बोल्नेहरुले
केही भन्छन्न् होला भन्ने थियो
कान भएकाहरुले पनि सुनेनन्
हातहरुले खै लेख्नै रुचाएनन्
एउटा आवाज
गहिरो सँग हृदयमा
गढेको छ मालिक साप
म सुन्न सक्छु, देख्दछु
र अनुभुत गर्छु
तर तपाईं जस्तै हुन सकिन
अर्थात तपाईं हुन सकिन
के गर्नुहुन्छ मालिक साप अब मलाई
भो पागल भनिदिनुस्!
दुध चढाउन
मन्दिर पुग्ने
यात्राहरु कम्ता कठिन थिएनन्
भिडबाट मूर्ति छोएर
फर्किएका आँखाहरुले
मन्दिर अगाडि मागिरहेका
हातहरु पनि देखेका हुन !
मैले
देखेको छु मालिक साप
सडक छेउमा भोकको बिस्कुन ओछ्याएर
सयौँ हृदयले तपाईंलाई तपाईं बनाएका हुन
अझ गहिरो गरि भनु!
फुटपातमा सामान बेचेर
जीवनको चहकिलो
दिन खोज्नेहरुले तिमीबाट
तपाईँ बनाएका हुन्
मालिक साप बनाएका हुन
अर्थात ठेकदार साप बनाएका हुन्!
बाटो बनाएर सकिएकै दिन
सयौँ किलाको माला
तपाईंको गलामा नपुग्दै
बाटो भत्किएको हो
गलामा माला भिर्ने दिनसम्म
नटिक्ने बाटोमा
तपाईंका छोरा छोरी पनि हिँड्छन् नि है?
मालिक साप
के गर्नुहुन्छ तपाईँका छोरा छोरी हिँड्ने बाटो?
भो अब त
यी आँखाहरुलाई पनि
पागल भनिदिनुस्!
मालिक साप
तपाईंले पठाएका
नौजवानहरु मरुभूमि पसेका हुन
गण्डकी र मर्स्याङ्दी आँखामा बोकेर
जीवनको चहकिलो दिन खोजीरहेका
नौजवानहरु भत्किए भने
के भन्नुहुन्छ?
उनिहरुलाई पनि पागल भनिदिनुस्!
मालिक साप
खोलाको बगरमा
एउटा नौजवानको सपना
लडेको छ
उसलाई पनि पागल भएर लड्यो भनिदिनुस्!
बलात्कार भएकी छोरीको
न्याय खोज्ने आमालाई अब के भन्नुहुन्छ?
भो उनलाई पनि पागल भएकी हुन् भनिदिनुस्!
मालिक साप
म तपाईंलाई
भोट हाल्न आएको हो!
घर बगाएको छ, सँगै सपना पनि !
मलाई किन नमस्कार गरेर
लज्जित बनाउनुहुन्छ !
बनाईदिनुहुन्छ र बगाएको घर?
भो पागल भएछ यो भनिदिनुस्!
एउटा कुरा सोधुँ
मालिक साप
रिसानी माफ होस्
नढाँटी भन्नुस् है
तपाईंलाई त
कसैले पागल भनेको छैन नि है??
✍️ महेश्वर शर्मा
अनेसास केन्द्रीय सदस्य
देवदह, रुपन्देही
हाल : सिड्नी,अष्ट्रेलिया
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology