काठमाडौं । गृहमन्त्री रमेश लेखकले बजारमा वस्तुको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्नको निम्ति सरकार लागिपरेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित ‘आर्थिक वर्ष २०८२÷८३को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृंखलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखकले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले वर्तमान अर्थ व्यवस्थामा सरकारले सबै कुरा गरेर सम्भव नहुने उल्लेख गर्दै निजी क्षेत्रको लागि वातावरण निर्माण गर्न र सहजिकरण गर्नको लागि सरकारले काम गर्नुपर्ने उल्लेख गरे । उनले दशैं तिहारको बेलामा बजारमा कालो बजारी हुने तथा वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने काम हुने गरेको उल्लेख गर्दै यस्तो हुन नदिनको लागि सरकार प्रतिवद्ध रहेको बताए ।
लेखकले भने, ‘हामी जुन सामाजिक अर्थ व्यवस्थामा छौँ । त्यसले सरकारले सबै कुरा गरेर सम्भव छैन । र कमसेकम यस्ता विषयहरु त निजी क्षेत्रले गर्छ । निजी क्षेत्रले काम गरिरहँदा सरकारले त्यसमा सहजिकरण गर्ने, निजी क्षेत्रलाई काम गर्ने उचित वातावरण पनि निर्माण गर्ने र त्यसमाथि उचित ढंगको नियमन पनि गर्ने काम सरकारको हो ।’
उपभोक्ताको सहज बजारको अधिकारलाई सुनिश्चित गर्नको लागि प्रमुख जिल्ला अधिकराीमार्फत निर्देशन दिइसकेको समेत गृहमन्त्री लेखकले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology