काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रुपमा बढिरहेको बताएका छन् ।
जनकपुरमा शुक्रवार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले लागुऔषधको नियन्त्रण जरुरी रहेको बताए । उनले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झन्डै ७ जनाको ज्यान जाने गरेको बताए ।
मन्त्री लेखकले देशभर आत्महत्यका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रुपमा आएको बताए । उनले लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिए ।
गृहमन्त्री लेखकले भने, ‘ड्रग्सको धेरै ठूलो समस्या छ । देशभर नै लागुऔषधको समस्या देखिएको छ । लागुऔषधको नियन्त्रण जरुरी छ । सडक दुर्घटना अर्को ठूलो समस्यका रुपमा रहेको छ । एक दिनमा झन्डै ७ जना मानिस सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । सडक दुर्घटनाको नियन्त्रण अर्को महत्वपूर्ण काम हो ।’
गृहमन्त्री लेखकले शान्ति सुरक्षा देशको पहिलो शर्त र आवश्यकता भएको उल्लेख गरे । शान्ति सुरक्षाको स्थिति कमजोर हुने बित्तिकै देश विकासका काममा अवरोध आउने उनको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology