बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखाले एकैदिन दुई स्थानमा गरेकाे रक्तदान कार्यक्रममा १३५ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन ।
रक्तदान कार्यक्रम शहर केन्द्रित मात्र नभएर गाउँमा पनि विस्तार गर्ने उद्देश्य सहित अर्घाखाँचीकाे सन्धिखर्कमा आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा १२ जना महिला सहित ७० जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन् । जसमा ९० प्रतिशतभन्दा धेरै रक्तदाताहरुले पहिलाे पटक रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखा अध्यक्ष कृष्ण चाैहानले बताए ।
नेपाल विद्यार्थी संघ अर्घाखाँचीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखा अध्यक्ष कृष्ण चाैहानको अध्यक्षता र सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई नेपाल विद्यार्थी संघ अर्घाखाँचीका सभापति भरतमणि भट्टराईले संयोजन गरेका थिए ।
त्यसैगरी, प्रत्येक महिनाकाे अन्तिम शनिवार रक्तदान कार्यक्रम गर्ने तालिका अनुसार शनिबार बुटवल ब्लड बैंकमा ९९ औं मासिक नियमित रक्तदान कार्यक्रममा ६५ युनिट रगत जम्मा भएको कार्यक्रम संयोजक हरि ज्ञवालीले बताए । लिम्घा रुपन्देही सम्पर्क समाज सह-आयोजक रहेको उक्त कार्यक्रमलाई डल्ले बुटवल रेष्टुरेन्टले प्रायाेजन गरेकाे थियाे । 
दुबै कार्यक्रमलाई सफल बनाउन नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका उपाध्यक्ष भीष्म के. सी. लगायतका पदाधिकारी तथा व्लड बैंकका प्राविधिक हरि सापकाेटा र चन्द्र बहादुर झेडिको विशेष भुमीका रहेको स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology