देवदह । देवदह नगरपालिकाका विभिन्न वडाहरु अहिले आफूलाई ‘बालमैत्री’ घोषणा गर्ने दौडमा छन् । वडा–५ ले गत वर्ष बालमैत्रीको प्रमाणपत्र पाएपछि अन्य वडामा पनि अभियानको चहलपहल छ । बालमैत्री अभियानको लागि छुट्टै बजेट छुट्याइएको छ । पोस्टर टाँसिएका छन्, कार्यक्रम भइरहेका छन्, स्थानीय प्रतिनिधिहरू बालअधिकारको भाषण गरिरहेका छन् । बालमैत्री सहजकर्ताले प्रिजेन्टेसन दिइरहेका छन्। अधिकांश सूचक पुरा भएको रटान लगाउनमा जनप्रतिनिधि र कर्मचारी व्यस्त छन् ।
यही बीचमा चर्को गर्मी र धुलाम्य सडकमा एउटा परिवार हिँडिरहेको छ—बुवा समर बहादुर विक, आमा झानिसरा विक र उनीहरूको ११ वर्षीय छोरा, जसको हातमा एउटा चिर्कटो छ । त्यो चिर्कटो चन्दा माग्नका लागि बनाइएको वडा कार्यालयको पत्र हो । बालकको अनुहारमा थकान छ, शरीर दुब्लो छ, र छेउमै उभिएका बाबु-आमाका आँखा भिजेका छन् ।
पाल्पाको जल्पाबाट २०५३ सालमा देवदह ९, घोडाहामा बसाइँ सरेका समरले भारतका होटलहरूमा १० वर्ष र खाडी मुलुकमा १२ वर्ष पसिना बगाए । जिन्दगीभर आफ्ना सपना र परिवारका लागि श्रम गरे, तर आज उनले सपना हैन—छोरा बचाउने संघर्षको कथा बोकेका छन् ।
उनको पहिलो छोरीको विवाह भइसकेको छ । त्यसपछि जन्मेका दुई सन्तान उनले बचाउन सकेनन् । एउटा बच्चाले न्वारनकै दिन संसार छोड्यो भने अर्को बच्चाले एक महिना मात्र यो धर्तीमा स्वास फेर्यो । अहिलेको छोरा, जसको उमेर ११ वर्ष पुगेका छ, उनलाई फोक्सोमा गम्भीर समस्या छ । उनी दुई वर्षदेखि विद्यालयसमेत जान सकेका छैनन् ।
बुटवल र काठमाडौंका अस्पतालमा गरिएका परीक्षणपछि चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने बताएका छन् । तीन महिनाभित्र पैसा जम्मा गरेर आउनु अनि अप्रेसन गर्नुपर्छ भनेर अस्पतालले घर पठाइदिएपछि यो परिवारको आखा ओभाएको छैन । मनमोहन मेमोरियल अस्पतालका चिकित्सकले १२ देखि २२ लाख रुपैयाँसम्म अप्रेसनमा खर्च लाग्ने बताएपछि उनीहरूका लागि पीडाको पहाड थपिएको छ । आर्थिक रूपमा विपन्न यस परिवारले भैरहवा, परासी र देवदहमा जोडेका घडेरी यसअघि नै उपचारको क्रममा बेचिसकेको छ । अस्पतालले उपचारमा धेरै पैसा खर्च लाग्ने कुरा गरेपछि समर बेहोस भएर ढलेका थिए । अब उनी शारीरिक रूपमा समेत कमजोर छन् ।
आफ्नो मुटुको टुक्रालाई बचाउन उनीहरुको हारगुहार जारी छ । 'हामी छौं, हामीलाई भोट दिनुस्, हरेक सुख दुखमा साथ दिन्छौं' भनेर चुनावमा भोट मागेर निर्वाचन जितेका जनप्रतिनिधिको ढोका समेत यो परिवारले ढकढकाएको छ । समरले भने, 'नगर प्रमुखले बिमा गर्नु, बिमाले गर्छ भन्नुभयो, अरू केही गर्नु भएन ।' वडाले दिएको सिफारिसपत्र बोकेर उनीहरू सबैजसो नेताहरूका घरमा पुगेका छन्, तर निराशा मात्र हात लागेको छ । नगरपालिकाले २०–३० हजार दिने निर्णय भएको सुनेपनि आजसम्म प्राप्त नभएको समरले बताए।
उनीहरूले वडा कार्यालयले दिएको चिर्कटो (चन्दा माग्ने प्रमाणपत्र) देखाउँदै सडकछेउं र घरघरमा ५–१० रुपैयाँ मागिरहेका छन् । यसरी चन्दा माग्दा हालसम्म जम्मा ३० हजार संकलन भएको समर बताउँछन् ।
यही पीडाले सञ्चारकर्मी पवन पौडेललाई छोयो । उनले आफ्नो जन्मदिनको अवसरमा १० हजार रुपैयाँ समरको खातामा राख्दै सहयोग अभियान सुरु गरे । हालसम्म ३० जना जति यो अभियानमा जुटिसकेका छन्, र १ लाख ८० हजार संकलन भएको छ । 'एक लाख ८० हजार संकलन भएको छ । अझै केही रकम उठ्छ होला । ३ लाखसम्म पुग्यो भने बालकलाई उपचारमा पठाएर अरु संकलन गर्दै गर्नुपर्ला ।' पत्रकार पौडेलले भने, 'यो क्षेत्रको सांसद पनि दलित समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ, यो पिडामा रहेको दलित परिवारको लागि उहाँले मनमोहन मेमोरियल अस्पतालमा कुरा गरेर शल्यक्रियामा लाग्ने चिकित्सकको शुल्कमात्र सहयोग हुन सक्छ कि भन्ने छ, माननीय ज्यूसंग कुरा गर्ने सोचिरहेको छु । मेयर सा'बले पनि त्यो पहल गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।'
सबैले सहयोग नगर्ने हो भने बालकको उपचारको लागि संकलित रकम पर्याप्त छैन । बच्चा अझै अस्पताल बाहिरै छ। गर्मीमा, धुलोमा, अभावमा, उनले ‘बचाइदिनुहोस्’ भनेर दिएको स्वरले नगरको बालमैत्री नारालाई नै गिज्याइरहेको छ।
यो दृश्य हेर्ने जो–कोहीले बालमैत्री अभियान पोस्टरमा लेखिएको आदर्श र सडकको वास्तविकता बीचको खाडल महसुस गर्न सक्छ। बाल अधिकारको नाराले भरिएको शहरमा, एउटा बालक उपचार नपाएर चन्दा माग्न विवश हुँदा त्यो नाराले नै आफ्ना अक्षर गुमाइरहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology