देवदह । नेपाली कम्युनिष्ट पार्टी देवदहले जनयुद्ध दिवसका अवसरमा रक्तदान कार्यक्रम गर्ने जनाएको छ । बिहिवार पत्रकारसँग छलफल गर्दै पार्टीका नगर संयोजक दीपक न्यौपानेले रक्तदान तथा दीप प्रज्ज्वलनसहित ३१औं जनयुद्ध दिवस मनाइने बताए ।
‘१७ हजार नागरिकले सहादत प्राप्त गरी अहिलेको उपलब्धि हासिल भएको हो,’ संयोजक न्यौपानेले भने, ‘फागुन १ नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले ऐतिहासिक दिन हो । हामी उत्साहका साथ जनयुद्ध दिवस मनाउँदैछौं ।’
रक्तदान कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहने बताइएको छ । साँझ दीप प्रज्ज्वलन गरी सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने तयारी छ ।
देवदहको खैरेनी, शंकरपुर र चरंगेचोकमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम पार्टीले जनाएको छ ।
जनयुद्ध दिवसका अवसरमा जनयुद्धका उपलब्धि, राजनीतिक परिवर्तन र वर्तमान अवस्थाबारे पनि छलफल गरिने संयोजक न्यौपानेले जानकारी दिए ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २०५२ साल फागुन १ गते सुरु गरेको सशस्त्र विद्रोह नै जनयुद्ध हो । तत्कालिन सरकार र राजतन्त्रको बिरोध गर्दै गणतन्त्र, संविधानसभाबाट संविधान, जनतन्त्र र वैदेशिक हस्तक्षेपको विरोधमा युद्ध सुरु भएको थियो ।
यो सशस्त्र संघर्ष करिब १० वर्ष (२०५२–२०६३) सम्म चलेको थियो ।
२०६३ सालको विस्तृत शान्ति सम्झौतापछि सशस्त्र द्वन्द्व अन्त्य भएको थियो । त्यसपछि संविधानसभा निर्वाचन, गणतन्त्र स्थापना र नयाँ संविधान जारीजस्ता राजनीतिक परिवर्तन भए ।
फागुन १ लाई केही राजनीतिक दल र समूहले ‘जनयुद्ध दिवस’का रूपमा मनाउँछन् भने यस विषयमा समाजमा फरक–फरक धारणा पनि छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology