बुटवल । लुम्बिनी प्रदेश सरकारका पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।
पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार जना र जसपाबाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहेका छन् ।
जसमा तुलसी प्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
जसपाबाट मन्त्री बनाइएकोमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भने आपत्ति जनाएको छ । सर्वोच्च अदालतले समेत जसपा नेपाललाई मान्यता दिएको अवस्थामा मुख्यमन्त्रीले आफ्ना सांसदलाई मन्त्री बनाएको भन्दै आपत्ति जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology