देवदह । रुपन्देहीको देवदहमा जारी दशौँ देवदह महोत्सवको एक होटलमा लुकाइछिपाइ राखिएको मदिरा बरामद गरिएको छ । आयोजक र खैरेनी प्रहरी चौकीको संयुक्त अनुगमनका क्रममा मदिराजन्य पदार्थ फेला परेपछि नियन्त्रणमा लिइएको जनाइएको छ ।
मेलाका अनुगमन उपसमिति संयोजक परशुराम कंडेलले शुक्रवार अनुगमनका क्रममा मेला परिसरभित्र लुकाइछिपाइ राखिएको मदिरा फेला पारेपछि नियन्त्रणमा लिइएको बताए । अनुगमनका क्रममा ४५ थान अर्ना बियर, ४८ थान गोर्खा बियर तथा विभिन्न ब्रान्डका ४९ थान मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
मेलामा मदिरा सेवन तथा बिक्री निषेध गरिएको भए पनि केही होटेलहरुले नियम उल्लङ्घन गर्दै मदिरा भित्र्याएको पाइएपछि बरामद गरिएको आयोजकले जनाएको छ।
मेलालाई सभ्य, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजक समिति पूर्ण रूपमा सक्रिय रहेको र मदिराजन्य पदार्थ तथा अन्य विकृतिजन्य गतिविधिलाई पूर्ण रूपमा निषेध गरिएको मेलाको सुरक्षा समिति संयोजक गणेश विकले जानकारी दिए।
माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु¥याउँदै आएको आयोजकको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology