काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरु सरकारबिरुद्ध लागिपरेको आरोप लगाएका छन् । मंगलवार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको भएपनि बिरोधीहरु सपना साकार पार्न नदिन लागिपरेको उल्लेख गरे ।
उनले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भुमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो नभइरहेको बताए । ओलीले प्रतिपक्षहरु कसरी आफू बच्ने अनि सरकार र अरुलाई बद्नाम गर्ने भन्नेमा लागेको आरोप लगाए । यस्ता कुरामा अल्मलिने समय आफूलाई नभएको पनि ओलीले बताए । देश विकासका लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्नेकुरामा आफ्नो ध्यान केन्द्रित रहेको उनको भनाई छ ।
‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्प बोकेका छौँ । केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनका लागि लागेका छन् ।’ उनले भने, ‘आफ्ना देश विकासका लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्नेकुरामा हाम्रो ध्यान छ ।’
प्रधानमन्त्री ओलीले ०४६ सालको परिवर्तनपछि देश तिब्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै विकासका लागि पहिला पूर्वाधार आवश्यक रहेको र पूर्वाधार नगरी विकास गर्न नसकिने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology