देवदह । रोटरी क्लब अफ देवदहले युग ज्योति माध्यमिक विद्यालय देवदह ६ मा शनिबार बृहत् निःशुल्क आँखा शिविर गरेको छ । जसबाट स्थानीय २३४ जनाले निशुल्क आँखा परिक्षण गराएका छन् ।
शिविरमा सहभागीहरूको निःशुल्क आँखा परीक्षण तथा चिकित्सकीय परामर्श गरिएको थियो । साथै आवश्यकताअनुसार विपन्न तथा असहाय व्यक्तिहरूका लागि निःशुल्क चस्मा र औषधिको व्यवस्था मिलाइएको क्लवका अध्यक्ष नारायण भण्डारीले जानकारी दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु न्यौपानेले रोटरी क्लब अफ देवदहले विद्यालय तथा समुदायलाई लक्षित गरी सञ्चालन गरेको स्वास्थ्य सेवामूलक कार्यक्रमप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमले समुदायका नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने धारणा राखे । अध्यक्ष न्यौपानेले आगामी दिनमा पनि विद्यालय र रोटरी क्लबबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
क्लवले समुदायको स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि समुदायको आवश्यकता पहिचान गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्लबका अध्यक्ष भण्डारीले बताए ।
‘स्वस्थ आँखा, उज्ज्वल भविष्य’ भन्ने भावनाका साथ आयोजित उक्त शिविरले आर्थिक तथा अन्य कारणले नियमित आँखा परीक्षण गराउन नसक्ने समुदायका नागरिकलाई विशेष लाभ पुगेको आयोजकले जनाएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यमलाल अर्याल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षकहरू तथा रोटरी क्लब अफ देवदहका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
श्री कृष्ण दाँत तथा आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा भएको शिविर डा. कृष्ण गैरेको स्वगत र सचिव रामचन्द्र उपाध्यायको सञ्चालनमा सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology