देवदह । कुनै समय थियो, राजा, मन्त्री, सेना, सरकारी उच्च अधिकारी र समाजका हुनेखानेहरू घोड सवार गर्ने गर्थे । यातायातको विकास नभईसकेको अवस्थामा शक्तिशाली व्यक्तिहरूले यातायातको साधन र शोखको रूपमा घोडा पाल्ने र त्यसको प्रयोग गर्ने गरेको पाइन्छ । तर समयसंगै यातायातका आधुनिक साधनहरूको विकास भयो र हिजो प्रयोग गरिने घोडा र गधाजस्ता जनावरको पालन र प्रयोग गर्ने कार्य समाजमा विस्तारै हराउदै गयो। र, आज घोडाहरू लगभग हराईसके र एकादेशका कथामा परिणत नै हुन थालिसके भन्न पनि सकिन्छ।
तर समाजमा अहिले पनि केहि व्यक्ति छन् जो आजपनि घोडा पालन गर्छन र त्यसलाई मनोरन्जन र शोखको रूपमा विकास गर्दै त्यसको व्यवसायिक प्रयोग गरिरहेका छन् । तिनै व्यवसायी मध्येका एक हुन्, तानसेन नगरपालिका पाल्पाका ५२ वर्षीय राम बहादुर चिदी।

सानैदेखि घोडा सवार र घोडाको लालनपालनामा रुची राख्ने उनले लामो समयदेखि घोडाको व्यवसायिक प्रयोग गरि आयआर्जनको माध्यम बनाउदै आएका छन् । र, त्यसका लागि उनले उपयुक्त थलो ठान्ने गरेका छन्, विभिन्न स्थानमा लाग्ने व्यापारिक मेला, महोत्सव र प्रदर्शनीहरू ।
सोहि शिलशिलामा उनले देवदह नगरपालिका वडा नम्बर ९ स्थित देवदह मण्डपमा संचालित सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव-२०७९ मा समेत देवदह र आसपासबासीलाई घोड सवार गर्ने अवसर जुटाईदिएका छन् । महोत्सवको मुख्य स्टेजको बाँयातिर उनको स्टल छ। जहा एउटा घोडा बाधिएको छ र आवश्यक परे नजिकैको चरंगेबाट अर्को घोडा पनि ल्याउन सकिने उनी बताउछन।

घोड सवारका लागि दुई प्रकारका टिकटको व्यवस्था गरिएको छ। बच्चालाई १५० र ठुला मान्छेलाई २०० लिएर घोड सवारको अनुभव बटुल्न सकिने व्यवस्था महोत्सवमा मिलाईएको छ ।
दैनिक ५५ देखि ६० जनाले घोड सवार गरेको बताउदै राम बहादुर चिदीले व्यवसायबाट राम्रै आम्दानी भएको बताउछन । महोत्सवस्थलमा संचारकर्मीसंग कुरा गर्दै चिदिले भने, "व्यवसाय ठिकै छ, दैनिक ५५-६० जनाले घोडा चढ्नुहुन्छ, दिनको ८-१० हजार कमाई भैराखेको छ।"
घोडाको मुख्य खाना चना र घाँस भएको बताउदै उनी एउटा घोडाले दैनिक २५० देखि ३०० सम्मको दानापानी खाने बताउछन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology