विनोद खनाल, बुटवल । रुपन्देहीमा शहीद परिवारलाई सम्मान गर्दै जनयुद्ध दिवस मनाइएको छ । रुपन्देहीमा क्रियाशील नेकपामा माओवादी केन्द्र र अन्य माओवादी घटकले शहिद परिवारलाई सम्मान, अन्तरक्रिया र दीपप्रज्वलन गरि जनयुद्ध दिवस मनाएका हुन।
सो अवसरमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालको नेतृत्वमा रुपन्देहीका ६५ जना शहीदपरिवारका सदस्य सम्मान गरिएको छ। लुम्बिनी प्रदेशका प्रथम शहीद टीकाराम गौतम र गणेश ढकालको घरमा पुगी पूर्वमन्त्री तथा पार्टी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालसहित जिल्ला पार्टी र नगर कमिटीको आयोजनामा शहीद परिवारसंग दिवस मनाइएको छ ।

सहिद परिवारसंग कुरा गर्दै संयोजक बरालले पार्टीले शहीद परिवारको मर्म बुझ्न नसक्दा अन्य पार्टीमा प्रवेश गर्न बाध्य भएको बताए। उनले भने, “यस्तो अवस्था आउने दुःखद हो, पार्टी नेतृत्वले यसमा ध्यान दिनुपर्छ ।”
माओवादी केन्द्र रुपन्देहीद्वारा अन्तरक्रिया र पालिकाहरूमा दीपप्रज्वलन
जनयुद्ध दिवसमा रुपन्देही जिल्ल्ला पार्टीले बुटवलमा अन्तरक्रियासंगै चियापान गरेको छ। पार्टी नेता हकिकुल्ला खाँको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला पार्टी संयोजक नारायण जिसी 'निर्मल' को अध्यक्षतामा सम्पन्न भएको थियो ।

त्यसैगरी रुपन्देहीका १६ वटै पालिकाले दीप प्रज्वलन गरेर जनयुद्ध दिवस बनाईएको छ । रुपन्देहीको देवदह, तिलोत्तमा, बुटवल, सैनामैना, भैरहवा लगायतका नगरपालिका र सबै गाउँपालिकामा जिल्ला पार्टीको सर्कुलर अनुसार शहिदलाई सम्झिएर दीपप्रज्वलन सहित विभिन्न कार्यक्रम गरि जनयुद्ध दिवस मनाईएको जिल्ला पार्टीले जनाएको छ ।
जनयुद्धका योद्धा घाईते बाघ हुन्: प्रज्वलन
नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पुर्वी लुम्बिनि ब्युरो ईन्चार्ज प्रज्ज्वलन सीले नेपाली जनयुद्धकै बलमा मुलुकमा ब्यबस्था परिवर्तन भएपनी जनयुद्धलाई खिसिटिउरे गर्नेहरुलाई चेतावनि दिंदै जनयुद्धका योद्धा घाईते बाघ भएको बताए । २८ औं जनयुद्ध दिवसको अवसरमा बुटवलमा आयोजित नेपाली जनयुद्धका उपलब्धी र समस्या बिषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेता प्रज्ज्जवलनले ढिलै भएपनि जनयुद्ध दिवसलाई राष्ट्रिय महत्व दिएर सार्वजनिक घोषणा गर्नुलाई स्वागत गरे ।

अन्तरकृया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सरद सी वरिष्ठ लेखक तथा माक्र्सवादी सौन्दर्य चिन्तक दिल साहनी लगायतले जनयुद्धको चर्चा गरेका थिए । यसै बिच नेकपाले बुटवलको तिनकुने चोकमा दिप प्रज्ज्वलन समेत गरेको थियो ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology