हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका-२ भैँसेस्थित प्रहरी चेकपोस्टबाट कारको डिकीमा लुकाएर ल्याइएको ११७ किलो ९१० ग्राम गाँजा बरामद भएको छ। गाँजा बरामद भए पनि कार चालक फरार भएका छन् ।
प्रहरीका अनुसार गएराति पालुङबाट भैँसेतर्फ आउँदै गरेको बा.बा. ४४३१ नम्बरको कारलाई नियमित जाँचका क्रममा रोकिएको थियो । चेकजाँचका क्रममा चालकले कारको डिकीमा केही नभएको बताएपछि उनी भागेका थिए ।
त्यसपछि कारको डिकी खोलेर जाँच गर्दा साना-ठूला गरी गाँजाका नौवटा पोका फेला परेका थिए। तौल गर्दा उक्त गाँजा ११७ किलो ९१० ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
फरार चालकको खोजी भइरहेको छ । बरामद कार र गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology