Logo

२०८३, श्रावण २७गते


images
images

निगरानी

देवदहमा घटेनन् चोरीका घटना : सहकारीमाथि शृंखलाबद्ध हमला

देवदहमा घटेनन् चोरीका घटना : सहकारीमाथि शृंखलाबद्ध हमला

images
  • देवदहमा घटेनन् चोरीका घटना : सहकारीमाथि शृंखलाबद्ध हमला
    images
    images

    देवदह । कोलिय देवदह बचत तथा सहकारी संस्थाको घोडाहा सेवा केन्द्रमा गतराती चोरी भयो। सहकारीको झ्याल तोडेर कार्यालय प्रवेश गरी ८ लाख ४३ हजार नगदसहित सहकारीको सिसिटिभी क्यामराको हार्डडिस्क समेत चोरिएपछि देवदहमा सुरक्षा चुनौती बढेको छ। 

    images
    images
    images

    "सहकारीको झ्याल फोडेर कार्यालय प्रवेश गरी भल्टमा राखिएको ८ लाख ४३ हजार ७८९ रुपैयाँ चोरी भएको छ ।" सहकारीका मुख्य व्यवस्थापक विनोद पराजुलीले भने, "घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।" उनले भल्टमा राखिएको १० लाख रुपैयाँसम्मको इन्सुरेन्स समेत गरिएको हुनाले इन्सुरेन्सको प्रक्रिया पनि अघि बढाइने बताए । 

    images
    images
    images

    घटनाबारे कुरा गर्दै देवदह प्रहरी चौकीका इन्चार्ज एक्कबहादुर नेपालीले सहकारीको भल्ट नै फोडेर ठुलो नगद राशी चोरी हुनु गम्भीर घटना भएको बताएका छन् । "हामीले केही व्यक्तिको लोकेशन र कल रेकर्ड समेत अध्ययन गर्छौं। वरीपरीका सिसिटिभी क्यामराको फुटेज पनि हेर्छौं" उनले भने, "घटनालाई प्रहरीले गम्भीर रुपमा लिएको छ, अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ।"

    images
    images
    images

    प्रहरीले सहकारीको आर्थिक कारोवारसमेत अध्ययन हुने जनाएको छ। कतिपय सहकारीमा कारोबार बिग्रेको र त्यसलाई मिलाउन पनि चोरीका घटना घटाइने गरेको इतिहास रहेको उल्लेख गर्दै प्रहरीले सहकारीको समितिका पदाधिकारी र कर्मचारीको आचरणसमेत अध्ययन गरिने दावी गरेको छ।

    देवदह नगरपालिकाका नगर प्रमुख ध्रुबप्रसाद खरेलले घटना गम्भीर र संशययुक्त भएको बताएका छन् । मुख्य गेट लगाइएको अवस्थामा झ्यालबाटभित्र पसेर चोरी गरिनु र अत्यन्तै मजबुद मानिने भल्ट नै फोरेर रकम निकालिनु सामान्य विषय नभएको उनले बताए।  "यो योजनाबद्ध रुपमा गरिएको डकैति हो। यस्ता घटना सामान्य मान्छेले घटाउन सक्दैन। सहकारीको उक्त शाखाको बारेमा सम्पूर्ण रुपमा जानेको/बुझेको मान्छेको सहयोग बिना कुनैपनि गिरोहले यस्तो घटना घटाउन सक्दैन।" नगर प्रमुख खरेलले भने, "मैले जिल्ला प्रहरी कार्यालयसंग कुरा गरेको छु। जिल्ला प्रहरी कार्यालयले नै यसको निष्पक्ष अनुसन्धान गर्नुपर्छ र अपराधीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्छ।" 

    नगर प्रमुख खरेलले शेयर सदस्य र बचतकर्ताबाट संकलन गरिएको रकमको सुरक्षा गर्ने दायित्व सम्बन्धित सहकारी कै भएको उल्लेख गर्दै समाजमा अपराधिक घटना नियन्त्रण गर्न सबैजना सजग हुनुपर्ने धारणा राखे। 
     
    देवदहमा भएको सहकारी चोरीको यो घटना पहिलो भने होइन । केहीवर्ष अघि देवदह दुग्ध उत्पादन सहकारी संस्थामा चोरी भयो । जुन देवदहको सहकारी इतिहासमा पहिलो चोरी थियो। सहकारीको सामानसहित नगद चोरी भएपनि चोरीकार्यमा संलग्नको न पहिचान खुल्यो न कारवाहीको दायरामा नै ल्याउन सकियो। 
     
    त्यसैगरी २०८० फाल्गुण १० गते एकैरात देवदहका चार वटा सहकारीमा चोरी भयो । देवदह-६ मा अवस्थित राधाकृष्ण दुग्ध उत्पादक सहकारी, साना किसान कृषि सहकारी, सारथी कृषि सहकारी र शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी भएपनि चोर पत्ता लागेन।  

    उल्लेखित सहकारीमध्ये राधाकृष्ण दुग्ध उत्पादक सहकारीबाट २४-२५ हजार चोरी भएको र अन्य सहकारीमा ताल्चा फोडिएको पाईएको थियो ।  

    सानाकिसान कृषि सहकारी संस्थाको गेटको ताल्चा फोडिएको र सिसिटिभी क्यामराको हार्ड डिस्क चोरी भएको भएपनि बचतकर्ताको रकम सबै सुरक्षित रहेको सहकारीले जनाएको थियो। 
     
    साना किसान कृषि सहकारीसहित सारथी कृषि सहकारी र शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट समेत सिसिटिभी क्यामराको हार्डडिस्क चोरी भएको थियो। 

    चोरी पछि प्राप्त सिसिटिभी फुटेजमा चार जना युवा चोरी कार्यमा संलग्न भएको देखिएपनि संलग्नहरूको पहिचान खुल्न सकेन। हालसम्म चोर समातिएका छैनन्।

    यसरी चोरी हुने तर चोर पक्राउ नपर्ने परिस्थितिले अपराधिहरुको मनोबल बढिरहेको अनुमान गर्न सकिन्छ। सहकारीको भल्ट नै फुटाएर चोरी हुनु गम्भीर विषय हो। यसमा स्थानीय प्रशासनसंगै सहकारी संचालकहरु समेत उत्तिकै सजग हुनु जरुरी छ। सहकारीका सबै शाखाको सिसिटिभीलाई केन्द्रिय कार्यालयमा केन्द्रित गर्ने र त्यहाँबाट सुरक्षा गार्डको टिमले २४ सै घण्टा मनिटर गर्ने कार्य कार्य सकियो भने चोरी हुँदा हुँदै जानकारी हुन्छ र चोर समातिन सक्छ।   

    मन्दिरको दानपेटिकादेखि कलशसम्म चोरी 

    देवदहमा सहकारी मात्र होइन, मन्दिरको दानपेटिकादेखि कलशसम्म चोरी हुने गरेको छ । २०७९ चैत्र २ गते देवदह-९ को कोटियामाई मन्दिरमा चोरी भयो।   सोही दिन शितलनगरको दुर्गा पंचायतन मन्दिरमा दुईवटा दान पेटिका फोडेर १५ हजार लुटियो ।  
     
    कोटियामाई मन्दिरमा राखिएको दानपेटिका फोडेर ५० हजार भएको थियो। केहि महिना अघिमात्र महायज्ञ लगायर १ करोड बढी रकम संकलन गरेको मन्दिरमा चैते दशैँमा खोल्ने योजना सहित राखिएका दानपेटिकाबाट रकम चोरी भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। तर हालसम्म अपराधमा संलग्न कोही पनि पक्राउ परेका छैनन्।

    त्यसयता निरन्तर रुपमा कलश चोरी हुँदै आएको छ। प्रहरी चौकी खैरेनीले यही चैत्र ३ गते घर तथा मन्दिरमा राखिएका कलश चोरी गर्नेलाई पक्राउ समेत गरेको छ । कलश चोरीको घटना वृद्धि भएपछि निगरानी बढाउने क्रममा दुइवटा चरस र ३२ वटा तामाको कलशसहित चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गर्यो ।  रातिको १२ बजे कलश चोरीरहेको अवस्थामा प्रहरीले ऊनीहरूलाई पक्राउ गरेको थियो।   

    खानेपानीको विद्युतिय केवल र खोरको बोकासम्म छोडिएन

    वि स २०८१ फाल्गुन २ गते देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका दुईवटा पाम्पबोरमा विद्युतिकरणका लागि प्रयोग भएको तार चोरी भयो । संस्थाको देवदह ७ सितलनगर र सावित्री टोलमा रहेका २ वटा पम्पबोरको प्यानलबोर्डदेखि पम्पसंम्म जोडिएको ६० मिटर तार चोरी भएपछि चोरी देवदह नै तरंगित भयो । 
     
    बजार मुल्य अनुसार उक्त तार अनुमानित ५४ हजार रुपैंया मुल्य बराबरको रहेको थियो । जसको बारेमा प्रहरीले अनुसन्धान गरेपनि अपराधी समाउन भने सकेन । 
     
    मोटरसाइकल, स्कूटर र साइकल चोरी देवदहमा सामान्य जस्तै बनेका छन् । केही दिनको अन्तरमा सवारी साधन चोरीका घटनाले संचारमाध्यममा स्थान पाइनै रहेको देखिन्छ। यसले यस क्षेत्रमा चोरको बिगबिगी रहेको पुष्टि गर्दछ । 

    यसै बीचमा गत माघ माघ १९ गते देवदहमा ५५ किलोको बोका चोरी भयो । देवदह-६ ज्योतिनगरबाट स्थानीय किसान नरबहादुर रानाले पालेको ५५ किलोको बोका रातीको समयमा खोरबाटै चोरी भएपछि सवारी साधनमात्र होइन, पशु चौपाया समेत सुरक्षित नरहेको प्रमाणित भयो । प्रहरी अनुसन्धानमा ज्योति नगरबाट राती २:०९ चोरी भएको बोका सानाकिसान सहकारीसम्म ल्याएको सिसिटिभी क्यामरामा देखिएपनि त्यहाँबाट कता गयो भन्ने पट्ट लाग्न सकेन। प्रहरी आजसम्म पनि बोका चोरलाई पक्राउ गर्न सकेको छैन ।

    उल्लेखित घटनाले देवदह क्षेत्रमा चोरीक घटना नियन्त्रण बाहिर गएको पुष्टि गर्छ। प्रहरी प्रशासन, स्थानीय सरकार र आमनागरिकको सचेतनामा वृद्धि भएन भने यसले भयावह रुप लिने निश्चित छ। सहकारीहरुले सुरक्षालाई प्रविधिसंग जोडेर मजबुत बनाउन र आम नागरिकले आफ्ना महत्वपुर्ण बस्तुको सुरक्षालाई प्रथामिकतामा राख्न जरुरी छ। स्थानीय सरकार र प्रहरीले आमनागरिकलाई सचेत बनाउंदै सुरक्षा व्यवस्था कडा बनाउनेतर्फ सोच्न ढिलाई गर्नु हुँदैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निगरानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।