Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सव

देवदहको आकाशमुनि माटो, सपना र संस्कृतिको उत्सव

देवदहको आकाशमुनि माटो, सपना र संस्कृतिको उत्सव

images
  • देवदहको आकाशमुनि माटो, सपना र संस्कृतिको उत्सव
    images
    images

    देवदह । देवदहको आकाशमुनि अहिले केवल महोत्सव मात्र चलेको छैन, यहाँ माटोको सुगन्ध, संस्कृतिको गर्व र भविष्यको सपना एकसाथ बाँडिएको छ । दशौँ देवदह महोत्सवले किसानको पसिना, स्थानीय व्यवसायीको सपना, विद्यार्थीहरुको सिर्जना र कलाकारको कला-गलालाई एउटै रंगमा रंगाइदिएको छ ।

    images
    images
    images

    महोत्सव परिसरभित्र २२० भन्दा बढी स्टल रहेका छन् । जहाँ कृषि स्टल मात्र ९ वटा छन् । स्थानीय व्यवसायीको लागि २७ वटा स्टल निशुल्क उपलब्ध गराइएको छ भने मेलामा ५१ वटा स्थानीय स्टल रहेका छन् ।

    images
    images
    images

    यसरी हेर्दा स्थानीय उत्पादनको बजारीकरणको लागि आयोजक संस्था उद्योग व्यापार संघ देवदहले ठूलो लगानी गरेको छ । देवदह बाहिरका व्यवसायीलाई प्रति स्टल १५ देखि २० हजार रुपैयाँसम्ममा विक्री गरेको आयोजकले स्थानीय उद्यमीहरुलाई २७ वटा स्टल निशुल्क उपलब्ध गराएरको छ । जसको मूल्य न्युनतम ४ लाख हुन आउँछ ।  प्रतिशतमा हेर्दा टोटल स्टलको १२ प्रतिशत स्टल स्थानीय उत्पादन र व्यवसायको प्रवर्धन र बजारीकरणको लागि निशुल्क प्रदान गरिएको छ भने २३ प्रतिशत स्टलमा स्थानीयले व्यवसाय गरेका छन् ।

    images
    images
    images

    मेला मूल आयोजक समिति संयोजक गणेश कुमार खाती मेलाको उद्धेश्य नै स्थानीय उत्पादन र सेवाको प्रवर्धन गर्नु रहेको बताउँछन् । 'हामीले जस त पाइरहेका छैनौं, मेलाले के दियो भन्ने तप्का पनि भेटेका छौं तर १४ दिन मेला संचालन गर्दा हामीले कम्तिमा २० लाख रुपैयाँभन्दा बढी लगानी यहाँको उद्यम, पर्यटन र युवा विद्यार्थीको प्रतिभा प्रस्फुटनको क्षेत्रमा लगानी गरेका हुन्छौं ।' संयोजक खातीले भने, 'यसको अर्थ हामीले सबै गर्यौं भन्ने होइन, अझै गर्नुपर्ने धेरै काम बाँकी नै छन् । विस्तारै मेलाको स्वरुपलाई परिस्कृत गर्दै लैजानुपर्छ । महोत्सव आवश्यक छ ।'

    मेलाका स्टल व्यवस्थापन उपसमिति संयोजक अमृत बहादुर फुल्लेल महोत्सवको गेट नजिकैका स्टल सबैभन्दा महँगो बिक्ने भएपनि स्थानीयहरुको लागि निशुल्क रुपमा उपलब्ध गराइएको बताउँछन् । 'नाफा हाम्रो सरोकारको विषय होइन, उद्यम प्रवर्धन र स्थानीय उत्पादनको बजारीकरण हाम्रो प्राथमिकता हो । त्यो हामीले व्यावहारिक रुपमा पुष्टि गरेका छौं ।'

    सांस्कृतिक खानासहितका होटल

    महोत्सवमा १६ वटा होटलहरु पाहुनाको स्वागतमा तम्तयार छन् । जसमा थारु, गुरुङ र मगर समुदायका सांस्कृतिक खाना र परिकार सर्वाधिक लोकप्रिय छन् । महोत्सवमा हिमाली कल्चरल फुड नामक होटल संचालन गरिरहेका सनु थापा बटुक, घोंगी, सेल, चुकौनी लगायतका खानाका परिकार दर्शको रोजाईमा परेको बताउँछन् ।

    महोत्सवमा स्टेजको छेउमा रहेको गुरुङ खाजा घर अर्को आकर्षणको केन्द्र बनेको छ । खरले छाएको चिटिक्क परेको घरमा गुरुङ समुदायले बनाएका परिकार खाँदै महोत्सवको मज्जा लिने मौका देवदहमा मात्रै रहेको मेलाका अतिथि सत्कार उपसमिति संयोजक जीत कुमारी रानाको भनाइ छ । 

    थारु, गुरुङ र मगर समुदायका सांस्कृतिक खाजा घरहरूमा परम्पराको स्वाद मात्र होइन, पुस्तौँदेखिको पहिचान समेत  पाइन्छ।

    विद्यार्थीको उद्यम सपना

    भनिन्छ, सपनाभन्दा सुन्दर संसारमा केही पनि छैन । जो कोहिले देख्ने सपना र त्यसको लागि गर्ने अनवरत संघर्ष सुन्दरताको सबैभन्दा गतिलो उदाहरण हो । अझै त्यही सपना स्कुले बालबालिकाले देख्दैछन् र विद्यार्थीका कलिला हातले उत्पादनको उडान भर्दैछन् भने त्योभन्दा सुन्दर चिज के होला ? सायद सुनमा सुगन्ध भनेको यही होला ।

    देवदह महोत्सवमा विद्यार्थीले उत्पादन गरेका च्याउदेखि मैनसम्म सबै दर्शकका आखाँमा अमिट छाप छोड्न सफल हुने मेलाका प्रचार प्रसार संयोजक विष्णु पोखरेल बताउँछन् । 'सामान्य आखाँले हेर्दा स्टलमा केही समान लिएर विद्यार्थी बसिरहेका छन् । आफ्ना उत्पादनको बारेमा मेला अवलोकन गर्न आएका दर्शकलाई देखाइरहेका छन् । तर मनको आखाँले हेर्दा भविष्यका राष्ट्रियस्तरका उद्यमीहरु बर्तमानलाई सुदुरभविष्यको नक्सा देखिरहेका छन् ।' आफुले युवा-विद्यार्थीका क्रियाकलापलाई नजिकबाट नियालिरहेको बताउँदै संयोजक पोखरेल भन्छन्, 'बालबालिकामा सपनाको खडेरी नलागोस् भन्नेमा सबै सजग हुन जरुरी छन् । विद्यार्थीलाई सपना देखाउनु र उनीहरुका सपनालाई मलजल गर्नु यस्ता महोत्सवको पहिलो कर्तव्य हो ।'

    वनको अचानो, थाकलका समान, खुदोदेखि कुरौनीसम्म

    मेलामा शिवालय सामुदायिक वनले अचानो बेचिरहेको छ । कुसुमको काठबाट बनेका अचानो बेच्न वनलाई भ्याइनभ्याइ छ । १५० देखि १६ सय रुपैयाँसम्मका १५० थान अचानो मेलास्थलबाट वनले विक्री गरिरहेको छ । 

    यता आदिवासी जनजाति महासंघ देवदहले उत्पादन गरेका थाकल तथा बासबाट बनेका सामग्री देवदह महोत्सवका आकर्षण हुन् । स्थानीय कच्चा पदार्थको प्रयोग गरी हरित व्यवसाय संचालन गर्न सकिने सन्देश दिएका छन् ।  

    आफ्नै आखाँ अगाडि तयार गरिएको खुदो र कुरौनी चाख्ने अवसर देवदह मेलाले दिएको छ । परम्परादेखि आधुनिक प्रविधिसम्मलाई एउटै धागोमा बाध्ने प्रयत्न गरिएको आयोजकको भनाइ छ ।   

    ५९ जना कृषकका उत्कृष्ट उपज

    देवदहको माटो कति उर्वर छ भन्ने बुझ्न देवदह महोत्सव पुग्नुपर्ने मेलाका कृषि उपसमिति संयोजक यमलाल तिवारी बताउँछन् । 'देवदह र आसपास क्षेत्रका ५९ जना कृषकले उत्पादन गरेका उत्कृष्ट उत्पादन हामीले मेलामा प्रदर्शन गरेका छौं ।'  तिवारी भन्छन्, 'हामीले सबै उत्कृष्ट  कृषकलाई नगदसहित सम्मान समेत गरेका छौं ।'

    महोत्सवमा टमाटर, गोपी, भेन्टा, मुला, च्याउ, लसुन, मेवा, निपियर घाँस, दुध घाँस, पिडालु, नरिवल झोप्पा, लौरे सिमि, गड्यौला मल, मकैको बोट, फर्सी, लहरे भ्याकुर लगायतका कृषि उपज प्रदर्शन गरिएको छ । जसको समन्वय देवदह नगरपालिकाको कृषि शाखाले गरेको छ ।

    विज्ञान प्रदर्शनीमा समृद्ध शहरको सपना

    विद्यार्थीले वर्षभरि पढेका विज्ञान र प्रविधिका कुरालाई व्यवहारमा उतारेर देखाउने प्लेटफर्म बनेको छ - देवदह महोत्सव । देवदहमा रहेका विद्यालयहरूले हरेक वर्ष हुने महोत्सवमा सहभागी भएर विज्ञान प्रदर्शनी गर्ने गरेका छन् ।

    प्रथम महोत्सवदेखि दशौँसम्म आइपुग्दा हरेक वर्ष महोत्सवमा विज्ञान प्रदर्शनी हुने गरेका छन् । यहाँ रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीले आफुले सिकेका विज्ञान र प्रविधिलाई व्यवहारमा उतारेर हजारौं दर्शकलाई एकैसाथ देखाउन उनीहरूले महोत्सव नै कुर्नुपर्छ ।

    हरेक वर्ष महोत्सवमा हुने विज्ञान प्रदर्शनीमा सहभागी हुँदै आएको सगरमाथा आवासिय माध्यमिक विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेल महोत्सवमा हुने विज्ञान प्रदर्शनीले विद्यार्थीलाई निकै प्रोत्साहन हुने बताउछन् । प्राचार्य पौडेल भन्छन्, "विद्यार्थीले आफुले सिकेको कुरा देखाउन चाहान्छ, त्यो पनि सकेसम्म धेरैभन्दा धेरै मान्छेले आफुले बनाएको प्रविधि हेरिदिओस भन्ने चाहाना उनीहरूमा हुन्छ र महोत्सव त्यो प्लेटफर्म बन्दै आएको छ ।"

    महोत्सवका विज्ञान प्रदर्शनी संयोजक चुराबहादुर थापाले  विद्यार्थीले आफुले सिकेका ज्ञान-विज्ञान र प्रविधिकोबारेमा सबै देवदहवासीलाई विभिन्न प्रोजेक्ट मार्फत देखाउन सकुन् भनेर मेलामा विज्ञान प्रदर्शनी राखिएको उल्लेख गर्दै विद्यार्थीले आफ्ना प्रोजेक्टमा विज्ञान र प्रविधिको मात्र नभएर समृद्ध शहरको सपना देखाएको बताए ।

    'मैले पनि विज्ञान प्रदर्शनी अवलोकन गरें र विद्यार्थीहरूसँग पनि कुरा गरें' संयोजक थापाले भने, 'विद्यार्थीहरूको प्रोजेक्टमा सपना देखिन्छ, हामी हाम्रो गाउँ-समाज र देश समृद्ध बनाउन सकिन्छ र यसरी बनाइन्छ भन्ने प्रोजेक्ट नै बनाएर उनीहरूले प्रस्तुत गरेका छन् ।'

    पर्यटन गोष्ठी र देवदह महोत्सव

    बुद्ध मावली देवदहमा पर्यटनको सम्भावनाको कुरा सबै तिर हुन्छ ।  तर एउटा साझा मन्चमा सबै सरोकारवालालाई राखेर पर्यटकीय सम्भावनाको बहस गर्न देवदह महोत्सव नै कुर्नुपर्छ । हरेकवर्ष देवदह महोत्सवमा हुने पर्यटन गोष्ठीमा पर्यटकीय सम्भावनाको चर्चा गरिन्छ ।

    पहिलो महोत्सवमा आयोजित पर्यटन गोष्ठीमा काष्ठकलाको चर्चा भएपछि ड्रिम देवदहका अध्यक्ष सिद्धिचरण भट्टराईको पहलमा बुद्ध सामुदायिक वनमा काष्ठकला निर्माण भएको पहिलोपटक मेला संचालन गर्ने गोविन्द ठडराई बताउँछन् । त्यसैगरी देवदह महोत्सवकै कारण पाकरी वृक्ष अहिले देवदहलाई चिनाउने महत्वपूर्ण माध्यम भएको उनको भनाई छ ।

    महोत्सवले युवा विद्यार्थीमा रहेको कला र गला प्रस्फुटनका लागि हरेक वर्ष सिङ्गिङ र डान्सिङ आइडल गर्दै आएको छ । जसमा आयोजकले तीन लाखको हाराहारीमा लगानी गर्ने मेलाका सांस्कृतिक संयोजक गोविन्द बहादुर ठडराई बताउँछन् । 'आइडलमा महोत्सवको राम्रै लगानी हुन्छ तर हामीले कति लगानी गर्छौं भन्ने विषय हाम्रो लागि प्रधान होइन ।' ठडराई भन्छन्, 'हामीले उत्पादन गरेका कलाकार राष्ट्रियस्तरका कलाकार बनेका छन् हामी त्यसैमा खुसी छौं ।'

    बाल उद्यानमा रमाइरहेका बालबालिकाको खुसी र  राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिमा झुमिरहेका युवा तथा जेष्ठ नागरिकमा देखिएको सन्तुष्टि देवदह महोत्सवको मूल्य तिरेर खरिद गर्न नसकिने सम्पत्ति हुन् ।

    एक दशकको यात्रा तय गर्दैगर्दा देवदह महोत्सव अब परिपक्क बन्दैछ । सबैतिरका महोत्सवमा देखिने केही बेथिति देवदह महोत्सवमा पनि देखिएका छन् । त्यसलाई हटाउँदै मेलालाई अझै परिस्कृत गर्न सकिने ठाउँहरु छन् । आयोजकको सुझबुझ र सरोकारवाला सबैको सहयोगले मात्र यस्ता मेला महोत्सवहरु अझै व्यवस्थित र साझा मन्च बन्न सक्छन । देवदह महोत्सव नाम जस्तै देवदह र आसपासबासीको महा-उत्सव बन्न सक्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।