पृष्ठभूमि :
नेपालमा जनसंख्या गणना गर्ने कार्यको इतिहास जम्मा १२० वर्षको मात्र छ । त्यो भन्दा अगाडि यहाँ बसोबास गर्ने मानिसहरुको तथ्यांक लिने र अभिलेख गर्ने कार्य राज्यको तर्फबाट भएको भेटिएको छैन । त्यहि १२० वर्षको इतिहासमा जातिगत तथा धर्मगत तथ्यांकको इतिहास अझै साँघुरो र छोटो छ । यसैबीचमा नेपालमा गरिदै आएका हरेक जनगणना विवाद रहित पनि हुन सकेका छैनन् । जनगणना आफैमा अनुसन्धान भएकाले यसका निश्चित विधि र प्रक्रियाहरु पुरा गरिएका हुन्छन् र गरिनुपर्दछ । अनुसन्धानका लागि विभिन्न विधि र त्यसका औजारहरु प्रयोग गरिएका हुन्छन् । तीनका आफ्नै सिमा र दायरा हुन्छन् । जसले तथ्यांकमा प्रभाव पार्ने भएकाले यसको पक्षमा ध्यान नपु¥याउँदा अध्ययन पश्चात गरिने विश्लेषण र त्यसपछि प्राप्त हुने नतिजामा अधिकांशले शंसय व्यक्त गर्ने गरेका छन् ।
नेपालको जनगणनाको विश्वसनीयता माथि जहिले पनि प्रश्न उठ्ने गरेको छ । विशेषगरी नेपालका आदिवासी जनजाति तथा दलित समुदायका सवालसंग जोडिएका तथ्यांकमा विश्वसनीयताको सवालमा प्रश्न उठ्ने गरेका छन् । नेपाल सरकारको तथ्यांक अनुसार नेपाल भूगोलको स्थापना भएपछि पहिलो पटक राष्ट्रिय जनगणना बि.सं. १९६८ सालमा गरिएको थियो । ‘हेड टु हेड’ अनुसार गरिएको जनगणना । जस अनुसार नेपालको जनसंख्या करिब ५६ लाख ३८ हजार ६ सय ४९ देखाएको थियो । यद्यपि नेपालको पहिलो आधुनिक ढङ्गबाट राष्ट्रिय जनगणना भने बि.सं. २००९ देखि २०११ सालमा सम्पन्न गरिएको जनगणनालाई भन्ने गरिएको छ । जस अनुसार करीब ८० लाख जनसंख्याको गणना गरिएको अभिलेख उल्लेख छ । करिब एक सय वर्ष पछि बि.सं. २०६८ सालमा गरिएको ११ औं जनगणना अनुसार नेपालमा करिब २ करोड ६४ लाख ९४ हजार ५ सय ४ व्यक्तिहरुको गणना गरिएको तथ्यांक छ । नेपालको पछिल्लो १२ औं जनगणना वि.स. २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लख ९२ हजार ४ सय ८० देखिएको छ ।
हरेक अनुसन्धानमा इरर अथवा त्रुटी रहेको मानिन्छ । गतको जनगणनामा पनि त्रुटी कति भयो ? भनेर मापन गरिएको थियो । वि.स. २०७८ को जनगणनाको पूर्णता र शुद्धता मापन गर्न राष्ट्रिय तथ्यांक कार्यालयले त्रिभुवन विश्वविद्यालयको श्रम अध्ययन कार्यक्रममार्फत गराएको अध्ययनले जनगणनाको नतिजामा ७ लाख ७१ हजार नौ सय ९८ मानिस छुट्न गएको देखाएको छ । त्रिभुवन विश्वविद्यालयले गरेको गणना जाँच सर्वेक्षणमा यस्तो देखिएको हो । श्रम अध्ययन कार्यक्रमबाट जनगणनाको पूर्णता र शुद्धता मापन गर्दा सहरी क्षेत्रमा पाँच लाख ८५ हजार सात सय ८२ र ग्रामीण क्षेत्रमा एक लाख ८६ हजार दुई सय १६ जना छुट्न गएको कार्यालयले हालै सार्वजनिक गरेको गणना जाँच सर्वेक्षण (पिइएस) प्रतिवेदनमा उल्लेख छ । जनगणनामा २.७३ प्रतिशत मानिस छुट्न गएको सर्वेक्षणले देखाएको छ । तर, यो छुटेको संख्या जनगणनाको यसअघि सार्वजनिक अन्तिम नतिजामा जोडिँदैन । अघिल्लो जनगणनाको तुलनामा यसपटक छुट कम देखिएकाले बढि विश्वसनीय दावी गरिएको छ, अर्थात त्रुटि न्युनिकरण भएको मानिएको छ ।
नेपालको संविधान २०७२ को धारा २८१ अन्तर्गतको प्रावधानहरुमा भनिएको छः “नेपाल सरकारले प्रत्येक दश वर्षमा हुने राष्ट्रिय जनगणनासँगै महिला तथा दलित समुदायको विशेष अधिकारको व्यवस्थाको कार्यान्वयन र त्यसको प्रभाव सम्बन्धमा मानव विकास सूचकांकको आधारमा समीक्षा तथा पुनरावलोकन गर्नेछ“। धारा ८४ (२) अनुसार समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिंदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था संघीय कानून बमोजिम हुनेछ । धारा २८६ (५ ) अनुसार निर्वाचन क्षेत्र निर्धारण आयोगबाट निर्वाचन क्षेत्र निर्धारण गर्दा प्रतिनिधित्वको लागि जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मानी संघीय कानून बमोजिम प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गरिनेछ भनेर भनिएको छ । उल्लेखित विषयबाट जनगणनाको आवश्यक्ता र महत्वको विषय प्रस्ट हुन्छ । यसबाहेक यहाँ सामाजिक, राजनैतिक र आर्थिक पक्षलाई मात्र देहाय अनुसार विवेचना गरिएको छ ।
क) राजनीतिक महत्व : नेपालमा निर्वाचन क्षेत्रको संख्या, सांसद सख्या आदि जनगणनाका तथ्याङ्कको आधारमा तय गरिने गरिएको छ ।
ख) सामाजिक तथा आर्थिक महत्व : स्थानिय तह तथा प्रदेशहरुमा उपलब्ध गराइने अनुदानहरु जनसंख्या अनुपातको आधारमा प्रदान गर्ने गरिएको छ । नेपालमा समावेशी सिद्धान्त अनुसार आरक्षण तथा अवसरहरु प्रदान गर्ने आधार भनेको जनगणनामा प्राप्त जनसंख्याकै आधारमा तय गर्ने गरिएको छ । उदाहरणका लागि लोक सेवा परीक्षा मार्फत पदपूर्ती गरिने सरकारी निजामती तथा अन्य पदहरुको कोटा बाँडफाँट जातीय जनसंख्याको आनुपातिक आधारमा गरिँदै आएको छ । जम्मा एक सय प्रतिशतबाट प्राप्त करिब ४५ प्रतिशतलाई सतप्रतिशत मानी महिला, आदिवासी जनजाति, मधेशी, दलित, पिछडिएका क्षेत्र, फरक क्षमता भएका व्यक्ति र समुदायलाई कोटा निर्धारण गर्ने अभ्यास भइरहेको छ । २०६८ सालको जनगणना अनुसार आदिवासी जनजाति समुदायको हकमा करिब ३७ प्रतिशत कोटा प्राप्त गर्दै आइरहेका छन् । यो कोटा आरक्षण उपभोग गर्न नेपालको आदिवासी जनजाति मध्ये आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सूचिकृत गरेको ५९ आदिवासी जनजातिले मात्र पाउछन् । जसमा थारु प्नि पर्दथ्यो तर पछिल्लो समय थारु समुदायलाई छुट्टै आरक्षणको व्यवस्था कायम गरिएको छ । उसले थारु समुदायको जनसंख्या प्रतिशत अनुसार आरक्षण कोटा पाउँदै आइरहेको छ । (करिब ६ देखि ७ प्रतिशत ।)
जातिगत तथ्यांक :
राष्ट्रिय तथ्याङ्क कार्यालयले जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिसका आधारमा विवरण सार्वजनिक गरिएको हो भनेर भनेको छ । राष्ट्रिय जनगणना २०५८ अनुसार १ सय १ जातिको तथ्यांक सार्वजनिक गरिएको थियो । १० वर्षपछि २४ जाति थपेर वि.स. २०६८ को राष्ट्रिय जनगणनाले १ सय २५ जातजाति रहेकोे तथ्यांक बाहिर ल्याएको थियो । पछिल्लो राष्ट्रिय जनगणना वि.स. २०७८ को अनुसार नेपालमा १४२ जातजाति रहेको देखाएको छ । २०६८ सालको जनगणनामा जातजाति १ सय २५ रहेकामा अहिले १७ जातजाति थपिएका हुन् । हरेक जनगणनामा जातिको संख्या थपिएको देखिन्छ । यसपटक अझै १० जातिको अस्तित्व जनगणनाबाट हटाइएको उल्लेख छ । यसमा तथ्याङ्क कार्यालयले कुनै नयाँ जाति नेपालमा आएका नभई यहिँ भएका जातिहरु हिजोका दिनमा अन्य कुनै थर वा जातिमा सम्मिलित भएको तर अहिले छुट्टै अस्तित्वको जातिको रुपमा दावी रहेकाले जातिको संख्या बढेको उल्लेख गरेको छ । तथ्यांकीय दृष्टिकोणले कुनै जात आफंैमा थपिने र हट्ने हुँदैन । तर गणनाको क्रममा कतिपय जातजाति अतिअल्पसंख्यकतिर ढल्कदै लोप हुने अवस्थामा पुगेको देखिन्छ ।
प्राप्त तीन दशकको नतिजालाई विश्लेषण गर्दा वि.स.२०५८ सालमा गुरुङ समुदायको जनसङ्ख्या ५ लाख ४३ हजार देखिएकोमा वि.स. २०६८ को राष्ट्रिय जनगणनामा गुरुङको संख्या घटेर ५ लाख २२ हजार हाराहारीमा सीमित हुन पुगेको थियो । अहिले गुरुङ्गहरुको संख्या ५ लाख ४३ हजार ७ सय ९० रहेको उल्लेख छ । यसको अर्थ यहाँ २०५८ सालदेखि गुरुङ समुदायको संख्या तुलनात्मक तवरमा बढेको देखिएको छैन । राईको जनसङ्ख्या २०५८ बाट २०६८ मा ६ लाख ३५ हजारबाट ६ लाख २० हजारमा झरेको थियो अहिले २०७८ मा ६ लाख ४० हजार ६ सय ७४ देखिएको छ । करिब २० हजार राइको जनसंख्या ६८ मा भन्दा बढेको देखिन्छ । तर, २०५८ को संग तुलना गर्ने हो भने राइहरुको जनसंख्या २०५८ बाट २०७८ सालसम्म करिब २० वर्षमा जम्मा ५ हजार हाराहारीमा मात्र बढेको देखिन्छ । कारण पहिला राई लेखाउनेहरुले आफ्नो थरलाई नै जात लेखाउनु हो भन्ने कुरा आएको छ । तर, यो २० वर्षमा गुरुङको जनसंख्यामा आनुपातिक वृद्धि देखिदैन । गुरुङको संख्या घट्नाको कारण पत्ता लगाउन भने थप अनुसन्धानको आवश्यकता देखिएको छ ।
नेपालको प्रमूख तेस्रो जाति मगरको जनसंख्या २०६८ अनुसार १८ लाख ८७ हजार ७ सय ३३ थियो । कुल जनसंख्याको करिब ७.१२ प्रतिशत थियो । २०७८ को राष्ट्रिय जनगणना अनुसार मगरको कुल जनसंख्या २० लाख १३ हजार ४ सय ९८ देखिएको छ । जुन कुल जनसंख्याको ६.९ प्रतिशत हो । २०६८ बाट २०७८ सम्म आउँदा १० वर्षमा मगर समुदायको जनसंख्या करिब १ लाख २५ हजार ७ सय ६५ जनाले बढेको देखिन्छ । तर, प्रतिशतका हिसाबले संख्या वृद्धि देखिएन । किन ? । किनभने मगर समुदायको जनसंख्या अनुपात जति बढ्यो त्यसको तुलनामा अन्य समुदायको जनसंख्या अझ बढि बढ्यो । नेपालको कुल जनसंख्या २०६८ देखि २०७८ सम्म १० वर्षको अवधिमा १०.१८ प्रशितशतले वृद्धि हुँदा मगरको जनसंख्या वृद्धि प्रतिशत जम्मा ६.६६ प्रतिशत रहेको छ । यसको अर्थ देशको जनसख्या वृद्धिसंग मगरको जनसंख्या वृद्धि ४ प्रतिशतले कमी छ ।
लुम्विनी प्रदेशको सबैभन्दा धेरै जनसंख्या मगर समुदायको रहेको छ । करिब ७ लाख ४६ हजार १ सय ५४ करिब १४.६ प्रतिशत पहिलो जनसंख्या रहेको छ । दोश्रोमा थारु ७ लाख ३२ हजार ६९ करिब १४.३ प्रतिशत रहेको छ । रुपन्देहीमा दोश्रो ठूलो जनसंख्याको रुपमा मगर जातिको करिब १ लाख २१ हजार ७ सय ९३ रहेको छ । दोश्रोमा थारु ९२ हजार ३ सय ९९ रहेको छ ।
मातृभाषागत तथ्यांक :
बच्चा जन्मिएर हुर्कने, बढ्ने क्रममा पहिलो पटक आफ्नो आमासंग प्रयोगमा ल्याउने अर्थात बच्चाको आफ्नो आमाको भाषा नै मातृभाषा हो । बाल अवस्थामा सबैभन्दा नजिक अरु कोही हुन्छ भने आमा नै हुन्छ । बच्चाले पहिलोपटक आफुबाहेक अरु कोही बोलेको देख्छ वा सुन्छ भने आमा नै बोलेको सुन्छ वा देख्छ अनी बिस्तारै त्यहि सुनाई र देखाइलाई बच्चाले अनुसरण गर्न सुरु गर्दछ । बालमनोविज्ञान अनुसार पनि यस्तो सिकाइमा सबैभन्दा पहिले उसले आमाले बोल्ने कुराको नक्कल गरेको हुन्छ । यसैले बच्चाको पहिलो भाषा आमाले बोल्ने भाषा हो । यसलाई हामी मातृभाषा भन्दै आएका छौं । जुन परिवारमा समेत बढि प्रयोगमा आउने गर्दछ । त्यसैले जनगणनामा मातृभाषाको तथ्यांक लिने कार्य आफैमा महत्वपूर्ण छ । नेपाल जस्तो विविधता भएको मुलुक, १२४ भाषा हुने देशमा एउटा मात्र भाषालाई मान्यता दिने मुलुकमा अझै खास अर्थ राख्दछ । सरकारी कामकाजी भाषा नेपाली खस भाषा मात्र प्रयोग गर्न पाउनु भनेको अरु भाषा काम चल्दैन भन्नु हो । अरु भाषा चाँहिदैन भन्नु हो । अरु भाषालाई अपमान गर्नु हो । यहाँ राज्यले एकल भाषा नीति लागु गरेर पुरै १२३ भाषालाई निषेध गरेको छ । राज्यले यो १२३ भाषा राष्ट्रको सम्पत्ती हो भनेर बुझेको छैन । खस बाहेक अन्य भाषालाई राज्य भनौ सरकारले नै नचल्ने, नबिक्ने भनेर भनिदिएको छ, बनाइदिएको छ । १२४ भाषाको विविधताको महत्व राज्यले अझै बुझ्न सकेको छैन भन्ने कुरा प्रस्ट छ । यसबाहेक ती भाषाका हकदार जातिहरुलाई नै पनि आफ्नो भाषाप्रति मोह छैन । राज्यको कुनै पनि संयन्त्रमा प्रयोग नहुने, बजारको दैनिक जीवनमा पनि काम नलाग्ने, नचल्ने, पेशामा पनि काम नलाग्ने, रोजगारी र रोजीरोटीमा पनि काम नलाग्ने भएपछि जातजातिहरुलाई आफ्नो भाषाप्रति मोह भंग भएर गएको छ । जसका कारण नेपाल राज्यको आफ्नै सम्पत्ती राज्यकै कारण विलुप्त हुने खतरा र अवस्थामा पुगेको छ । यसको सिधा असर यहाँका जातजातिहरुलाई पर्न जान्छ, उनीहरुको जातीय अस्तित्व नै सङ्कटमा छ ।
अतः राष्ट्रिय जनगणना २०७८ अनुसार मातृभाषाको सङ्या १२४ रहेको छ । २०६८ सालको जनगणना अनुसार १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने मानिसहरुको संख्या न्यून भएकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरिएको भन्ने थियो । अहिले थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम गरिएको जनाइएको छ । अहिले भाषाको तथ्यांक सार्वजनिक गर्ने क्रममा दोश्रो भाषा, मातृभाषा, पुख्यौली भाषाको रुपमा सार्वजनिक गरिएको छ । तर, सवाल मातृभाषाको हो । आफ्नो जातीय भाषाको हो नकी दोश्रो अरुको भाषाको जुन बाध्यताबस रोजीरोटी र कामका लागि बोल्न बाध्य छ, वा नचाहेर पनि प्रयोग गर्नु परेको छ । जस्तै, नेपालीले कामका लागि कोरियन वा जापानी वा हिब्रु भाषा बोले जसरी । यहाँ मानिसहरु एक भन्दा बढि भाषा बोल्छन भन्ने अर्थ लगाई दोश्रो भाषाको बहाना बनाई जातिगत मातृभाषाको सिधै तथ्यांक नदिई भाषालाई मार्ने काम भएको छ । रास्ट्रिय तथ्याङ्क अनुसार गुरुङ भाषा बोल्नेहरुको संख्या करिब ३ लाख २८ हजार ७४ रहेको छ । मगर भाषा बोल्नेहरुको संख्या ८ लाख १० हजार ३ सय १५ रहेको छ । थारु १७,१४,०९१, तामाङ १४,२३,०७५ नेवारी ८,६३,३८० कुमाल १८,४३५ र भुजेल १३,०८६ रहेको तथ्यांक सार्वजनिक गरेको छ । राज्यको सार्वजनिक तथ्यांक अनुसार नेपाली भाषालाई आफ्नो दोश्रो भाषाको रुपमा प्रयोग गर्ने मानिसहरु १ करोड ३४ लाख ८२ हजार ९सय चार छन् अर्थात ४६.२३ प्रतिशत देखिएको छ । दोश्रो भाषा नरहेको मानिसहरुको संख्या करिब ४८.०८ प्रतिशत छ, अर्थात उनीहरु एक बाहेक दोश्रो भाषा नै जान्दैनन् । के नेपाल जस्तो विविधता र मिश्रीत भाषा बोल्ने समाजमा एक भाषा बाहेक दोश्रो भाषा नै प्रयोग नगर्ने वा नसुन्ने वा नजान्ने मान्छे हुनु भन्ने कुरा संभव छ ? यहाँ यस प्रश्न महत्वपूर्ण हो । दोश्रो भाषाको रुपमा थारु भाषा प्रयोग गर्ने ८९ हजार ६ सय ६ अर्थात ०.३१ प्रतिशत छ । तामाङ भाषालाई दोश्रो भाषाको रुपमा प्रयोग गर्ने ७१ हजार ५ सय ६९ अर्थात ०.२५ प्रतिशत, मगरढुट लाई दोश्रो भाषाको रुपमा प्रयोग गर्ने ५४ हजार १ सय ४३ अर्थात ०.१९ प्रतिशत रहेको देखिएको छ । गुरुङ २३ हजार ६ सय ९८, मगर खाम १६ हजार ८ सय १४, राई १४ हजार ३ सय ९८, भूजेल ७ सय ४०, थकाली ७ सय ३३, कुमाल ६ सय १५, मगर काइके ५ सय १५, छन्त्याल ३ सय १४ जना ।
राष्ट्रिय जनगणना २०७८ अनुसार प्रमूख १० मातृभाषागत जनसंख्या विवरण अनुसार नेपाली भाषालाई मातृभाषा मान्ने ४४.९ प्रतिशत, दोश्रोमा मैथिलि भाषा बोल्नेको जनसंख्या ११ प्रतिशत, भोजपुरी भाषा बोल्नेहरुको संख्या ६.२ प्रतिशत, थारु भाषा बोल्नेहरुको जनसंख्या करिब ५.९ प्रतिशत, तामाङ भाषा बोल्नेहरुको संख्या ४.९ प्रतिशत, वज्जिका बोल्नेहरुको संख्या ३.९ प्रतिशत, अवधी भाषा बोल्नेहरुको संख्या ३ प्रतिशत, नेवारी भाषा बोल्नेहरुको जनसंख्या ३ प्रतिशत अर्थात करिब ८ लाख ६३ हजार ३ सय ८० रहेको उल्लेख छ । नेपालको मूख्य दश भाषा मध्ये मगर ढुट बोल्नेको जनसंख्या २.८ प्रतिशत अर्थात करिब ८ लाख १० हजार ३ सय १५ रहेको छ ।
यसबाहेक तथ्याङ्कमा आफ्नो पुर्खाको भाषागत तथ्यांक पनि उल्लेख छ । यहाँ राम्रोसंग बुझ्नुपर्ने कुरा के हो भने पुस्ता भनेको छैन । पुर्खा भनेको छ । पुर्खा र पुस्ता भन्ने कुरा फरक हो । मगरका पुर्खाले मगर भाषा बाहेक अरु केहि भाषा बोल्दैनथे त्यसैले नै मगर भाषाको अस्तित्व र विकास भयो । अहिले भएका सबै बीस लाख तेह्र हजार मगरका पुर्खा त कुनै दिन एउटै सानो समूह मगर नै थिए होलान नी ? उनीहरु मगर भाषा नै बोल्थे होलानी ? त्यसो भए मगरहरुको पुख्र्यौली भाषा त मगर नै पो होला नी ? मगरको पुख्र्यौली भाषा मगर नै हो भने पछिल्लो समय एक पुस्ता, दुई पुस्ताकाले मगर भाषा नबोल्दैमा मगर भाषा मगरको पुख्र्यौली भाषा होइन भन्न चाँही मिल्दैन । तथ्यांक अनुसार बीस लाख मगरको पुख्र्यौली भाषा मगर नै हुनुपर्ने हो । बुझ््ने भाषामा भन्दा जती मगर छन् ती सबै मगरको पुख्र्यौली भाषा त मगर नै हुनुपर्ने हो तर, तथ्यांकमा आधा मगरका मात्र पुख्र्यौली भाषामा मगर भाषा आयो । यो पुर्खाको भाषा विषयक तथ्यांक नतिजा आफैमा हाँस्यास्पद् भयो । कित मगर सुमदायले बुझेनन् ? कित तथ्यांक कार्यालयले यसमा खेलाँची र वेवास्ता ग¥यो ? तथ्यांकमा आधा मात्र मगरहरुले आफ्नो पुख्र्यौली भाषा मगर भनेको तथ्य आइरहँदा, अरु बाँकी आधा मगरहरुले के भनेर लेखाए होलान आफ्नो पुर्खाको भाषा ? आफ्नो पुख्र्यौली भाषा ? यो गम्भिर प्रश्न हो । अथवा तपाइको पुख्र्यौली भाषा के भन्ने महलमा मगर भाषा भन्न मगरहरुले किन जानेनन् ? अर्थात हिचकिचाए ? तथ्यांक अनुसार मेरो पुर्खाको भाषा मगर हो अर्थात थियो भन्ने मगरको जनसंख्या करिब १२ लाख ४८ हजार ३ जना छ । अर्थात ४.३ प्रतिशत छ । यहाँ मगरको जनसंख्या करिब २० लाख १३ हजार ४ सय ९८ मा ७ लाख ६५ हजार ४ सय ९५ जनाले मेरो पुर्खाको भाषा मगर थिएन वा होइन भन्ने जवाफ दिए भन्ने देखाउँछ । त्यस्तै १२ लाख ३ हजार १ सय ८३ जनाले मगर भाषा बोल्दैनन् । प्रतिशतमा करिब ६० प्रतिशत मगरले आफ्नो भाषा बुझ्दैनन् वा चिन्दैनन् । मगर समुदायको पुख्र्यौली भाषा मगर नै हुन्छ अरु हुन सक्दैन । कुनै पुस्ताले मगर भाषा नबोलेको हुनसक्छ तर त्यसलाई पुर्खाले नै नबोलेको भन्न चाँही कदापी उचित हुन सक्दैन ।
यसैगरी नेवार समुदायको जनसंख्या करिब १३ लाख ४१ हजार ३ सय ६३ रहेको छ । आफ्नो पुर्खाको भाषा नेवार थियो भन्ने नेवारहरुको जनसंख्या करिब ११ लाख ७९ हजार १ सय ४६ छ । करिब ८८ प्रतिशत नेवारहरुले आफ्नो पुर्खाको भाषा नेवार हो भनेर भनेका छन् । बाँकी रहेका १२ प्रतिशतले मात्र नेवार बाहेक अरु भाषा भने होलान् भन्ने अनुमान गर्नुपर्ने हुन्छ । यसबाहेक ८ लाख ६३ हजार ३ सय ८० जनाले आफ्नो मातृभाषा नेवार भएको बताए । नेवार सुमदायका करिब ४ लाख ७७ हजार ९ सय ८३ जनाको मातृभाषा नेवार परेन अर्थात उनीहरु नेवारी बोल्दैनन् । करिब ३५ प्रतिशत नेवार कित नेवार भाषा बोल्दैनन् या त बुझ्दैनन् तथ्यांकले त्यहि भन्यो । यसबाहेक थारु सुमदायको १८ लाख ७ हजार १ सय २४ मा १७ लाख १४ हजार ९१ जनाले थारु भाषा बोल्दछन् । करिब ९३ हजार ३३ जनाले मात्र थारु बोल्दैनन् । करिब ९५ प्रतिशत थारुले आफ्नो मातृभाषा बोल्छन् यात बुझ्छन् । यसबाहेक गुरुङ, भूजेल लगायत आदिवासी जनजाति समुदायको भाषा नेपालको मूख्य दश मातृभाषा भित्र नपरेकाले यहाँ विश्लेषण गरिएन ।
धर्मगत तथ्यांक :
राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा १० वटा धर्म मान्ने मानिसहरुको मात्र तथ्यांक देखाइएको छ । सबैभन्दा धेरै हिन्दु अर्थात ८१ प्रतिशत मान्ने मानिसहरु नेपालमा छन् । कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये सबैभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात (८१.१९ प्रतिशत)ले हिन्दु धर्म मान्ने तथ्यांक देखिएको छ ।
यस्तै, दोस्रोमा बौद्ध धर्म मान्ने मानिस रहेका छन् । ०७८ को तथ्यांकअनुसार २३ लाख ९३ हजार ५४९ जना अर्थात करिब (८.२१ प्रतिशत) बौद्ध धर्म मान्ने मानिसहरु रहेका छन् । त्यस्तै, ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिष्टियन धर्म मान्ने गरेको राष्ट्रिय तथ्यांक कार्यालयको अन्तिम नतिजाले देखाएको छ । अहिले प्राप्त नतिजालाई १० वर्ष अगाडि २०६८ को जनगणनासंग तुलना गर्दा २०६८ को जनगणनाअनुसार नेपालमा ८१.३ प्रतिशत अर्थात २ करोड १५ लाख ४० हजार ३२ जना हिन्दु धर्म मान्ने मानिसहरु रहेका थिए । बौद्धको हकमा ९ प्रतिशत अर्थात २३ लाख ८४ हजार ५०५ बौद्ध धर्म मान्ने मानिसहरु थिए । तथ्यांक अनुसार बौद्ध धर्म मान्ने मानिसहरुको संख्यामा कमी देखिन आएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार देवदह नगरपालिकाको जम्मा जनसंख्या ७२ हजार ४ सय ५७ रहेको छ । देवदह नगरपालिकामा प्रमूख १० जाति मध्ये आदिवासी जनजाति समुदायको तर्फबाट यहाँ मगर, थारु, गुरुङ र नेवार रहेका छन् । देवदह नगरपालिकामा सबैभन्दा धेरै पहिलो जनसंख्यामा मगर समुदायको रहेको छ । मगरको जनसंख्या करिब १७ हजार ४ सय ३३ रहेको छ । प्रतिशतमा करिब २४.१ प्रतिशत । दोश्रोमा बाहुन समुदायको १५ हजार १ सय ८० जना रहेको छ । तेस्रोमा थारु समुदायको ६ हजार ३ सय १० अर्थात करिब ८.७ प्रतिशत रहेको छ । चौथोमा क्षेत्रीको ७.९ प्रतिशत, पाँचौमा विश्वकर्मा ७.२ प्रतिशत रहेको छ । छैटौमा गुरुङ समुदाय ३ हजार ३ सय १ जना अर्थात करिब ४.६ प्रतिशत गुरुङहरु रहेका छन् । सातौ र आठौंमा क्रमश परियार २.६ र केवट १.९ प्रतिशत छन् । नवांैमा नेवार १,३४४ जना १.९ प्रतिशत रहेका छन् ।
यसबाहेक धर्मअनुसार सबैभन्दा धेरै हिन्दु धर्ममा विश्वास गर्नेहरु करिब ८७.२ अर्थात ६३ हजार २ सय १८ जना रहेका छन् । यसबाहेक दोश्रोमा करिब ८.४ प्रतिशत अर्थात ६ हजार ६३ जना मात्रै बौद्ध धर्ममा विश्वास राख्ने मानिसहरु रहेका छन् । ७३२ जना बोन धर्म मान्नेहरु पनि रहेका छन् । थोरै संख्यामा ७२ जना प्रकृति धर्म मान्ने मानिसहरु रहेको देखिन्छ ।
यसबाहेक मातृभाषागत तथ्यांकलाई केलाउँदा नेपाली भाषालाई आफ्नो मातृभाषा मान्नेहरु ४२ हजार ८ सय २३ अर्थात ५९.१ प्रतिशत रहेका छन् । दोश्रोमा भोजपुरी १४ प्रतिशत, जनसंख्याको हिसाबले पहिलो भएपनि भाषा बोल्ने हिसामले मगरहरु तेश्रोमा छन् । १० हजार ६४ जनाले अर्थात कुल मगरका करिब ५७ प्रतिशतले मात्र मगर भाषा बोल्दछन् वा उनीहरुको मातृभाषा मगर हो । ६ हजार १०४ जना थारुले यहाँ आफ्नो भाषा बोल्दछन् । गुरुङ समुदायको जम्मा ३ हजार ३ सय १ जनसंख्यामा करिब १ हजार ९ सय ६५ जना अर्थात ५९ प्रतिशत गुरुङ सुमदायले आफ्नो मातृ गुरुङ भाषा बोल्दछन् । नेवार समुदायको १,३४४ मा जम्मा ६६६ जना नेवारले अर्थात ४९ प्रतिशत मात्र नेवार सुमदायले नेवारी बोल्दछन् । रोचक तथ्य यहाँ के छ भने लोप हुने क्रममा रहेको कुमाल भाषा, यहाँको २९८ जना कुमाल सुमदायले आफ्नो पुर्खाको भाषा कुमाल थियो वा हो भन्ने गरेको पाइएको छ ।
पुख्र्यौली भाषाको सन्दर्भमा १४ हजार ८ सय ४५ जना मगरहरुले आफ्नो पुख्र्यौली भाषा मगर हो भन्ने तथ्य टिपाएका छन् । यसमा के देखिन्छ भने १७ हजार मध्ये बाँकी २,५८८ जना मगर व्यक्तिहरुले आफ्नो पुर्खाको भाषा के लेखाएछन् ? भन्ने हो । गुरुङ सुमदायको ३,११२ जनाले आफ्नो पुख्र्यौली भाषा गुरुङ लेखाए । ३,३०१ जनसंख्या रहेको गुरुङ समुदायको बाकी रहेको १८९ जनाले पुख्यौली भाषा के लेखाए थाहा भएन तर ९४ प्रतिशत गुरुङहरु आफ्नो भाषा प्रति सचेत देखिएका छन् । यसबाट गुरुङ समुदायको भाषागत चेतना उच्च देखिन्छ । १,३४४ जना संख्या रहेको नेवार समुदायमा आफ्नो पुख्यौली भाषा नेवार बताउनेहरु १,१८० जना अर्थात ८८ प्रतिशत रहेका छन् । तुलनात्मक हिसाबमा नेवार समुदायमा पनि मातृभाषागत ज्ञान राम्रो रहेको यस तथ्यांकले देखाउँछ । यस नगरमा २४८ जना तामाङ भाषा बोल्ने तामाङहरु समेत रहेका छन् । सबैभन्दा आस्चर्य यहाँ आफ्नो दोश्रो भाषाको रुपमा प्रयोग गर्ने भाषाको रुपमा पश्चिमका मगरहरु बोल्ने भाषा मगरखाम बताउनेहरु पनि छन् । जसको संख्या करिब १४५ जना अर्थात देवदहको जनसंख्याको करिब ०.२ प्रतिशत रहेको छ । यसले नेपालको बसाइसराई र विविधताको प्रतिनिधित्व मात्र होइन मिश्रित र समाज घुलित बन्दै गइरहेको बोध गराउँदछ ।
लेखक थापा आदिवासी जनजाती पत्रकार संघ (फोनिज) रूपन्देही अध्यक्ष हुन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology