देवदह । देवदह नगरपालिकाले योजना समयमै सम्झौता गरि कार्यसम्पन्न गर्न आग्रह गरेको छ । आइतबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले एक सूचना जारी गर्दै समयमै योजना सम्झौता गरि कार्यसम्पादन र भुक्तानीको व्यवस्था गर्न वडा सचिव र प्राविधिकलाई परिपत्र गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जारी गरेको ९ बुँदे परिपत्रमा वडामा रहेका योजनाहरुको कुल संख्या, सिफारिस गरिएका योजनाको संख्या, भुक्तानी लिएका योजनाहरुको संख्या, म्याद नाघेका योजनाहरुको संख्या, भुक्तानी लिन बाँकी रहेका योजनाहरुको संख्या, वाकी रहेका योजनाहरुको संख्या, अनुगमन गरिएका योजनाको संख्या, अनुगमन गर्न बाँकी रहेका योजनाहरुको संख्या लगायत योजनाहरुको अन्य सान्दर्भिक विवरण अद्यावधिक गरी वैशाख मसान्तसम्मको विवरण जेठ ३ गतेभित्र प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्न निर्देशन गरिएको छ ।
जेठ ३ गते पश्चात साप्ताहिक रुपमा पठाउन र जेठ २५ गतेभित्र योजनाहरु फरफारक गर्नको लागि उपभोक्ता समितिलाई पत्राचार गर्न, भेला बोलाउन, प्राविधिक कर्मचारीहरुले नियमित अनुगमन गर्न, समयमै सम्पन्न गर्नको लागि उपभोक्ता समितिलाई ताकेता गर्न र उल्लिखित मितिमा सम्पन्न नगरेमा सो को अभिलेख राखी भुक्तानी हुन नसक्ने जानकारी गराउन वडा कार्यालय र प्राविधिक शाखालाई सापकोटाले आग्रह गरेका छन् ।
नगरपालिकाको प्रष्ट निर्देशन विना जेठ १ गतेबाट योजना सम्झौताको लागि सिफारिस नगर्न, आफ्नो वडाको योजना फरफारक नभएसम्म कुनै पनि कर्मचारी विदा नबस्न र विदा लिनु परेमा प्रमुख प्रशासकीय अधिकृतको पूर्व स्वीकृत लिन अनुरोध गर्दै सापकोटाले समयमै योजना सम्पन्न गरी भुक्तानी फरफारक गर्ने गराउने सबै राष्ट्र सेवक र सार्वजनिक पद धारणा गरेका व्यक्तिको जिम्मेवारी भएको हुँदा नगरको समग्र हितलाई केन्द्रमा रहेर क्रियाशील भएर काम गर्न स्मरण गराएका छन् ।
सेतोमसीसंग कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले शत प्रतिशत योजना समयमै सम्पन्न गर्न नगरपालिका लागिरहेको बताए । नगरसभाले पारित गरेका योजना समयमै सम्पन्न गर्नु जनप्रतिनिधि र कर्मचारीको दायित्व भएको उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology