देवदह । देवदह व्यापार संघले नयाँ वर्ष २०८३ को भित्तेपात्रो विमोचन गरेको छ । बिहिवार एक कार्यक्रम बीच भित्तेपात्रो विमोचनसंगै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको संघले जनाएको छ ।
भित्तेपात्रो विमोचन गर्दै देवदह नगरपालिकाका प्रवक्ता तथा देवदह वडा नं ५ का अध्यक्ष गणेश डुम्रेले समयको महत्वबारे प्रकाश पारे । साना–साना कामबाट नै ठूलो सफलता हासिल गर्न सकिने उल्लेख गर्दै प्रवक्ता डुम्रेले वर्षभरि गरिएका कार्यको समीक्षा गर्दै नयाँ वर्षका लागि स्पष्ट योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं २ का वडा अध्यक्ष दल बहादुर राकस्कोटी, नेकपा एमाले नगर अध्यक्ष केशव भट्टराई, नेपाली कम्युनिष्ट पार्टीका नगर संयोजक दीपक न्यौपाने, संस्थाका निवर्तमान अध्यक्ष कोष बहादुर गुरुङ लगायतले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै व्यापार व्यवसायलाई व्यवस्थित र दिगो बनाउन सामूहिक प्रयास आवश्यक रहेको धारणा राखे ।
संघका अध्यक्ष माधव प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिलाल भण्डारीले स्वागत तथा सचिव राम बहादुर गुरुङको संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology