गुल्मी । गुल्मी जिल्ला अस्पतालका अध्यक्ष भरत पाण्डेले अस्पताल सुधारउन्मुख भएको र सहज उपचार प्रदान गरिएको बताएका छन् । सेतोमसीमा प्रकाशित समाचारको खण्डन गर्दै अध्यक्ष पाण्डेले अस्पतालमा पहुँचको आधारमा उपचार र औषधी वितरण हुने प्रणाली बन्द गरिएको र अस्पतालले प्रवाह गर्ने सेवा सर्वसाधारणमुखी भएको बताएका हुन्।
समाचारको खण्डनमा अध्यक्ष पाण्डेले व्यक्ति विशेषले पहुँचको आधारमा निशुल्क औषधी नपाएको रिस पोखिएको उल्लेख गर्दै अस्पतालको सेवाबाट सर्वसाधारण आम नागरिक सन्तुष्ट रहेको जनाएका छन्।
समाचारको खण्डन गर्दै अध्यक्ष पाण्डेले लेखेका छन्, "पछिल्लो समय अस्पतालमा बिरामीलाई पहुँचका आधारमा टिकट काट्ने प्रणाली अन्त्य गर्न टोकन सिस्टम, बिरामीलाई बस्ने ठाउँ नभएको र सानो गल्लीमा धेरै भिडभाड अन्त्य गर्न प्रतिक्षालय, विमा र सामाजिक सेवा लिन विरामीहरु अर्को भवनमा जाने समस्या समाधान गर्न टिकट काउण्टर नजिकै वीमा र सामाजिक सेवा इकाईको सेवा सञ्चालन गर्नेदेखि अस्पतालको रंगरोगन, सरसफाइमा ध्यान दिएका छौं । हाडजोर्नी, स्त्रीरोग, बालरोग लगायत विशेषज्ञ सेवा सञ्चालन, मातृ तथा शिशुको निःशुल्क औषधोपचार, आमा सुरक्षा र नवजात शिशुको परिक्षण र उपचार निःशुल्क, अस्तव्यस्त शौचालयको मर्मत तथा सरसफाईँ, कर्मचारीको विदा व्यवस्थापन लगायतका काम पनि गरेका छौं। सर्वसाधारण सेवाग्राहीले जुनकुरा महसुस गर्नुभएकै छ । तर कहीलेकाँहीँ पहुँचका आधारमा प्रकृया मिचेर आफू र आफन्तको उपचार गर्ने र निःशुल्क औषधी लगायतका सेवाको दुरुपयोग गर्ने बानी परेकाहरुले सँधैभरी त्यो सुविधा नपाउँदा व्यक्तिगत कुण्ठा पोख्ने गर्दछन।"
अस्पतालका एक्सरे, ल्याब लगायतका मेसिनहरु विग्रेको भन्ने सम्बन्धमा अध्यक्ष पाण्डेले एक्सरे नै विग्रेको नभई फिल्म प्रिण्टर विग्रेको र अस्पतालले मेसिनको आधिकारीक सप्लायर्स क्यापिटल इन्टरप्राइजेजमा पठाएर मर्मत गरेपनि अस्पतालमा ल्याएर जडान गरेपछि फेरी सम्पस्या देखिएकोले कम्पनीबाट इन्जिनियर आएर मर्मत कार्य भैरहेको तर समस्या पत्ता नलागेको कारण सेवा सञ्चालन हुन ढिलाई भएको जनाएका छन्। एक्सरे नै विग्रेको नभई फिल्म प्रिण्ट गर्ने मेसिन मात्र विग्रेकोले इमर्जेन्सी केसहरुमा डक्टरले डिजीटल एक्सरे हेरेर उपचार गरिरहेको उल्लेख गर्दै पाण्डेले यथाशिघ्र सेवा सञ्चालन हुने गरी मर्मत कार्य भैरहेको बताएका छन् ।
त्यसैगरी थाइराइड जाँच मेसिनका सम्बन्धमा अस्पतालमा लामो समयदेखि विद्युत आपूर्तीको समस्याका कारण बीचबीचमा काम गर्ने/नगर्ने भैरहेको र अहिले विद्युत आपूर्ति सहज भैसकेपछि पनि मेसिनमा समस्या देखिएको कारण सप्लायर्स लुम्बिनी सर्जिकेमबाट प्राविधिकहरु आएर मर्मत गरिरहेको अस्पतालले जनाएको छ ।
त्यसैगरी अस्पतालमा हालसम्म आइसीयु सेवा सञ्चालन नभएको र सरकारको माथिल्लो निकायबाट आवस्यक जनशक्ति उपलब्ध गराएमा आईसीयु सेवा सञ्चालन गर्न सम्बन्धित निकायमा पहल भैरहेको उनको भनाई छ ।
अध्यक्ष पाण्डेको खण्डन *



*(यसअघि प्रकाशित खण्डनमा अस्पतालको आधिकारिक 'लेटर हेड' सहितको खण्डन नराखिएकोमा अस्पतालका अध्यक्ष पाण्डेयको अनुरोधमा 'लेटर हेड' सहित खण्डन जस्ताको तस्तै प्रकाशित गरिएकोछ । - सम्पादक )
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology