देवदह । नेपाल सरकारले सुरु गरेको राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको तालिम कोरोना महामारीका कारण स्थगित भएको थियो । तर अहिले अवस्था सामान्य भए लगतै पुन: गणकहरुलाइ तालिम दिने र गणना गर्ने तयारी भैरहेको छ । यही अवस्थामा देवदह नगरपालिकामा पनि तालिम संचालन भैरहेको छ । तर उक्त तालिम विद्यालयमा गरिँदा त्यसको प्रत्यक्ष असर बिद्यालय र बिद्यार्थीलाई परेको छ ।
देवदह नगरपालिका वडा नं. ५ मा रहेको केरवानी माध्यमिक विद्यालयमा बिद्यार्थीलाई कक्षा दशको फर्म भर्न बिदा दिएको भन्दै तालिम संचालन गरिएको हो । कार्तिक १४ गते कक्षा १० को फर्म भर्ने काम रहेको र फर्म भर्न लगाइएको साथै कार्तिक १५ गते कक्षा नौ को फर्म भर्ने गरि तालिम संचालन गरिएको बिद्यालयका प्रधानध्यापक दुर्गादत्त शर्माले बताए ।
प्रयाप्त कक्षाकोठा नहुँदा पनि कक्षा नै अबरुद्ध गराएर केरवानी माविमै यसप्रकारका तालिम किन ? देवदहको शितलनगरमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पस तथा अन्य सामाजिक संघसंस्थाका हलहरूमा तालिम सँचालन गर्न नमिल्ने हो भन्ने प्रश्नमा बिद्यालयका प्रधानध्यापक दुर्गादत्त शर्माले भने, "केरवानी मावि भनेर केन्द्रले नै तालिम केन्द्र तोकिदिएको हो । दश बर्षमा आउने गणनालाई हामीले पनि रोक्ने कुरै भएन " ।
यसै सन्दर्भमा सोही प्रश्न सहितको कुराकानीमा देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्माले आफुहरूले विद्यार्थीको पढाइ नै अबरुद्ध गराएर तालिम संचालन गर्न नभनेको बताए । उनले भने "हामीले बिद्यार्थीलाई असर नपर्ने गरि र पढाइ बन्द नहुने गरि सँचालन गर्न आग्रह गरेका हौँ "।
यसबारेमा जनगणना अधिकृत रामप्रसाद शर्मासंग कुरा गर्दा उनले ओमसतिया गाउँपालिका र देवदह नगरपालिका गरि दुई पालिकाका गणकहरुको तालिम संचालन गरिएको बताए । तालिम अन्यत्र संचालन गर्न नमिल्ने हो भन्ने प्रश्नमा अधिकृत शर्माले केरवानी माविका प्रधानाध्यापक दुर्गादत्त शर्माले तालिम संचालनका लागि प्रयाप्त कोठा र सामाग्री छ भन्नुभएकोले केरवानी माविमै तालिम संचालन गरिएको बताए । उनले भने, "हामीले सोध्दा उहाँले विद्यालयमा प्रयाप्त कोठा र सामाग्री रहेको बताउनुभएकोले तालिम संचालन गरेका हौं ।
अधिकृत शर्माले विद्यालयका प्रधानाध्यापकलाई प्रयाप्त कोठा र फर्निचर उपलब्ध नभएको भए तालिम अन्त्यत्र सार्न पनि सकिने विषयमा सल्लाह पनि गरेको बताए । उनले भने, "प्रधानाध्यापकले केन्द्रले नै तालिम केन्द्रको कोटा भनेर छुट्टयाएको हुनाले हाम्रो इज्जत र प्रतिष्ठाको कुरा पनि हो हामिले व्यवस्थापन गर्छौं भन्नुभयो । त्यसैले तालीम संचालन गरिरहेका छौँ ।"
बिद्यालयको मान प्रतिष्ठा र भविष्य त्यहाँका बिद्यार्थी र उनीहरूले प्राप्त गर्ने शिक्षा हो । हो, यसप्रकारका तालिम गराईनुपर्छ । त्यो आवश्यकता हो तर त्यसका लागि बिद्यालयमा बिद्यार्थीको पठनपाठन अबरुद्ध गराउनु उचित होइन ।
लामो समयदेखि कोरोना महामारीले शिक्षा क्षेत्र यसैपनि पछाडि परेको छ । विद्यार्थीको कोर्ष समयमै नसकिने समस्या कायमै छ । जसोतसो कोर्ष सकाउनुपर्ने बाध्यतामा रहेको स्वयं शिक्षकहरू नै बताउँछन् । यस्तो अवस्थामा बिद्यालयमा पठनपाठनका गतिबिधिलाई यो वा त्यो बाहानामा रोक्ने तर्फ नभइ निरन्तरता दिन आवश्यक छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology