देवदह । आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा स्थानीय उत्पादन आकर्षणको केन्द्र बनेको छ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने गरी स्टलमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको महोत्सवमा देवदहमै उत्पादन भएका बस्तुहरूको धमाधम विक्री भइरहेको महोत्सव मूल आयोजक समिति संयोजक हरि भण्डारीले बताए ।
महोत्सवमा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै बजारीकरणमा समेत टेवा पुर्याउने उद्देश्यका साथ स्थानिय उद्यमीलाई प्राथमिकता दिईएको बताउंदै संयोजक भण्डारीले स्थानिय उत्पादनको अत्यन्तै विक्री राम्रो भएको रिपोर्ट आफुहरूसंग रहेको दावी गरे ।
महोत्सवमा स्थानिय अनिता बुढाथोकी र कृष्ण बहादुर रानाले देवदह ७ स्थित अनिता जुत्ता चप्पल उद्योगबाट उत्पादन गरेका जुत्ता चप्पलहरू मेलाको स्टल नं १२८ विक्री वितरण गर्दै आएका छन् । अनिता जुत्ता चप्पलका कृष्ण बहादुर रानाले स्थानिय उत्पादनलाई सबैले माया गरेको र महोत्सवमा राम्रै व्यापार भएको बताए ।

वनमा खेर जानसक्ने काठहरूको सदुपयोग गर्दै देवदहको शिवालय सामुदायिक वन उपभोक्ता समितिले महोत्सवमा अचानो विक्री गरिरहेको छ । देवदह ६ र ७ मा फैलिएको वनमा रहेका कुसुमका काठको बलियो अचानो बनाएर बिक्रि गरिरहेको वनले जनाएको छ । सामुदायिक वनमा जैविक विविधता पार्क समेत निर्माण गर्दै गरेको शिवालय वनले स्थानीय स्रोत र साधनको उपयोग गरेर एक सय देखि २५ सय सम्मका अचानो मेलास्थलबाट विक्री गरिरहेको छ ।

देवदह १२ मा रहेको हिमानी खोवाले देवदह मेलामा कुराउनी लगायतका दुग्धजन्य उत्पादन विक्री गरिरहेको छ । खोवा विक्रीबाट दैनिक ५ हजार बराबरको व्यापार भैरहेको जनाईएको छ ।

देवदह १ विर्तामा अवस्थित माँ वैष्णो सोप एण्ड केमिकलले महोत्सवको स्टल नं १६५ बाट आफ्ना उत्पादन विक्री गरिरहेको छ । आफूहरूले उत्पादन गरेका साबुन, सर्फ र केमिकल्स विक्री गरिरहेको जनाईएको छ ।
शिव गङ्गा डेरी भलुहीको महोत्सवमा स्टल छ । दुग्धजन्य पदार्थको विक्रि वितरण शिव गंगाले महोत्सवमा गरिरहेको छ ।
महोत्सवमा कोलुवा कृषि सहकारी संस्थाले देवदहमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शन गरेको छ । स्थानियहरूले उत्पादन गरेका फर्सी, फूलगोपी, टमाटर लगायतका कृषि उत्पादन मेलामा देख्न सकिन्छ ।

देवदहका विभिन्न वडामा महिलाहरूले उत्पादन गरेका कुशन र र बाँसबाट निर्माण भएका सामग्रीमा समेत अवलोकनकर्ताको चासो देखिएको छ । अवलोकनकर्ताले चासोका साथ कुशन र बाँसका सामग्री हेर्ने र किन्ने गरेको व्यवसायीहरूले बताएका छन् ।

आगामी मेला महोत्सवका स्टलहरूमा कम्तिमा ५० प्रतिशत स्थानिय उत्पादनलाई राख्नसके स्थानिय उत्पादनको प्रचार प्रसार र प्रवर्धनमा स्सहज हुने व्यवसायीहरूको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology