कोभिड-१९ को नियन्त्रण र व्यवस्थापनको विषयमा हामीले सरोकारवालाहरुसंग निरन्तर संवाद गर्दै आईरहेका छौँ । समाजमा क्रियाशिल राजनीतिक दल, सामाजिक संघ-संस्थाहरु र आम-नागरिकसंग निरन्तर संवाद जारी छ । यसैक्रममा देवदहमा कोभिडको अवस्था, नगरपालिकाले यसको नियन्त्रणका लागि गरेका पहल, राहत वितरण र कोभिड पश्चातका तयारीबारे देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीसंग सेतोमसी सहकर्मी रेशम अधिकारी 'अशोक' ले गर्नुभएको संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ । - सम्पादक
मेयर सा'व यहाँलाई स्वागत छ, सेतोमसीमा ।
धन्यवाद !
देवदह नगरपालिकामा कोभिड संक्रमणको अवस्था कस्तो छ ?
यहाँहरु सबैलाई विदितै छ, राष्ट्रिय र अन्तराष्ट्रिय रुपमै कोभिडबाट सबै प्रभावित छौँ । पहिलो चरणको जुन कोभिडको स्थिति थियो । त्यो भन्दा अहिले भयावह स्थिति देखिएको छ । त्यो सन्दर्भमा देवदह नगरपालिका पनि अछुतो रहन सकेको छैन ।
खास गरि बैशाख १२ गतेसम्म संक्रमणको देवदहमा त्यति प्रभाव देखिन्न । तर १३ गतेबाट यो बढ्दै गयो र हामीले यसले विकराल रुप लिने महसुस गर्यौं र सोही अनुसार काम गर्यौं । हाल देवदमा ११७५ जना संक्रमित भएको अवस्था छ । जसमध्ये महिला ५१५ र पुरुष ६६० हुनुहुन्छ । हाम्रो रेकर्ड अनुसार कोभिडमुक्त हुने नगरवासी ६३१ जना हुनुहुन्छ भने सक्रिय संक्रमितको रुपमा ४७७ रहेको छ ।
हाम्रो देवदहको अस्थायी कोरोना अस्पतालमा ७ जना संक्रमित उपचाररत हुनुहुन्छ । अन्य संक्रमितहरु कोहि बुटवल, भैरहवा त कोहि चितवन र काठमाडौंमा उपचाररत हुनुहुन्छ । पहिलो र दोस्रो चरण गरि हाल सम्म कोभिडका कारण ३५ जना देवदहवासीको निधन भएको छ ।
नगरवासीले समस्या आफैसंग राख्नु हुँदैन । समयमै जनप्रतिनिधिलाई जानकारी गराईए हल गर्न सजिलो हुन्छ । पिसिआरको रिपोर्ट ढिलो आउने समस्या हल हुन्छ । कोभिड अस्पताल, एम्बुलेन्स र शववाहनको आवश्यक प्रवन्ध मिलाईएको छ ।
कोभिड नियन्त्रणलागि हालसम्म नगरपालिकाले के कस्ता कार्य गर्दै आएको छ ?
नगरकार्यपालिको बैठकले आइसोलेसन निर्माण गर्ने निर्णय गर्यौं । यस्तो अवस्था आउने पुर्वानुमान सहित चिकित्सकको नियुक्ति गर्ने प्रक्रिया अन्तिम अवस्था थियो । हामिले पहिले नै २ जना नर्सको पनि छनोट गरिसकेका थियौं ।
अहिले हामिकहा २२ वटा बेड सहितको अस्पताल छ । जसमा ३ वटा बेड मोनिटर सहितको छ भने अन्य अक्सिजन सहितका बेड छन ।
देवदहमा कति वटा एम्बुलेन्स संचालन गरिराख्नु भएको छ । त्यो स:शुल्क हो कि नि:शुल्क ?
एक वर्ष देखि उज्यालो लालटिन प्रतिष्ठानको एम्बुलेन्स प्रयोग गरिराखेको अवस्था छ । र, अहिले दिर्घायू नेपालको एम्बुलेन्स समेत गरेर २ वटा एम्बुलेन्स पुर्ण रुपमा निशुल्क संचालित छन् ।
पछिल्लो अवस्थामा हामीले एउटा शववाहन पनि संचालन गरेका छौँ । त्यसैगरी अक्सिजन व्यवस्थानका लागि एउटा छुट्टै गाडी संचालित छ ।
साथै, नगरवासीलाई स्वाव परिक्षण गर्न बुटवलसम्म पुग्न नपरोस् भनेर स्थानीय रुपमै स्वाव संकलन गर्ने र निशुल्क परिक्षण गर्ने व्यवस्था समेत हामिले मिलाएका छौँ ।
त्यसैगरी आजमात्रै हामीले संक्रमितको निधन भएमा र उक्त परिवारलाई शव ब्यबस्थापन गर्न पनि समस्या परेको छ भने त्यो पनि नगरपालिकाले गरिदिने निर्णय गरेका छौँ ।
एकजना देवदहवासीले आफ्नो घरमा ३ जनालाई कोभिड पोजेटिभ देखिएको तर नगरपालिकाले एउटा सिटामोल पनि सहयोग नगरेको भन्ने गुनासो गर्नुभएको छ । किन यस्तो भएको होला ?
त्यो हुन सक्छ । १५ हजार घरधुरी र ७५ हजार जनसंख्या भएको देवदह नगरपालिका हो । प्रत्येक वार्डमा जननिर्वाचित प्रतिनिधि हुनुहुन्छ । कुनैपनी नागरिकले जननिर्वाचित प्रतिनिधिलाई आफ्नो अवस्थाबारे जानकारी गराएर पनि सेवा नदिईएको चै पक्कै पनि होइन ।
साँझ विहानकै समस्या भएकाहरुले वडा वा नगरपालिका कार्यालयमा जानकारी दिए आवश्यक राहत दिईन्छ । दुग्ध किसानलाई राहत दिनेवारे योजना बन्दैछ । निषेधाज्ञाको कारण मर्कामा परेका व्यवसायी र श्रमीकलाई के कसरी राहत दिन सकिन्छ भन्नेबारे छलफलमा छौँ ।
हामीसंग दिब्यदृष्टि त छैन । घरमा को संक्रमित हुनुहुन्छ र कस्ले सिटामोल पाउनुभएन भनेर बुझ्न सकिने कुरा भएन । तर, जननिर्वाचित प्रतिनिधिको हैसियतले यदि कोहि पनि नगरवासीले जननिर्वाचित प्रतिनिधिलाई जानकारी दिएर पनि सेवा नपाएको हो भने हामी जिम्मेवार हुन्छौं । यद्यपि अहिले धेरै घरमा विरामीहरु हुनुहुन्छ तर उहाँहरु मध्य कतिपय सम्पर्क मै आउनुभएको छैन । नगरपालिका, जननिर्वाचित प्रतिनिधि वा टोलविकास संस्था कहि कहिँ पनि आफ्नो अवस्थाबारे जानकारी नगराउने तर घरमा बसेर सिटामोल पाइन भन्नु चै राम्रो होइन ।
तर, मेयरसाव पिसिआरको रिपोर्ट आउनै हप्ता दिन लागेको भन्ने गुनासो छ । यसलाई समाधान गर्ने कुनै उपाय होला ?
यो सहि कुरा हो । यो गुनासोहरुलाई हामिले सुन्नुपर्ने हुन्छ । हामिले यहाँ स्वाव संकलन गर्छौ र प्रदेश सरकारले स्थापना गरेको ल्यावमा परिक्षण गरेर समयमै रिपोर्ट आउँछ र नगरवासीलाई सेवा दिन सकिन्छ भन्ने हामीले सोंचेका थियौं । सुरुमा रिपोर्टहरु समयमै आएको पनि थियो । तर, परिस्थिति जटिल बन्दै गयो र प्रदेशद्वारा संचालित ल्यावले भार थेग्न गार्हो भयो । झन् दुर्भाग्य भयो के भने त्यहाँको प्रगोगशालाको मेसिनले काम गर्न छाड्यो । जसका कारण यहाँको स्वावलाई काठमाडौ लानुपर्ने परिस्थिति बन्यो । त्यसकारणले २ पटक लिईएका स्याम्पलको रिपोर्ट आउन ९ दिनसम्म पनि लागेको छ । यसले हामिलाई दु:खी बनाएको छ । काम गर्दैगर्दा हुने कमजोरीहरुलाई सच्याउने हो । हामीले प्रदेश सरकारलाई दवाव सिर्जना गर्यौ । जसका कारण आज दैनिक ५०० वटा स्याम्पलको परिक्षण गर्ने गरि प्रयोगशालाको क्षमता विस्तार भएको छ । तर, केही साथीहरुले यसलाई बढी नकारात्मक तवरले प्रचार गर्नुभयो यसले राम्रो संदेश दिदैन ।
म सेतोमसीमार्फत नगरवासीहरूला के अनुरोध गर्न चाहान्छु भने हामीले काम गर्दैगर्दा हुने कमजोरीलाई स्वीकार गर्छौ । जस्तै पिसिआर रिपोर्ट आउन ढिलो भएकै हो । तर त्यसलाई कसरी छिटो ल्याउन सकिन्छ भन्नेमा नगरपालिका लागेको छ ।
केही व्यक्तिहरुको भनाई छ, निजि स्तरबाट संचालित ल्यावमा एकैदिनमा रिपोर्ट आउँछ त्यहाँ गर्नुपर्छ । तर, हामीले खर्चिने पैसा नगरवासीकै हो । यहीँका नागरिकले तिरेको कर नै हो । त्यसैले सकेसम्म हामीले राज्यकै संयन्त्र परिचालन गर्ने, प्रदेश सरकारलाई घच्घच्याउने र सरकारी संयन्त्रलाई मजवुत र प्रभावकारी बनाउँने तर्फ हामी लाग्नुपर्छ । नगरवासीले कर तिरेको पैसालाई निजि क्षेत्रमा पुर्याउनु उपयुक्त नहुने देखेका कारण हामि त्यो बाटो हिडेनौं ।
हामी निशुल्क परिक्षण गर्ने कामलाई फेरिपनी अगाडि बढाएका छौँ र सोमबार बिहान ८ बजे केरवानी हेल्थपोस्टमा स्वाव लिने हाम्रो योजना छ । अब हामिले लिने स्वावहरुको २-३ दिन भित्रै रिपोर्ट आँउछ ।
तर, स्वाव परिक्षण उपचार होइन । म के अनुरोध गर्न चाहान्छु भने अत्यन्तै थलिएपछी मात्र परिक्षण गर्न जाने परिपाटी छ त्यसले गर्दा पनि नगरवासीको स्वास्थ्यमा जटिलता देखिएको छ । सामान्य लक्षण देखिएको अवस्थामा स्वाव परिक्षण गरायौं भने थप उपचारका लागि सजिलो हुन्छ ।
महामारीको हो चरणमा यहाँका राजनीतिक दल र नगरपालिका कार्यलय विच कसरी समन्वय भएको छ ?
देवदह नगरपालिकामा जननिर्वाचित प्रतिनिधिको रुपमा हामी गैसकेपछी नगरपालिकाका जुनसुकै पनि महत्वपूर्ण कुरा चाहे विपत्तिका सवालमा होस् या विकास निर्माण र प्राकृतिक स्रोतको परिचालनका विषयमा होस्, हामी यहाँ सक्रिय राजनीति दल र संघसंस्थासंग समन्वय र संवाद गरेर नै अगाडि बढ्दै आएका छौँ ।
पछिल्लो समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी आफैले काम अगाडि बढाएको छ । अनेरास्ववियुले शव बाहन र विरामी बोक्ने सवारीलाई आवश्यक साधन स्रोत दिने प्रतिबद्धता सहित त्यो उपलब्ध गराएको अवस्था छ ।
यसरी हेर्दा सबै नगरवासीले आ-आफ्नो स्थानबाट सहयोग गरेको अवस्था छ । जसले हामीलाई उत्साहित बनाएको छ ।
कोभिड नियन्त्रणको पाटो एकातिर छँदैछ, अब सायद यतिले मात्र पुग्दैन । लामो लकडाउनका कारण यहाँको श्रमजीवीबर्गलाई सांझ बिहान कै समस्याले पिरोल्न थालिसकेको गुनासो सुनिन्छ । राहत वितरणबारे नगरपालिकाको तयारी के छ ? अनि देवदहमा तत्काल राहत चाहिने परिवारको तथ्यांक नगरपालिकासंग छ ?
आज मात्रै हाम्रो कार्यपालिकाको बैठक सम्पन्न भएको छ । त्यस बैठकमा पनि हामी यस विषयमा छलफल गरेका छौँ । यद्यपि अहिलेको लकडाउन पहिलो चरणको जस्तो छैन । हामीले विकास निर्माणका काम रोकेका छैनौं । जसले गर्दा पहिलेको जस्तो अवस्था अहिले अलि छैन कि भन्ने हाम्रो अनुमान छ ।
अब यतिनै गरिव वा धनी भन्ने संख्या त छैन किनभने हामीले त्यसप्रकारको परिचयपत्र वितरण गरेका पनि छैनौं । यदि त्यस प्रकारको परिचय पत्र भएको भए ठ्याक्कै थाहा हुन्थ्यो ।
गतसालको राहत वितरणको क्रममा हुने खाने वर्गले पनि राहतको आसा गरेको देखियो । ठुला ठुला गहना लगाएका र कार र मोटरसाइकलमै चडेर राहत थाप्न गएको पनि देखियो । त्यसले गर्दा जुन लक्षित बर्ग हो त्यसप्रती न्याय हुन सकेन । यो वर्ष हामिले विकास निर्माणका काम रोकेका छैनौं । जसले गर्दा त्यो अति विपन्न बर्ग उक्त काममा जोडिएको छ ।
अहिले नचलेको भनेको ठेलामा व्यवसाय गर्ने, साना पसल गर्नेहरु तत्काल समस्यामा हुनुहुन्छ । हामीले यो निषेधाज्ञा अब १३ गतेबाट अगाडि जान्छ कि जादैन त्यो हेरिरहेका छौँ । यदि निषेधाज्ञा थपियो भने अवस्था हेरेर हामीले निर्णय गर्ने नै छौँ ।
यो अवस्थामा राहत संकलन गर्न हिड्नु पनि जोखिम नै हुन्छ । नगरपालिकाले विपद व्यवस्थापन कोषबाट सोझै पिडितलाई राहत दिनुपर्छ भन्ने पनि केही नगरवासीको माग छ । यसबारे के भन्नुहुन्छ ?
म तपाईंको संचारमाध्यमबाट के ढुक्क पार्न चाहान्छु र नगरवासीलाई पनि के अनुरोध गर्न चाहान्छु भने यो निषेधाज्ञाले जो समस्यामा हुनुहुन्छ । जस्को घरमा चुलो जलेको छैन । त्यस्ता व्यक्तिको वास्तविक पहिचान गरेर हामीकहाँ कुरा आइपुग्यो भने निश्चित रुपमा उहाँहरुको बारेमा सहि निर्णय हुन्छ ।
यो त भयो, महामारी कायम रहुन्जेलको अवस्थाबारे कुराकानी । अब पोस्ट कोभिड अर्थात कोभिड पछिको कुरा गर्दैगर्दा यहाँका व्यवसायीहरु जो लामो लकडाउनका कारण बिजनेस गुमाएर बस्नुभएको छ । उहाँहरुलाई पुरानै अवस्थामा फर्काउन त तत्काल सम्भव नहोला तर पनि स्थानीय सरकारबाट केही राहतको आशा त उहाँहरुको अवस्य पनि होला । यसबारे नगरपालिकाले के सोंचेको छ ?
कोरोनाका कारण उद्योग व्यवसाय सबै प्रभावित छन् । हामी यसको पनि वर्गीकरण गर्ने हो भने सबभन्दा बढी मर्कामा परेको कृषि क्षेत्र, पर्यटन व्यवसाय, यातायात व्यवसाय हो । कृषिलाई पनि वर्गिकरण गर्ने हो भने दुग्ध उत्पादन क्षेत्र धरासायी भएको छ । गतवर्ष पनि हामिले दुग्ध उत्पादन क्षेत्र अत्यन्तै प्रभावित भयो भनेर ४० दिनको लकडाउन अवधिको प्रतीलिटर १० रुपैयाँका दरले अनुदान हामीले यहि आर्थिक वर्षमा वितरण गरेका छौँ । त्यसै गरि बोइलर कुखुरा पालकलाई समेत हामिले राहत वितरण गरेका थियौं । अहिले पनि दुग्ध उत्पादन क्षेत्रलाई के गर्न सकिन्छ भनेर हामिले अध्ययन गरिरहेका छौँ ।
तर यो पर्याप्त छैन । हामीले प्रत्यक्ष किसानलाई मात्रै फोकस गरेका छौँ । तर यसको पनि चेन हुन्छ । आज एक वर्ष देखि दुग्ध उत्पादक र दुग्ध व्यवसायीहरु ठूलो मर्कामा परेका छन् । मलाई लाग्छ, ६ महिना सम्म दूध उत्पादन भएन भनेपनि १ बर्षसम्म बेच्न पुग्ने पाउडर दूध अहिले नेपालका उद्योगीहरुसंग छ । हामीले समयमै यसको बिक्री बितरण गर्ने व्यवस्था नमिलाउने हो भने यो क्षेत्र नै प्रभावित हुने अवस्थामा छ ।
अन्य उद्योग व्यवसाय पनि मर्कामा छन् । सबैलाई हामीले हेर्नुपर्छ । पव्लिक प्राइभेट पार्टनरशिपको कुरा हामी गर्छौं, त्यसैले यो विषय संघीय सरकार नै एउटा प्याकेज ल्याइनुपर्छ । उक्त योजनामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले के कस्तो योगदान गर्नुपर्ने हो यो गर्नुपर्छ । अब स्थानीय तहको सिमित स्रोत साधनले के कति गर्न सकिन्छ भन्ने हो । सस्तो लोकप्रियताका लागि घरभाडामा छुट देउ भनियो । तर, घर धनिलाई पनि राज्यबाट केहि राहत चाहियो नि त । घरधनिलाई भाडामा छुट देउ भन्दैगर्दा हामीले तिमिलाई यो राहत दिएका छौँ त्यसैले तिमिले भाडामा छुट देउ भन्ने केही त हुनुपर्यो नि ।
यसरी राज्यले सबै नागरिकलाई एउटै आखाले हेर्नुपर्ने हुन्छ । सबैभन्दा हेर्नुपर्ने जो गरिव दुखी छन् । जो अभावमा छन । उनीहरुलाई नै हो ।
अन्त्यमा सेतोमसी मार्फत नगरवासीलाई के भन्न चाहानुहुन्छ ?
सबैभन्दा पहिले त म सेतोमसी टिमलाई धन्यवाद दिन चाहान्छु । वास्तवमा देवदहमा रहेर मिडिया संचालन गर्ने र यहाँ भएका कामहरू यो मिडियाका माध्यमद्वारा नगरपालिका भित्र भए गरेका कामहरुलाई जनता सामु ल्याउने काम गर्नुभएको छ । यहाँहरुलाई सफलताको शुभकामना ब्यक्त गर्न चाहान्छु ।
पछिल्लो समयमा पत्रकारितामाथि पनि आम नागरिकको विस्वास अलि कमजोर हुँदै गएको छ । त्यसकारण म सत्य तथ्यमा आधारित रहेर सहि कुरा संप्रेषण गर्ने त्यो तागत र लक्ष यहाँहरुमा सधैं रहोस त्यो भन्न चाहान्छु ।
कोभिडको यो चरणमा नगरवासीलाई कसरी सुरक्षित राख्ने, संक्रमित भए कसरी छिटो उद्दार र उपचार गर्ने भन्नेमै नगरपालिका लागिरहेको छ । त्यसको लागि सबै राजनीति दल, नागरिक समाज र सामाजिक संघ संस्थासंग हामीले हातेमालो गरेका छौँ । म नगरपालिकाको कार्यालय र एउटा जनप्रतिनिधिको रुपमा यहाँहरुबाट प्राप्त सहयोगको लागि धन्यवाद दिन चाहान्छु ।रोग पछि उपचार गर्नुभन्दा, सुरक्षीत रहनु नै उत्तम हो त्यसका लागि सकेसम्म सुरक्षित रहन म सम्पुर्ण नगरवासीलाई अनुरोध गर्न चाहान्छु ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology