राजेश पराजुली, पोखरा । फागु पूर्णिमाको अवसरमा पोखराको लेकसाइडमा आयोजित होली उत्सवमा पर्यटक रङमा झुमेका छन्। पर्यटकको बसाइ लम्ब्याउन पोखराको लेकसाइडमा १६ वर्षदेखि फागु पूर्णिमामा होली उत्सव आयोजना गरिँदै आएको छ।
नेपाली परम्परागत पञ्चेबाजाका साथ उत्सवमा सहभागी पर्यटकलाई फागु पूर्णिमा र यसको महत्वबारे जानकारीसमेत गराइएको थियो। पर्यटकलाई अबिर र विभिन्न रङ उपलब्ध गराइ सुरु भएको उत्सवमा आन्तरिक तथा बाह्य पर्यटक एक आपसमा रङ दलेर रमाए ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराको आयोजनामा भएको होली उत्सवमा लेकसाइडका केही क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाइएको थियो । ठाउँ ठाउँमा विभिन्न संघसंस्थाले कन्सर्टसमेत आयोजना गरेका थिए ।
कार्याक्रमका संयोजक विरेन्द्र शेरचनले होलिसगै पोखरामा पर्यटकिय सिजन सुरु भएको बताए । उनले संस्कृतीलाई पर्यटनसंग जोडेर पर्यटन प्रवद्धनको प्रयास गरिएको बताए ।
होली कार्यक्रममा करिब पाँच सय विदेशी पर्यटकहरु सहभागी थिए । लेकसाइड अम्बोटदेखि खहरेसम्म करिब तीन किलोमिटरको दुरीमा नेपाली मौलिक बाजागाजासहित महोत्सव आयोजना गरिएको थियो । क्याम्पीङ चोकमा आयोजित सांगितिक कार्यक्रममा उल्लेख्य संख्यामा युवाहरुको सहभागीता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology