देवदह । भोलिदेखि देवदह नगर अस्पतालमा स्वास्थ्य विमा प्रथम सेवा विन्दु (स्वास्थ्य विमाको रिफर सेन्टर) को सुरूवात हुनेभएको छ। एक कार्यक्रममा बोल्दै नगर प्रमुख धुर्व प्रसाद खरेलले भोलिदेखि नगर अस्पतालले स्वास्थ्य विमाको रिफर सेन्टरको रूपमा काम गर्ने बताए।
बिहान १०:३० बजे एक कार्यक्रमकाबीच सेवा सुरू गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ।
असोज १० गते उद्घाटन भएको अस्पतालमा १० सैया रहेका छन । माघ १२ गते देवदह नगर अस्पताल र स्वास्थ्य वीमा बोर्डबीच सम्झौता भई फाल्गुन १ गतेबाट स्वास्थ्य वीमा कार्यक्रम सुरू गरिने भनिएपनि केहि हप्तापछि सेवा सुरू हुन लागेको हो।
प्रथम सेवा विन्दुको रूपमा काम गर्ने अनुमति पाएपछि नगर अस्पतालमा उपचार हुन नसकेर बाहिर अस्पताल पठाईएका विरामीले समेत ती अस्पतालमा प्राप्त स्वास्थ्य बिमाले कभर गर्ने सुविधा निशुल्क प्रयोग गर्न पाउनेछन।
वीमा कार्यक्रम अन्तर्गत ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र ११ सय ३३ थरिका औषधि निःशुल्क पाउने व्यवस्था छ ।
देवदह नगरपालिकाले नगर क्षेत्रमा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई निशुल्क स्वास्थ्य विमा गरिदिने भएको छ। नगरपालिकाको नगरसभाले स्वास्थ्य स्वयंसेविकालाई निशुल्क स्वास्थ्य विमा गरिदिने निर्णय गरेकोले नगर अस्पतालमा प्रथम सेवा विन्दु भएको दिनदेखि नै उक्त निर्णय कार्यन्वयन गरिने नगर प्रमुख धुर्व प्रसाद खरेलले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology