामी पनि एउटै सपना लिएर
विचारको बगैचा खनिरहेको टोली हौँ।
इतिहासका अध्यायहरूले सिकाए
पुष्पलालको सूर्यझैँ तेजोमय विचार
टीमको कमीले अझ टाढा फैलिन पाएन।
मनमोहनले शालीनतालाई
गतिशीलताको सहयात्रा पाएपछि
आन्दोलनको पानीले उचाइ चुम्यो।
मदन भण्डारी,
‘गति र भावना’ एकै तालमा मिल्दा
जबजको बिजारोपण गर्नु भएको
नयाँ उचाइका शिल्पकार बन्नुभयो।
आज हामी
एघारौँ महाधिवेशनको दैलोमा उभिएका छौँ।
नयाँ यात्राको घाम उदाउँदैछ।
करिब सात लाख सदस्यका हातहरूले
प्रतिनिधिहरू छनोट गरी
भविष्यको बाटोको नक्सा कोरिसकेका छन्।
बधाई छ, यस यात्राका सबै प्रतिनिधिहरूलाई।
अब जिम्मेवारी छ,
नेतृत्वमा स्थिरता,
नीतिमा दृढता
र यात्रामा एकताको सूत्र बाँध्ने।
यही क्षणमा
एक नाम पुनः उज्यालो भएर उठ्छ,
केपी ओली।
जसले आँधी आए पनि बाटो समाते,
विपद् झरे पनि मार्ग छाडेनन्,
पार्टीलाई एकताको डोरीले बाँधेर
दूरदृष्टिको आधारमा अगाडि सारे।
उनैको नेतृत्वले
गति र भावना
फेरि एकै धड्कनमा मिलोस् भन्ने
प्रतिबद्धताको आवाज
महाधिवेशनभित्र सुनिन थालेको छ।
त्यसैले,
हाम्रो एघारौँ महाधिवेशन
सिर्फ निर्णयको थलो होइन,
नयाँ यात्राको उद्घोष हो,
‘नीतिमा दृढता, नेतृत्वमा एकता,
अध्यक्षमा केपी ओली, यात्रामा उज्यालो ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology