देवदह । देवदह युथ आइकन - २०२४ को लागि विद्यार्थी छनौट गरिएको छ । शुक्रबार देवदहमा कक्षा १२ सम्म संचालित १३ वटा माध्यमिक विद्यालयमा पुगेर सहभागी छनौट गरिएको देवदह जेसिसका महासचिव तथा कार्यक्रम संयोजक चित्र बहादुर आलेले जानकारी दिए ।
"पुर्व तयारी अनुसार नै प्रति विद्यालय ४ देखि ५ जनासम्म गरी जम्मा ५५ जना सहभागी छनौट गरेका छौं ।" महासचिव आलेले भने, "सबै सहभागीहरुको तथ्यांक प्राप्त भैसकेको छ । भोलि सहभागीलाई प्रशिक्षकले ब्रिफिङ्गसहित टास्क दिनु हुनेछ ।"
युथ आइकन २०२४ मा सहभागी हुने मध्ये अधिकांश छात्रा रहेका छन् । छनौट भएका सहभागीमा ४० जना छात्रा र १५ जना छात्र रहेका छन् । प्रतिशतमा हेर्दा छात्रा सहभागीता ७२ प्रतिशत र छात्रको प्रतिशत २८ मात्र रहेको देखिन्छ ।
सहभागी छनौटसंगै देवदह जेसिजले संचालन गर्ने देवदह युथ आइकन - २०२४ को सुरुवात भएको अध्यक्ष आनन्द पराजुलीले जानकारी दिए । मंसिर २२ गतेसम्म संञ्चालन हुने युथ आइकनले विशिष्ट युवा नेतृत्वको खोजी गर्ने अध्यक्ष पराजुलीले बताए । "युवाहरुको क्षमता तथा नेतृत्वसङ्गै चौतर्फी विकासमा सहयोग पुर्याउने उद्देश्यले आइकनको आयोजना गरिएको हो ।" अध्यक्ष पराजुलीले भने, "छनौट भएका विद्यार्थीमध्ये एकजना युथ आइकनको विजेता र एकजना उपविजेता घोषित हुनेछन् । सहभागीलाई ३ दिनको औपचारीक तालिममा सहभागी गराइने छ । तालिममा वाक कला, नेतृत्व विकास, क्षमता अभिवृद्धी, सामाजिक उत्तरदायीत्व लगायतका विषय समावेश गरिने छ ।"
युथ आइकनको उपाधि विजेताले १६ हजार ६६६ रुपैयाँ नगदसहित, शिल्ड मेडल र प्रमाणपत्र तथा उपविजेताले ११ हजार १११ रुपैयाँ नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
आइकन सम्पन्न गर्नका लागि करीब ५ लाख ४ हजार पाँच सय रुपैया खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।
सन् २०१५ मा स्थापना भएको देवदह जेसिजले २०१८ देखि देवदह यूथ आइकन सुरु गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology