काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा जारी आन्दोलनलाई बदनाम गराउन अनेकौं कुप्रचार रचिरहेको आरोप लगाएका छन्। आन्दोलनको २७ औँ दिन सोमबार बोल्दै सुवेदीले आइतवारको घटनालाई लिएर प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको बताए।
उनका अनुसार विरोधी समूहहरूले भिजिलान्ते शैलीमा ढुंगामुढा गराएर अवस्था तनावपूर्ण बनाएका थिए र त्यसैलाई बहाना बनाई प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रहार गरेको थियो। महासंघले उक्त घटनाको घोर भर्त्सना गरेको सुवेदीले स्पष्ट पारे।
उनका भनाइमा, आन्दोलनमा सहभागी शिक्षक र कर्मचारीहरू कुनै हालतमा न थाक्ने छन्, न गल्ने छन्, न त माग पूरा नभएसम्म पछि हट्ने छन्। "सत्तामा बसेकाहरू थाक्न सक्छन् तर शिक्षक कर्मचारीहरू थाक्दैनन्, गल्दैनन्," सुवेदीको टिप्पणी थियो। उनले आइतवार प्रहरी प्रशासनले देखाएको बर्बरतालाई ‘पराकाष्ठा’ भने र घाइते साथीहरू पट्टी बाँधेर फेरि आन्दोलनमा फर्किएको उल्लेख गरे।
झडपमा ६२ जना शिक्षक घाइते भएको जानकारी दिँदै सुवेदीले आवश्यक परे ६२ हजार शिक्षक घाइते हुन तयार रहेको चेतावनीसमेत दिए। आन्दोलनबारे विभिन्न प्रकारका अफवाहहरू फैलाउने प्रयास भइरहेको भन्दै उनले सहभागीहरूलाई सतर्क रहन आग्रह गरे।
आन्दोलनका मागबारे उनले प्रस्ट्याउँदै भने, "कहिले पाँच बुँदे, कहिले सात बुँदे, कहिले नौ बुँदे सहमतिको हल्ला चलाइन्छ। तर हाम्रो आधिकारिक दस्तावेज भनेको विद्यालय शिक्षक ऐनमा समावेश हुनुपर्ने २४ बुँदे कार्यसूची नै हो।" उनका अनुसार सरकारले तत्काल कार्यान्वयन गर्न सकिने गरी १६ बुँदे कार्यतालिका बनाएको छ र आन्दोलन त्यसैको आधारमा अघि बढिरहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology