काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउने प्रयत्न भइरहेको भन्दै स्वीकार्य नहुने बताएका छन् । बिहिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली समाजमा थुप्रै विकृतिहरु फैल्याएर आयातित विकृतिहरुको डंगुर डम्पिङ साइट बनाउन खोजिएको आरोप लगाए । उनले त्यो नेपालीलाई मञ्जुर नरहेको र नहुने बताए ।
नेपाललाई सांस्कृतिक र सामाजिक हिसावले पनि विकृतिहरुको डम्पिङ साइट बन्न नदिने बता दावी गर्दै उनले नेपाल स्वतन्त्र मुलुक भएकोमा गर्व गर्नुपर्ने बताए । नेपालको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्नुपर्ने उनको भनाई छ । इतिहासको विरासतलाई कायम राखेर सग्लो नेपाल सन्ततिलाई अझ विकसित बनाएर हस्तान्तरण गर्ने उनले प्रतिवद्धता जनाए ।
आफूहरुले देशको सीमा र सम्मान खुम्चिन नदिने बताउँदै आन्तरिक रुपमा पूर्वाधार लगायतको विकास गर्न जरुरी रहेको ओलीले बताए । सरकार आर्थिक, पूर्वाधार विकासमा लागिरहेको ओलीको भनाई छ ।
‘विश्वमा अहिले भएका १९३÷१९४ देशहरुमध्ये १९ वटा देश उपनिवेश कायम गर्नेहरु समेत १९ वटा देश मात्रै स्वतन्त्र रहेका बेला एउटा नेपाल सानो भएपनि स्वतन्त्र रहेको थियो । त्यो हामीले गर्व गर्नुपर्छ । यो स्वाधिनता, यस स्वतन्त्रता, यस भौगोलिक अखण्डतालाई हामी अत्यन्त सम्मान गर्दछौँ, माया गर्दछौँ ।’ उनले भने, ‘यसलाई कायम राखेर छोड्दछौँ । सग्लो नेपाल हाम्रा सन्ततिलाई अझ विकसित बनाएर हस्तान्तरण गर्दछौँ । त्यो हाम्रो आजको पुस्ताको काम हो ।’
प्रधानमन्त्री ओलीले नेपाली समाज सभ्य, सुसंस्कृत समाज भएकाले यसलाई कायम राखेर अघि बढाउने प्रतिवद्धता समेत जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology