देवदह । देवदह महोत्सवमा पहिलो पटक चर्चित गायक प्रमोद खरेल र उनी नेतृत्वको परम्परा ब्याण्डले प्रस्तुति दिएका छन् । दशौँ देवदह महोत्सवमा गायक खरेल र उनको टिमले सशक्त प्रस्तुति दिएको मेला मूल आयोजक समिति संयोजक गणेशकुमार खातीले बताए ।
'प्रमोद खरेलको प्रस्तुति हेर्न महोत्सवमा लागेको दर्शकको घुइँचोले हामी सबै उत्साहित छौं । खरेल र परम्परा ब्याण्डले आफ्नो लोकप्रिय गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाएका छन्,' संयोजक खातीले भने ।
महोत्सवका सांस्कृतिक संयोजक गोविन्द ठडराईले देवदहवासी दर्शकले प्रमोद खरेल र परम्परा ब्याण्डको प्रस्तुति अत्यन्तै मन पराएको बताए । प्रमोद खरेलजस्ता दिग्गज कलाकार र उनको प्रसिद्ध व्याण्डलाई पहिलो पटक महोत्सवमा ल्याउन पाउनु हाम्रो लागि गर्वको विषय हो,' उनले भने ।
शनिवार १० हजार दर्शकले मेला अवलोकन गरेको टिकट व्यवस्थापन उपसमिति संयोजक गङ्गा विकले जानकारी दिए । देवदह मात्र नभई सुनवल र बुटवलबाट समेत दर्शकहरू महोत्सव अवलोकन गर्न आएको उनको भनाइ छ ।
शनिवार राष्ट्रिय कलाकार तेजु अर्याललगायतले महोत्सवमा प्रस्तुति दिएका थिए ।
आइतवार लोकप्रिय गायक प्रकाश दुतराज लगायतका कलाकारको प्रस्तुति रहने मेलाका प्रचार-प्रसार संयोजक विष्णु पोखरेलले जानकारी दिए ।
महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुने क्रममा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै स्थानबाट उजागर गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शनी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोनलगायत कार्यक्रमहरू समावेश छन् । २५० स्टल रहेको महोत्सवबाट १० करोड रुपैयाँभन्दा बढी कारोबार हुने अपेक्षा गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology