काठमाडौँ – गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको शुक्लाफाँटामा नेपाली भूमि अतिक्रमण गरी भारतीयले खेती गरिरहेकोबारे सरकार जानकार रहेको बताएका छन् ।
सोमबार संसदको राज्य व्यवस्था समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले उक्त विषय समाधानका लागि सरकारबाट कूटनीतिक पहल भइरहेको पनि बताए ।
बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्त र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले शुक्लाफाँटामा भारतीय नागरिकले नेपाली भूमिमा खेती गरिरहेको विषयमा सरकारको धारणा के हो ? भनेर जवाफ माग गरेका थिए ।
जवाफमा गृहमन्त्री लेखकले भने, ‘कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको एरियाभित्र पर्ने जमिन भारतीय नागरिकहरूले भोगचलन गरिराखेको अवस्था छ, यसका बारेमा सरकार जानकार छ ।’
आफ्नो भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका मन्त्रि लेखकले उक्त स्थानमा पिलर राख्नुपर्ने र उक्त पिलर दुई देशकै सहमतिमा राख्नुपर्ने भएकोले त्यसका लागि पहल भइरहेको जानकारी दिए ।
यस्तै, बैठकमा गृहमन्त्री लेखकले सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहत दिन मापदण्ड स्वीकृत गरेको र छिट्टै राहत पु¥याईने समेत बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology