देवदह । रुपन्देहीको देवदहमा आठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव सुरू भएको छ । बिहिबार एक समारोहबीच देवदह-९ स्थित देवदह मण्डपमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले महोत्सवको उद्घाटन गरे ।
महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले देवदहमा कृषि र पर्यटन सम्भावना रहेको बताए । लुम्बिनी प्रदेश सरकारले देवदहको विकासमा महत्वपूर्ण योगदान पुर्याउने आयोजनामा बजेट विनियोजन गर्दै आएको उल्लेख गर्दै उनले नगरपालिका र यस क्षेत्रका सांसदले सिफारिस गरेका योजना पारित गराउन आफुले पहल गर्ने बताए ।
बैदेशिक रोजगार र अध्ययन भिसामा विदेशिने युवालाई रोक्न प्रदेश सरकारले योजना बनाईरहेको उल्लेख गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी गर्न सके युवा पलायन रोक्न सकिनेमा प्रदेश सरकार विश्वस्त रहेको जिकिर गरे ।
महोत्सवमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले देवदहको विकास सबै देवदहबासी यहाँ क्रियाशील राजनीतिक दलका नेता कार्यकर्ताको साझा चासो र चिन्ताको विषय भएको बताईन् ।
महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले कृषि, उद्योग र पर्यटन प्रवर्धनमा मेलाले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । यस प्रकारका मेला महोत्सव स्थानीयवासीको गौरवको विषयपनि भएको उल्लेख गर्दै उनले आयोजक संस्थाहरूलेले मेलाको गरिमा कायम गर्नुपर्नेमा जोड दिए । मेला महोत्सवमा सुरक्षा चुनौतीलाई गम्भीर विषय हुने भएकोले सुरक्षाको विषयमा सजग हुनुपर्ने उनको भनाई छ ।
आयोजक संस्था उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष हरि भण्डारीले बर्षौंदेखि महोत्सव संचालन हुँदै आएको देवदह मण्डपको स्तरोन्नति र डिपीआर अनुसार यसको निर्माणमा स्थानिय र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।
महोत्वसको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघका प्रदेश अध्यक्ष कृष्ण शर्मा, देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्री लगायतले बोलेका थिए ।
यसगरी महोत्सवको उद्घाटन समारोहअघि आयोजना गरिएको र्यालीमा देवदहका १५० बढी संघसंस्था ब्यानर सहित उपस्थित भएको आयोजकले जनाएको छ । देवदहमा रहेका व्यवसायिक संघसंस्था, विद्यालय, आमा समूह, टोलविकास संस्था, सहकारी, सामुदायिक वन र एकल जातीय संघसंस्थाहरूको र्यालीमा सहभागिता रहेको मेलाका र्याली व्यवस्थापन उपसमिति संयोजक रमेश गैरेले जानकारी दिए ।
माघ ८ सम्म संचालन हुने महोत्सव एक लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको ब्यापार हुने आयोजकले जनाएको छ ।
यसैबीच भोलि दोस्रो दिन मेलामा राष्ट्रिय कलाकारको प्रस्तुति रहने मेलाका सांस्कृतिक उपसमिति संयोजक तेजु अर्यालले जानकारी दिए । भोलि राष्ट्रिय कलाकार राजु परियार लगायतको प्रस्तुति रहने जनाईएको छ ।
लुम्बिनीको मायादेवी मन्दिर आकृतिको प्रवेशद्वार, गुरुङ र मगर समुदायको कुडुले घर, सेल्फी जोन, पाँच फिटको बुद्धमुर्ति लगायतका आकर्षकहरु रहने आयोजकले जनाएको छ ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत÷लोकनृत्य प्रतियोगिता, कपल डान्स प्रतियोगिता, अन्तर आमा समुह लोकगित प्रतियोगिता, फ्रि–स्टाईल थ्री मिनेट प्रतियोगिता, अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुनेछन् । कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज, योग शिविर, पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायतका गतिविधिहरु महोत्सवका आकर्षकका रुपमा रहने मेला सचिवालय संयोजक विष्णु न्यौपालेले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology