देवदह । रुपन्देही क्षेत्र नम्बर–१ मा कांग्रेसका उम्मेदवार हिराबहादुर खत्रीले अव्यवस्थित सुकुम्बासी बस्तीका नागरिकलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्नु नै आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् ।
मंगलबार देवदह नगरपालिकाका विभिन्न वडामा घरदैलो तथा मतदातासँग सुझाव संकलनका क्रममा उनले यस क्षेत्रका धेरै नागरिक भूमिहीन र अव्यवस्थित बसोबासीका रूपमा रहेकाले उनीहरुलाई जग्गाको मालिक बनाउने चिन्ता आफूमा रहेको बताए ।
तत्कालीन देवदह नगरप्रमुख रहँदा जग्गाधनी पुर्जा वितरणलाई अर्जुनदृष्टि बनाएर काम गरेको स्मरण गर्दै खत्रीले सो कामलाई फेरि पहिलो प्राथमिकतामा राख्ने बताए ।
“सुकुम्बासी बस्तीमा जग्गाकै कारण ठूलो पूँजी अड्किएको छ, पुर्जा नहुँदा आर्थिक चलायमान हुन सकेको छैन,” उनले भने, “आर्थिक गतिविधि बढाउन र नागरिकलाई जग्गाधनी प्रमाणपत्र दिलाउन म प्रतिबद्ध छु ।”
अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व दिने विषयमा नीतिगत व्यवस्था गरेर अगाडि बढ्ने उनको भनाइ छ । जग्गासम्बन्धी कानुनी जटिलता समाधान गर्दै सर्वसुलभ दररेटमा नागरिकलाई पुर्जा उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे ।
पार्टीका निर्वाचन परिचालन संयोजक हरिप्रसाद काफ्लेले उम्मेदवार खत्रीले विभिन्न पालिकामा पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट, जनगुनासो र सुझाव संकलन गर्दै आफ्ना योजना प्रस्तुत गरिरहेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology