देवदह । देवदहमा संचालित महोत्सवले स्थानिय जातजाति र संस्कृतिको पहिचानको प्रवर्धनमा योगदान पुर्याएको छ । पहिलो महोत्सवदेखि आठौँसम्म आइपुग्दा महोत्सवमा सांस्कृतिक खानालाई 'ब्राण्डिङ' गरिदै आएको छ ।
'कृषि, पर्यटन, उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार' भन्ने मूल नारा सहित माघ २५ गतेदेखि संचालित आठौँ देवदह महोत्सवमा मगर, गुरुङ र थारू समुदायको खानाका परिकारले चर्चा बटुलेका छन् । महोत्सवको सचिवालय छेउमा रहेको मगर समुदायको सांस्कृतिक गोलघर र त्यहाँ बनेका परिकारले दर्शकलाई लोभ्याईरहेको देख्न सकिन्छ ।

महोत्सवमा गुरुङ समुदायले समेत अलग्गै संरचना तयार गरेर खानाका परिकार विक्री वितरण गर्दै आएको छ । त्यसैगरी थारू समुदायको थारू भान्सा घर र थारू कल्याणकारी समिति देवदह-५ को खाना स्टल पनि महोत्सवमा चर्चामा छन् । थारू भान्सा घरमा घोगी, माछा लगायतका परिकार छन ।
स्थानिय जातजाति र संस्कृतिको सम्मान गर्दै सांस्कृतिक पहिचान सहितका खानाका परिकारलाई प्रवर्धन गर्न महोत्सवले सहयोग गरिरहेको महोत्सव मूल आयोजक समिति संयोजक हरि भण्डारीले बताए ।
संस्कृति जोगाउन घुमाउने घर
मेलामा नेपाल मगर संघ देवदह नगर समितिले मगर र गुरुङको पहिचानसङ्ग जोडिएको परम्परागत घुमाउने घर निर्माण गरेको छ । गाउँ घरमा घुमाउने घर लोप हुन लागेको र भएका समेत जिर्ण अवस्थामा रहेको छ । मौलिक र परम्परागत संस्कृतिको संरक्षण र जगेर्ना गर्नका निमित्त घुमाउने घर निर्माण गरि प्रदशन गरिएको नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष मन बहादुर थापाले जानकारी दिए ।
परम्परागत घरको निर्माणसङ्गै मगर संस्कृतिमा प्रयोग गरिने खानाका सामाग्री राखिएको छ। मौलिक रुपमा बनाइएको मगर घरसङ्गै राखिएको मौलिक संस्कृति झल्किने डोको,नाम्लो ,खुर्पेटो, पेरुङ्गो, ठेकी, डालो, मदानी, गाग्री, चकटी, माना, बटुको, करुवा, ओदान ताउलो, लालटिन, हलो जुवा, ढिकी, सुपो, मौरीको घार,झातो, मादल, फर्सी परेवाको खोर (गंज) आदि मेला घुम्न आउने दर्शकको रोजाई बनेको अध्यक्ष थापाको भनाई छ।
करिब ३५ हजार खर्च गरि बनाएको मगर घरमा मेलाको पाचौं दिन सम्म आइपुग्दा करिब २० हजार बढीले अवलोकन गरेको नेपाल मगर संघ देवदह नगर समितिका सचीव मिलन मास्की रानाले जानकारी दिए । स्टलमा राखिएको परम्परागत सामाग्रीबारे नयाँ पुस्ता अनभिज्ञ भएको र चासोका साथ जिज्ञासा राख्ने गरेकोले मगर घर अवलोकन गर्न आउने दर्शकलाई प्रदर्शनीमा राखिएका मौलिक सामाग्रीको महत्व, विशेषता र प्रयोगका बारेमा जानकारी दिने गरिएको सचीव रानाको भनाइ छ ।
उक्त भान्सा घरमा बिभिन्न परिकारहरु बटुक, सेल, तरुल आदि बनाएर बिक्रि वितरणका लागि राखिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology