अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसदबाट पारित गर्ने विषयमा अमेरिकी मन्त्रीले नेपालका शीर्ष नेताहरूलाई फोनमा कुराकानी गरेका छन्।
अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई छुट्टाछुट्टै फोन गरेका हुन्।
बिहीबार बिहान ९ प्रधानमन्त्री देउवासँग भएको टेलिफोन कुराकानीमा सहायक मन्त्री लुले देउवा र प्रचण्डले लिखित प्रतिवद्धता जनाएअनुसार फेब्रुअरी अन्तसम्म संसदबाट एमसिसी पारित हुनुपर्ने नभए फिर्ता जाने बताएका थिए।
स्रोतका अनुसार जवाफमा प्रधानमन्त्री देउवाले आफ्नो दल नेपाली कांग्रेस एमसिसी पारित गर्न प्रतिवद्ध रहेको र आफूले गठबन्धनका अरू नेताहरूसँग पनि मनाउन प्रयास गरिरहेको बताए।
ओली र प्रचण्डसँग पनि लुले आजै कुरा गरेका थिए। दुबै नेतालाई लुले एमसिसी पारित गरेर दुई देशबीच भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए।
एमाले अध्यक्ष ओलीले भने आफूहरू प्रतिपक्षमा भएकाले यो सम्झौता पास गर्ने कुरा सरकारको विषय भएको जवाफ दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology