काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले राष्ट्रपति एमालेका उम्मेदवारलाई भोट नहाल्ने कुरा सोच्न पनि नसकिने बताएका छन् ।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले १० पुसमा भएको सहमतिअनुसार नै सत्ता गठबन्धनका तर्फबाट एमालेले आफ्नो उम्मेदवार उठाउने बताए ।
'पूर्वसहमतिअनुसार राष्ट्रपतिमा एमालेले उम्मेदवार बनाउँछ । माओवादीले एमालेका उम्मेदवारलाई भोट नहाल्ने कुरा सोच्न पनि सकिने विषय होइन,' ओलीले भने ।
अध्यक्ष ओलीले राष्ट्रिय सहमतिका साथ एमालेका उम्मेदवार राष्ट्रपति निर्वाचित हुने बताए । ‘राष्ट्रपतिको चुनावमा माओवादीले साथ दिँदैन कि भन्ने कल्पना नै नगर्नुस्,’ ओलीले भने, ‘सबै कुरा पहिला नै फिक्स भइसकेको छ ।’
माओवादी केन्द्रका नेताहरूले तपाईंलाई राष्ट्रपति बनाउने प्रस्ताव गरेका छन् नि भन्ने प्रश्नमा ओलीले भने- साथीहरूले रमाइलो प्रसंग निकालेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology