बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणमा बुटवल उपमहानगरपालिकाले चासो देखाएको छ । बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणको ठेक्का सडक डिभिजन कार्यालयले तोडपछि सडकको डिजाईन परिवर्तनको लागि उपमहानगरपालिकाले पहल सुरु गरको हो ।
बुटवल बेलहीया ब्यापारीक मार्ग भनिए पनि व्यावसायी मैत्री सडक बन्न नसकेको गुनासो आईरहेको बेला उपमहानगरपालिकाले सडकको पुनः डिजाईन गर्नको लागि कार्यदल गठन गरेको छ । उमहानगरपालिकाले सडक डिभिजन कार्यालय बुटवलका प्रमुखसहित सरोकारवाला निकायलाई बोलाएर सडक निर्माणको कामलाई आवश्यक सहजिकरण गर्नको लागि मेयर खेलराज पाण्डेयको संयोजगत्वमा कार्यदल गठन गरेको हो । सडक डिभिजन कार्यालय बुटवल, नेपाल खानेपानी संस्थान,नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमका कार्यालय प्रमुख सदस्य र उपमहानगरपालिकाका पूर्वाधार विकास महाशाखाका प्रमुख गौतम रौनियार सदस्य सचिव हुने गरी नगर प्रमुख पाण्डेयले कार्यदल गठन गरेका हुन् ।
कार्यदलले सडकको केन्द्र बिन्दुदेखि प्रत्येक साइड तर्फ पैदलयात्रीका लागि ३ मिटर चौडाको फुटपाथ निर्माण, साईकल यात्रीका लागि २ मिटरको साइकल लेन निर्माण, प्रति २०० मिटर लम्बाई तर्फ प्रति ७० मिटर लम्बाईमा हल्का सवारी पार्किङ र प्रति ३० मिटर लम्बाईमा पार्क तथा सौन्दर्यिकरण गर्नको लागि पहल गर्ने निर्णय गरेको छ । यस्तै प्रत्येक पार्क र साईड सडकमा स्ट्रीट लाईट जडान, सडक फर्निसिङ्ग ट्राफिक संकेत, डिभाइडरमा टल्किने स्टीकर र सौन्दर्यिकरणका लागि पेन्टिङ गर्ने निर्णयमा उल्लेख गरिएको छ ।
यस्तै ट्राफिक चोक र गोलपार्क, बहुमुखी क्याम्पसमा आकाशे पुल र पुलको तल सार्वजनिक शौचालय निर्माण गर्ने, राजमार्ग चौराह र हस्पिटल लाइनमा ४ मुखे आकाशे पुल निर्माण गर्नको लागि कार्यदलले सहजिकरण गर्ने भएको छ । दुरसंचारको तार ब्यवस्थापन र अनावश्यक पोल हटाउने, संभव भएका स्थानहरुमा भूमिगत विद्युत लाईन विस्तार गर्ने, खानेपानीका पाइप लाईन ब्यवस्थ्ति गर्नको लागि सम्बन्धित कार्यालयहरुलाई अनुरोध गर्ने निर्णय गरिएको बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । लामो समयसम्म बुटवल बजारको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणले पूर्णता पाउन नसक्दा ट्राफिक चोक, अमरपथ, संगमपथ, रामन्दिरलाईन, चौराहा र मिलन चोकको बजार प्रभावित हुन पुगेको उनले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology