देवदह । ग्रिन प्लान्ट आवासीय मावि देवदह-७ मा राष्ट्रिय सेवा दल ( एनसिसि) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी र अभिभावकको उपस्थितिमा श्री तारादल गण रामनगर बुटवलका सेनानी अनिशा केसीले कार्यक्रमको सहजीकरण गरेकी हुन् ।
विद्यालयका प्रवन्ध निर्देशक एकनारायण काफ्लेको अध्यक्षतामा भएको अभिमुखीकरणमा सहजकर्ता केसीले कक्षा ८देखी १२ सम्मका विद्यार्थीहरुले एनसिसि मा सहभागिता जनाउन सक्ने बताइन् ।
उनले विद्यार्थीका लागि एक सय दिनसम्म तालिम सञ्चालन गरिने बताउँदै ७९ दिन विद्यालयमै तालिम हुने र २१ दिन अन्य विद्यालयका विद्यार्थी (क्याडर)हरुलाई समेत समावेश गरेर सामुहिक तालिम सञ्चालन गरिने जानकारी दिईन् ।
‘७७ वटै जिल्लामा लागू भएको एनसिसि कार्यक्रम सिनियर डिभिजन र जुनियर डिभिजन गरी २ क्याटागोरीमा सञ्चालन हुन्छ । नेपाल सरकारको मातहतमा रहेको यो कार्यक्रमको तालिम सञ्चालनको जिम्मेवारी नेपाली सेनालाइ दिइएको छ ।’ उनले भनिन्, ‘क्याडर बिद्यार्थीहरुलाई विद्यालयमा ७९ दिन शारीरिक तालिम, अधारभुत शैनिक कला, विपद् व्यवस्थापन तालिम प्रदान गरिनेछ भने २१ दिन साहसिक तालिमसँगै उनीहरुको मुल्याङ्कन समेत गरिनेछ ।’
नेपालमा २०२२ सालमा स्थापना भइ २०२४ सालबाट सुरु भएको एनसिसिमा सात हजार ७०४ जना भन्दा बढी बार्षिक रुपमा दिक्षित हुने गरेको बताउँदै उनले हालसम्म ८२ हजार १८४ जना क्याडर दिक्षित भैसकेको अभिमुखीकरणको अवसरमा जानकारी दिईन् ।
सेनाको हेडक्वाटरमा मुख्यालय रहेको एनसिसिले ४ वटा शिक्षालय मार्फत देशभर कार्यक्रम सञ्चालन गर्नेगर्छ । जसको उद्धेश्य राष्ट्रिय हितप्रति समर्पित अनुशासित र वफादार युवा जनशक्ती तयार गर्नु हो । जसबाट युवा वर्गमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि हुने र त्यस्ता युवा असल नागरिकको रुपमा स्थापित भई राष्ट्र विकासमा सहकार्य गर्ने कार्यक्रमको लक्ष्य रहेको उनले बताईन् ।
राष्ट्रलाई संकट र प्रकोपका बेला नेपाली सेनाको मातहतमा रहेर काम गर्ने एनसिसिमा सिनियर डिभिजन अन्तर्गत कक्षा ११ र १२ मा अध्यनरत छात्रछात्रा रहनेछन् भने जुनियर डिभिजन अन्तर्गत कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थी समावेश हुनेछन् । छात्र र छात्रा गरी कुल ३० जना विद्यार्थी कार्यक्रममा सहभागी हुने उनले बताईन् । कार्यक्रममा उत्कृष्ट हुने क्याडरले भारत, श्रीलंका बङ्गलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, सिङ्गापुर लगाएत देशमा भ्रमणको अवसर प्राप्त हुने भएकाले तालिममा जिम्मेवार ढङ्गबाट प्रस्तुत हुन सेनानी केसीले विद्यार्थीहरुलाई सुझाव दिईन् ।
कार्यक्रममा बोल्दै वडा नम्बर–७ का अध्यक्ष कृष्णप्रसाद अधिकारीले समाज सुधारका लागि एनसिसि का क्याडरहरुले भुमिका निर्वाहगर्नुपर्ने बताए । समाजका विकृति विसङ्गतिलाइ हटाउनका लागि आफुले सिकेका कुराहरु साथीहरुलाइ पनि सिकाउनुपर्नेमा उनले जोड दिए । ‘किताबको मात्र ज्ञान भएर पुग्दैन, अब हामिले विद्यार्थीलाई समाज पढाउनुपर्नेछ ।’ उनले भने, ‘त्यो पढाइले सभ्य समाज र समुदाय निर्माणमा सहयोग पुगोस् ।’
परिवारमा बुवा आमा र बिद्यालयमा शिक्षकले मात्र आफ्नो सन्तान र विद्यार्थी आफुभन्दा जान्ने सुन्ने होस् भन्ने चाहन्छन् भन्दै उनले लगनशिलता बिना केही पनि प्राप्त हुन नसक्ने बताए । विद्यार्थीको बिचमा प्रतिस्पर्धा आवश्यक रहेको तर त्यो प्रतिस्पर्धा स्वच्छ र सकारात्मक हुनुपर्ने अध्यक्ष अधिकारीले उल्लेख गरे ।
विद्यालयका प्रिन्सिपल राजिव सापकोटाको स्वागत र शिक्षक आशिष पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology