काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने चेतावनी दिएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको तर्फबाट आयोजित ३० औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हजारौँ शहीदहरूको बलिदान र रगतबाट तथा हजारौँ बेपत्ता योद्धाहरूको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ वर्षसम्म रहने दाबी गरे ।
उनले कसैले मेटाएर जनयुद्ध नमेटिने भन्दै मेटाउने दुस्साहस गर्नेहरू खरानी हुने बताए । प्रचण्डले जनयुद्ध दिवस जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस भएको बताए । जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसकै रुपमा अगाडि लैजानुपर्ने बताएका उनले जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक प्रयासहरु भएको भन्दै जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने उल्लेख गरे ।
‘जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरू पनि भएका छन् । त्यसैले जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा हामीले स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्छ ।’ उनले भने, ‘हजारौँ शहीदहरुको बलिदानबाट र रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौँ बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ सयौँ वर्षसम्म रहनेछ ।’
प्राप्त उपलब्धिलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको सो अवसरमा उनले बताए । प्रतिक्रियावादी शक्तिहरूले गणतन्त्रलाई जनताको गणतन्त्र हुन नदिन अनेकन गतिविधि गरिरहेको उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology