Logo

२०८३, श्रावण २७गते


images
images

निगरानी

देवदहमा कसरी गरिंदैछ नदिजन्य पदार्थको उत्खनन, कति उठ्दैछ राजश्व ?

देवदहमा कसरी गरिंदैछ नदिजन्य पदार्थको उत्खनन, कति उठ्दैछ राजश्व ?

images
  • देवदहमा कसरी गरिंदैछ नदिजन्य पदार्थको उत्खनन, कति उठ्दैछ राजश्व ?
    images
    images

    देवदह । देवदह नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि नगरभित्र रहेका नदीजन्य पदार्थ संकलन क्षेत्रहरू ठेक्कामा लगाएको छ । जम्मा १६ वटा ठेक्का आह्वान गरेकोमा पाँच वटामा कुनै पनि प्रस्ताव प्राप्त नभएको, दुई वटा ठेक्काको काम सकिइसकेको र ९ वटा ठेक्कामा उत्खननको काम भइरहेको नगरपालिकाले जनाएको छ ।

    images
    images
    images

    चालु आर्थिक वर्षमा २५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले १५ करोडको हाराहारीमा नदिजन्य पदार्थबाट राजश्व संकलन गर्ने योजना बनाएको थियो । पछिल्लो अध्ययन अनुसार चुरे क्षेत्रको लागि राष्ट्रपति चुरे संरक्षण समितिले दिएको अनुमति र वातावरणिय प्रभाव मुल्यांकनको आधारमा पनि १३ करोडसम्मको राजश्व नदिजन्य पदार्थबाट उठ्ने आंकलन थियो । तर अपेक्षा गरिए अनुसार प्रस्ताव प्राप्त नभएपछि राजश्व संकलनमा धक्का लाग्ने देखिएको छ । 

    images
    images
    images

    नगर प्रमुख ध्रुवप्रसाद खरेलले केही खण्ड ठेक्का नलाग्दा अपेक्षा अनुसार राजश्व संकलन गर्न कठिन भएको बताए । "१३ करोडसम्म संकलन गर्न सकिने अवस्था छ तर केही क्षेत्रहरु ठेक्कामा गएनन् ।"  नगरप्रमुख खरेलले भने, "ठेक्कामा नगएकामध्ये केही खण्डहरू गौरवका आयोजनालाई दिने निर्णय भएको छ ।"

    images
    images
    images

    नगर प्रमुख खरेलले भस्कटको रेट महँगो भएकोले ठेक्कामा नगएको पाइएकोले आउने नगरसभामा त्यसलाई संशोधन गर्नुपर्ने देखिएको बताए । 

    ठेक्कामा गएका मध्ये घोडाहा खोला देवदह ८ र सिक्टहन खण्ड १ र २ को काम सकिएको छ । जसबाट नगरपालिकाले ६४ लाख ९९ हजार ६७८ रुपैयाँ राजश्व संकलन गरेको छ । 

    त्यसैगरी ठेक्कामा गएर हाल उत्खनन भैरहेकामध्ये टटेरा/बसन्तपुर् (भस्कट) देवदह-३ मा एमआर रक्षा विल्डर्सले काम गरिरहेको छ । १४ लाख ४१ हजार रुपैयाँ कबोल गरेको कम्पनीले पाँच हजार एक सय घनमिटर नदिजन्य पदार्थ उत्खनन गर्नेछ । 

    ११ लाखमा ठेक्कामा गएको सिक्टहन (भस्कट) खण्ड १ र २ मा एनएस विल्डर्सले काम गरिरहेको छ । एनएसलाई ३ हजार ८६० घनफुट नदिजन्य पदार्थ उत्खननको अनुमति छ । 

    चरंगे ठाडो खोला देवदह-१० बाट ४ हजार १५५ घनमिटर नदिजन्य पदार्थ उत्खनन हुनेछ । त्यसको लागि महाजन विल्डर्सले ३५ लाख ७४ हजार ४३६ रुपैयाँमा ठेक्का लिएको छ । चरंगे बीच खोलाको ठेक्का पनि महाजनले नै लिएको छ । ४ हजार ८६० घनमिटर नदिजन्य पदार्थ उत्खनन वापत  ४४ लाख २९ हजार ७७० रुपैयाँ राजश्व महाजनले बुझाउने छ । 

    भलुही केउली खोलाको ठेक्का मुक्ति कन्ट्रक्सनले लिएको छ । ३ हजार ४४६ घनमिटर नदिजन्य पदार्थ उत्खनन वापत २५ लाख ५५ हजार ५५५ रुपैयाँ मुक्तिले बुझाउने छ  । 

    घोडाहा दाउन्ने खोला खण्ड १ देवदह-६ मा पराजुली निर्माण सेवाले ठेक्का लिएको छ । १० हजार ५०० घनमिटर उत्खनन वापत पराजुली निर्माणले ८६ लाख ९५ हजार रुपैयाँ बुझाउने कबोल गरेको छ । सोही खोलाको खण्ड २, ३, ४ देवदह-६ ड्रिम टाउन डिभलर्सले ठेक्का लिएको छ । ११ हजार ९३० घनमिटर नदिजन्य पदार्थ उत्खनन वापत यो खण्डबाट ८४ लाख ५० हजार राजश्व संकलन हुनेछ । त्यसैगरी घोडाहा दाउन्ने खोलाकै खण्ड ५, ६ र ७ बाट ९३ लाख ५० हजार राजश्व संकलन हुने छ । उक्त खण्डमा १३ हजार १२५  घनमिटर नदिजन्य पदार्थ उत्खननको जिम्मा मुक्ति कन्ट्रक्सनले लिएको छ । 

    घोडाहा सरहन खोला खण्ड ६ र ९ देवदह-६ मा न्यु सुरज निर्माण सेवाले काम गरिरहेको छ । यस क्षेत्रबाट १० हजार घनमिटर नदिजन्य पदार्थ उत्खनन हुनेछ भने ८४ लाख ३४ हजार ८४० रुपियाँ राजश्व संकलन हुनेछ । 

    प्रस्ताव पेश नभएका ठेक्का नं २, ४, ७, १० र १६ मा भलुही खोला रोहिणी खोला देवदह-१०, सिक्टहन भस्कट देवदह-२, सरदार खोला र रोहिणी ड्याम रहेका छन् । यी ठेक्काबाट ३ देखि ५ करोडसम्म राजश्व संकलन हुनसक्ने भएपनि ठेक्कामा नगएपछि वर्षा सुरु हुने समय भएको हुनाले तत्काल पुन: सूचना जारी नगर्ने तर गौरवका आयोजना आएको खण्डमा उनीहरुलाई नदिजन्य पदार्थ उत्खनन उपलब्ध गराउने निर्णय नगर कार्यपालिकाले गरेको नगरपालिका वातावरण शाखा प्रमुख इन्जिनियर रवि पाण्डेले जानकारी दिए । 

    नदिजन्य पदार्थ उत्खननको लागि देवदह नगरपालिकाले जेठ मसान्तसम्मको समय दिएको छ । तोकिएको समयभित्रै तोकिएको मात्रामा नदिजन्य पदार्थ उत्खनन गरी सक्नुपर्ने नगरपालिकाले जनाएको छ ।

    हाल उत्खनन भैरहेका क्षेत्रहरूमध्ये घोडाहा दाउन्ने खोला खण्ड २, ३, ४  तथा खण्ड ५, ६ र ७ र  घोडाहा सरहन खोला खण्ड ६ र ९ मा २/२ वटा एक्साभेटरले उत्खननको अनुमति पाएका छन भने अन्य स्थानमा एउटा मात्र एक्साभेटर प्रयोग भइरहेको नगरपालिकाले जनाएको छ । 

    रोकिएन बेथिति

    नदिजन्य पदार्थ उत्खनन, ओसारपसार र डम्पिङ्गको समस्या नयाँ होइन । उत्खननको ठेक्का लिएका कम्पनीहरुले नियमानुसार काम नगर्ने, तोकेभन्दा बढी पदार्थ निकाल्ने र अवैध डम्पिङ्ग गर्ने समस्या यो वर्ष पनि कायम छ । 

    कुन कम्पनीले कुन खण्डमा कतिवटा एक्साभेटर प्रयोग गर्ने, कतिवटा हाइवा/टिप्पर प्रयोग र कहाँ डम्पिङ्ग गर्ने भन्ने विषय नगरपालिकाले स्वीकृति दिए अनुसार हुन्छ । तर आज अनुमति दिएका गाडी विभिन्न वाहानामा भोलि चेन्ज गर्ने र रातिको समयमा समेत उत्खनन र ओसारपसार हुने गरेको नगरपालिका स्रोत नै जनाएको छ । 

    "अनुमति पाएभन्दा बढी माल निकाल्न अनेक गर्छन्, रातिमा पनि उत्खनन र ओसारपसार भएको हामीलाई सूचना छ तर रोक्न सकिएको छैन" नगरपालिका स्रोतले सेतोमसीसंग भन्यो ।

    कतिपटक अनुगमन भयो र कसरी अनुगमन गरिन्छ भन्ने प्रश्नमा वातावरण शाखा प्रमुख पाण्डेले नगर प्रमुखले नियमित अनुगमन गरिराखेको बताए । "नगर प्रमुखले अनुगमन गरिरहनु भएको छ । नगर प्रहरी परिचालित छ । प्राविधिक टिमले दिनहुँ निरीक्षण गरिरहेको छ" पाण्डेले भने । यद्यपि पत्रकारसहित नगरपालिकाको टोलीले एकीकृत अनुगमन गर्न भने नसकिएको उनले स्वीकार गरे । 

    डम्पिङ्ग गर्ने ठाउँहरु बारे नगरपालिकालाई जानकारी छ कि छैन भन्ने प्रश्नमा उनले त्यसबारे बुझ्नुपर्ने बताए । 

    स्थानीयले उत्खननको ठेक्का लिएका कम्पनीले जथाभावी डम्पिङ्ग गरिरहेको र सडक धुलाम्य हुँदा समेत सरोकारवालाले चासो नदिएको गुनासो गरेका छन् ।  नदिजन्य पदार्थ ओसारपसार गर्ने सडकमा ठेकेदार कम्पनीले नियमित पानी हाल्नुपर्ने स्थानीयको माग छ । 

    त्यसैगरी तोकिएभन्दा बढी पदार्थ निकाल्ने र शक्ति केन्द्रलाई प्रभावमा पारेर ठेकेदार कम्पनीहरूले अनियमितता गर्ने कार्यमा अझै पनि सुधार आउन नसकेको नगरवासीको गुनासो छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निगरानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।